PahiloPost

Apr 14, 2026 | १ बैशाख २०८३

तीजमा पशुपतिनाथ मन्दिर खोल्ने कि नखोल्ने ? कोषको बैठक बस्दै



रासस

तीजमा पशुपतिनाथ मन्दिर खोल्ने कि नखोल्ने ? कोषको बैठक बस्दै
File Photo

काठमाडौं : पाँच महिनादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर खोल्ने तयारी सुरु गरिएको छ। हरितालिका तीजको आसपासदेखि नै मन्दिर खोल्ने तयारी भएको जनाइएको छ।

मन्दिर खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग पनि परामर्श गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले जानकारी दिए।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको जोखिम बढ्दै गएपछि गत वैशाख पहिलो सातादेखि पशुपतिनाथको मूल मन्दिरलगायत देवालय शिवालय एवं गुह्येश्वरीलगायत शक्तिपीठ भक्तजनका लागि बन्द गरिएको थियो। कोरोनाको जोखिम कम हुँदै गएपछि हरितालिका तीजको अवसर पारेर त्यसको आसपासमै मन्दिर खुला गर्ने तयारी भएको हो। कोषको आज बस्ने आन्तरिक बैठकले तीजअघि वा पछि मन्दिर खोल्ने निर्णय गर्ने पनि उनले बताए।

पशुपतिनाथसँगै पशुपति क्षेत्रका गुह्येश्वरीलगायत मन्दिर पनि बन्द छन्। पशुपतिसँगै यी मन्दिर पनि खुला गर्ने तयारी गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए।

भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपति क्षेत्र खुला गर्न लागिएको उनले बताए। मन्दिर खुला गरिएपछि पशुपति क्षेत्र प्रवेश गर्ने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्नेछ। भक्तजनलाई स्यानिटाइजरको पनि व्यवस्था गरिनेछ। दूरी कायम गरी भक्तजनलाई मूल मन्दिरभित्र प्रवेश गराउने तयारी गरिएको छ।

२०७६ चैतमा कोरोना महामारी नेपालमा पनि देखिन थालेपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो। दश महिनापछि २०७७ साल पुस १ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको थियो। भौतिक दूरी कायम गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell