PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कोकिन कारोबारको अखडा 'ठमेल' : नेपाल ट्रान्जिट भएर थाइल्यान्ड



सविन ढकाल

कोकिन कारोबारको अखडा 'ठमेल' : नेपाल ट्रान्जिट भएर थाइल्यान्ड

काठमाडौं : २६ वर्षीय तान्जेनिया नागरिक किमारो दुई वर्ष देखि नेपालमा नै छिन्। पछिल्लो समय विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै। उनलाई नेपाली भाषा विदेशी भए पनि धेरै नै आउँछ। त्यसैले पनि उनको संगत र सम्पर्कमा धेरै नेपालीहरू छन्। 

सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने स्टुडेन्ट भिसामा नेपालमा रहन थालिन्। किमारो क्षेत्रपाटीमा २० हजार रुपैयाँ मासिक तिरेर फ्ल्याटमा बस्दै आएकी थिइन्। त्यसैले, घरबेटीदेखि नजिकका पसलेसम्म किमारोको चिनजान राम्रै छ।

किमारो अहिले कोकिन प्रकरणमा हिरासतमा छिन्। लागू औषध नियन्त्रण ब्युरोको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनी नेपालमा बसेर कोकीन कारोबार गर्ने गरेको खुलेको छ। यसअघि नेपालमा बरामद भएका कोकिनका घटनामा पनि उनको संलग्नता देखिएको छ। प्रहरीले उनीसँग सम्पर्क भएका नेपालीहरूलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ। मोबाइल, फेसबुक तथा अन्य सामाजिक सञ्जालमा धेरै पटक र शंका लागेका मानिसहरूसँगै प्रहरीले सोधपुछ पनि गरिरहेको छ।

'उनीसँग सम्पर्क भएका केही नेपालीहरूलाई ल्याएर सोधपुछ गरिसकेका छौँ। केही अझै राम्रो निगरानीमा नै छन्। उसको नेपालीहरूसँग सम्पर्क भएको देखिएको छ। तर, त्यसको कारण कोकिन कारोबार वा अरू नै हो भन्ने अनुसन्धान गरिरहेका छौँ,' लागू औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

प्रहरीले केही दिनअघि काठमाडौंको कमलपोखरीबाट २ किलो ९ सय ६६ ग्राम लागू औषध कोकिनसहित काठमाडौंको कमलपोखरीस्थित होटेलबाट एकजना अभियुक्त पक्राउ गरेको थियो। दक्षिण अफ्रिकी ३० वर्षीय नागरिक शेर्ला गामाले केप टाउनबाट दोहा हुँदै नेपालसम्म कोकिन ल्याइएकी थिइन्। सोही कोकीन काठमाडौँबाट भारतको दिल्लीसम्म पुर्‍याउन भारतीय नागरिक ३३ वर्षीय विजय सिंह जोडिएका थिए। तर, प्रहरीले यसको सुइको पाएपछि तीनै जनालाई नियन्त्रणमा लिएको थियो।

लागु औषध नियन्त्रण ब्युरोको टोलीले यसअघि कोकिन सहित १५ जनालाई पक्राउ गरेको थियो। यसमा नेपालीहरू नै संलग्न भएका थिए। तर, सामान्यतया कोकिन कारोबारमा नेपालीको संलग्नता कमै देखिन्छ अन्यखाले अपराधमा भन्दा। नेपाललाई ट्रान्जिट बनाएर यस्तो लागू औषध विदेश लैजाने गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ।

'यो महँगो लागु औषधमा पर्ने गरेको छ। नेपालमा यसका प्रयोगकर्ता छैनन् भने पनि हुन्छ। त्यसैले, यस्ता घटनामा विदेशीको संलग्नता र नेपाली भूमि प्रयोग गरेको पाइएको छ,' लागू औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

एक ग्राम कोकिनको मूल्य नेपालमा २० हजारदेखि ३० हजार रुपैयाँसम्म पर्ने गरेको छ। त्यसैले पनि नेपालीहरूले कोकिनको प्रयोग कमैमात्र गर्ने गरेका छन्। तर, यसअघि प्रहरीले पक्राउ गरेका १५ जना नेपाली भने प्रयोगकर्ता नभई बेच्न हिँड्नेहरु थिए। उनीहरूको कोकिन कनेक्सन विदेशीहरूसँग थिएन, नेपालीसँग मात्रै थियो।

२०७६ मंसिर २९ गते थ्री ब्रदर्स अपार्टमेन्ट लाजिम्पाटमा काम गर्ने अन्जु मगरले कोठा सफा गर्ने क्रममा रुममा बसेका एक विदेशी नागरिकको ज्याकेट चोरी गरेकी थिइन्। बोलिभियाका रोर्बटो कार्लोसको ज्याकेट थियो त्यो। त्यसपछि उनले त्यो ज्याकेट घरमा लगेर हेर्दा गोजीमा कोकिन फेला परेको थियो। २ किलो २ सय ग्राम कोकिन थियो ज्याकेटमा।

उनले त्यो कोकिन हो भन्ने पहिचान समेत गर्न सकेकी थिइनन्। त्यसपछि साथी मार्फत् कोकिन भएको थाहा पाएपछि विभिन्न च्यानल बनाएर नेपालमा नै बिक्री गर्न थालेकी थिइन्। त्यसमा १५ जना नेपाली संलग्न भएका थिए जो पछि समातिए।

उनीहरूले सुरुमा एक ग्रामको ५ हजार रुपैयाँमा बिक्री गरेका थिए। पछि त्यसको मूल्य बढी हुने थाहा पाएपछि १८ हजार रुपैयाँसम्म बिक्री गरेका थिए। उता कार्लोस भने ज्याकेट हराएपछि होटेल फेरेर बसेका थिए। तर, त्रिभुवन विमानस्थलबाट हङकङ जाँदा उनी समातिए। समातिँदा उनीसँग ६ केजी कोकिन बरामद भएको थियो। अहिले पनि उनी पुर्पक्षको लागि कारागारमा छन्।

अन्जुले चोरी गरेको ज्याकेट भित्रको कोकीन नेपाली बजारमा एकैचोटी खपत गर्ने सम्भव थिएन। त्यसैले सानो परिमाणमा बिक्री गरिरहेका थिए।

'यसका प्रयोगकर्ता भने नेपाली थिए। पैसा हुने व्यापारी लगायतले प्रयोग गरेको देखिएको छ। यो नेपालमा कोकिन प्रयोग भएको अपवादको घटना हो जुन पहिलो नै हो,' एसपी जीवनकुमार श्रेष्ठले भने।

१० वर्षमा ५४ केजी कोकीन समात्यो, ट्रान्जिटमात्र नेपाल

पछिल्लो समय नेपालमा कोकिन बरामद हुनेक्रम भने बढेको छ। कोकिन कारोबारी बढे या प्रहरीको सक्रियता बढेकाले घटना बाहिरिएको हो यसै भन्न सकिन्न। तर, कोकिन कारोबारमा विदेशीहरूको नै संलग्नता देखिएको छ। अन्य लागु औषध कारोबारमा जस्तो कोकिनमा नेपालीहरूको संलग्नता कमै देखिन्छ। नेपाललाई ट्रान्जिट बनाएर लागु औषध कारोबारीले एक देशबाट अर्को देशमा कारोबार गर्ने भएकाले पनि नेपालीहरूको संलग्नता नभएको प्रहरीको दाबी रहेको छ।

१५ जना नेपाली समातिएको घटना छाड्ने हो भने गएका १० वर्षमा कोकिन कारोबारमा नेपालीको संलग्नता देखिँदैन। २०६८ सालदेखि अहिलेसम्म नेपाल प्रहरीले कोकिन कारोबारमा मात्र ४५ जना मानिसलाई नियन्त्रणमा लिएको छ। जसमा ३० जना विदेशी नागरिक रहेको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

बोलिभिया, बेलारुस, आइभरिकोष्ट, ब्राजिल, भेनेजुएला, नामेबिया, साउथ अफ्रिकाका नागरिकहरू धेरै रहेका छन्।

२०६८ पुस २० गते प्रहरीले त्रिभुवन विमानस्थलबाट १ केजी कोकिन सहित तीन जना थाइल्यान्डका नागरिकलाई समातेको थियो। त्यसपछि पछिल्लो  पटक २०७८ भदौ ५ गते कमलपोखरीबाट २ केजी ९ सय ६६ ग्राम कोकिन सहित तीन जनलाई पक्राउ गरेको थियो। दश वर्षको अवधिमा प्रहरीले ५४ केजी ७ सय ६२ ग्राम कोकिन बरामद गरेको हो।

औशत १ केजी कोकिनको अन्तर्राष्ट्रिय मूल्य ३ करोड रुपैयाँसम्म पर्ने प्रहरीको दाबी छ। यही अनुसार हिसाब गर्दा प्रहरीले १० वर्षको अवधिमा १ अर्ब ६० लाख रुपैयाँ भन्दा बढीको कोकिन बरामद गरेको छ।

प्रहरीले यसरी विदेशी नागरीकालाई कोकिनसहित त्रिभुवन विमानस्थल नभए ठमेलबाट पक्राउ गरेको छ। विदेशबाट नेपाल ट्रान्जिट बनाएर आउँदा अधिकांशले ठमेलकै होटेल रोज्ने गरेको देखिन्छ। ठमेल पर्यटक क्षेत्र भएकाले विदेशीको मोमेन्टलाई लिएर कसैले शंका नगर्ने भएकाले पनि ठमेल रोजाइ बन्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन्।

नेपालीको केस बाहेक अन्य ८ वटा कोकिन बरामदको घटनामा विदेशी नागरिकहरू लागु औषध कारोबारमा ठमेल क्षेत्रबाट नै पक्राउ गरेको देखिन्छ। बाँकी ९ वटा घटनामा विदेशीहरू त्रिभुवन विमानस्थलबाट समातिएका छन्। यसरी विदेशीहरू अन्य देशबाट आउँदा भन्दा विमानस्थल प्रयोग गरेर फर्किँदा समातिएका छन्।

अहिलेसम्म सबैभन्दा धेरै परिमाणमा २०७१ चैत २० गते ११ केजी कोकिन सहित एक जना मलेसियन नागरिक समातिएका थिए।

कोकिन कारोबारीले नेपाललाई ट्रान्जिटमात्र बनाउने गरेका छन्। अहिलेसम्म विदेशी पक्राउपछि खुलेको केसमा अन्य देशबाट नेपाललाई ट्रान्जिट बनाए थाइल्यान्ड कोकिन जाने गरेको देखिएको छ। धेरै घटना अभियुक्त पक्राउ परेपछि लग्ने देश कमै खुलेका छन्। जसमा थाइल्यान्ड, ब्राजिल, भनेजुयला, हङ्कङ  र भारत लैजाने गरेको खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell