PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सिस्ने खोलामा पटक-पटक हुन्छ गाडी दुर्घटना, ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीले बनेन पुल



पूजा पन्थी

सिस्ने खोलामा पटक-पटक हुन्छ गाडी दुर्घटना, ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीले बनेन पुल

बुटवल : दाङको सिस्ने खोलामा आएको भेल बाढीले कार बगाउँदा ४ जनाले ज्यान गुमाए। सिस्ने खोलामा पक्की पुल बनाउन थालेको ४ वर्ष भन्दा बढी भयो। तर, अहिलेसम्म पुल सञ्चालनमा आउन सकेको छैन। ठेकेदार र सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबन्दा पटक-पटक गाडी दुर्घटना भई यात्रुले अकालमा ज्यान गुमाउँदै आएका छन्।

लमही-घोराही सडक खण्डको घोराही उपमहानगरपालिका वडा नम्बर ४ सिस्ने खोलामा आएको भेल बाढीले गएराति कार बगाउँदा एकै घरका दुई दिदीबहिनीसहित ४ जनाको मृत्यु भएको हो। घटनामा घोराही उपमहानगरपालिका वडा नम्बर १३ का सुशीला श्रेष्ठ, सोही ठाउँका रितामायाँ पुन र घोराही-१४ का राधाश्रेष्ठ र विमला केसीको मृत्यु भएको हो।

कार चालक घोराही उपमहानगरपालिका-१५ का नरबहादुर पुन घाइते भएका छन्। यो खोलामा सडक डिभिजन कार्यालय दाङले पक्की पुल बनाउनको लागि साढे ४ वर्ष अघि १८ महिनामा काम सक्ने गरी साढे सात करोडको ठेक्का एडभेन्चर जेभीलाई दिइएको थियो।

१८ महिनामा सक्ने भनिएको काम ४ वर्ष सम्ममा ९० प्रतिशत सकिएको छ। ठेकेदारको लापरबाहीका कारण १० प्रतिशत काम हुन नसक्दा दुर्घटना भई मानविय क्षति भएको छ।

पछिल्लो पटक कोरोनाको कारण देखाएर फेरि ६ महिना काम गर्ने म्याद थपिएको छ। पटक-पटक म्याद थप गरी काम समयमा सम्पन्न गर्न नसक्दा बाढी बस्तिमा पस्ने खतरा त छँदै छ सँगै खोला वारपार गर्न समेत सकस भएको छ।

त्यस्तै, घोराही तुलसीपुर सडकखण्डको पत्रे खोलामा पनि पक्की पुल बनाउनको लागि ६ वर्षअघि १७ महिनामा काम सक्ने गरी साढे तीन करोडको ठेक्का शंकर मालि निर्माण कम्पनीलाई दिइएको थियो। पुल निर्माणको काम ९५ प्रतिशत सकिएको छ। बाँकी ५ प्रतिशत काम पूरा हुन नसक्दा सवारी साधन खोलाबाट आउजाउ गर्दै आएका छन्।

निर्माण व्यवसायी र सडक डिभिजन कार्यालयको लापरबाहीको कारणले सयममा पुल निर्माणको काम हुन नसक्दा यस अघि पनि दाङका खोलाहरुमा पटक पटक सवारी दुर्घटना भइ मानविय क्षति भइरहेको छ। यसमा जिल्ला प्रशासन कार्यालयले पनि कारबाही गर्ने बताएको छ।

सयममा पुल निर्माणको काम नसक्ने ठेकेदारलाई पक्राउ गर्नको लागि स्थानीय प्रशासनले प्रहरीलाई चिठ्ठी काटेको छ। समयमा काम नसक्ने ठेकेदारलाई सडक डिभिजन र स्थानीय प्रशासनले कुनै कारबाही गर्न सकेको छैन। ठेकेदारले समेत टेर्न छोडेपछि प्रशासन पनि मुकदर्शक जस्तै बनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell