PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

दार्चुला तुइन प्रकरणमा गृहको परराष्ट्रलाई पत्र : भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धानका लागि पहल होस्



पहिलोपोस्ट

दार्चुला तुइन प्रकरणमा गृहको परराष्ट्रलाई पत्र : भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धानका लागि पहल होस्

काठमाडौं : घटना भएको एक महिनापछि महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनामा गृह मन्त्रालयले भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धानका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।

गृह मन्त्रालयले छानविन बुझेसँगै भारतीय सुरक्षाकर्मीमाथि अनुसन्धान गर्न र पीडितलाई राहत प्रदान गर्नका लागि पत्राचार गरेको हो। गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यस विषयमा भारतसँग कुरा गर्न भनेको छ। 

दुई दिनअघि गृहमन्त्रीलाई बुझाएको प्रतिवेदनमा जयसिंह धामीको बेपत्तामा भारतीय सीमा सुरक्षा बल एसएसबीको संलग्नता रहेको देखिएको उल्लेख छ। समितिले एसएसबीमाथि छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्ने सुझावसमेत दिएको छ।

दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। यद्यपि, भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ।

'समितिले जे सिफारिस गरेको छ। त्यही अनुसार हामीले परराष्ट्र मन्त्रालयलाई पत्रचार गरिसकेका छौं,' गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले भने।

एसएसबीले तुइन नकाटेको दाबी गरे पनि प्रत्यक्षदर्शीहरुले भने तुइन काटिएको बयान सरकारले गठन गरेको छानविन समितिलाई दिएका छन्। कल्याण धामी, विक्रम सकेनी र अनिता धामी घटनाको प्रत्यक्ष साक्षी थिए।

जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका हुन्। सरकारले साउन १७ गते जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell