PahiloPost

Jun 30, 2024 | १७ असार २०८१

पान्ज्शिरबाट सुरु होला स्वतन्त्र अफगानिस्तानको संघर्ष या तालिवानले गर्ला कब्जा?



पहिलोपोस्ट

पान्ज्शिरबाट सुरु होला स्वतन्त्र अफगानिस्तानको संघर्ष या तालिवानले गर्ला कब्जा?
Photo : AP/ PTI

तालिवानले अफगानिस्तानमा सरकार बनाउने तयारी गरिरहेको छ। महिलालाई समेत सहभागी गराई सरकार बनाउने भनिरहँदा तालिवानसामु एउटा चुनौती छ। त्यो हो पान्ज्शिर घाटीलाई जित्नु। 

अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तालिवानले पान्ज्शिरलाई मात्रै नियन्त्रण गर्न बाँकी छ। जहाँ तालिवानलाई प्रवेश गर्नबाट रोक्न राष्ट्रिय प्रतिरोध मोर्चा (एनआरएफ) खडा छ। त्यहाँका स्थानीय पनि तालिवानविरुद्ध लड्न तयार रहेको अभिव्यक्ति दिइरहेका छन्।

तालिवानले पान्ज्शिरमा रहेकाहरु लडाकू समूहलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ। तर, पान्ज्शिर तालिवानसामु झुक्न तयार भइसकेको छैन। बिहीवार राति तालिवान र तालिवान विरोधी समूह बिच पंजशीमा भिडन्त भएको सीएनएनले उल्लेख गरेको छ।

'पान्ज्शिर कब्जा गर्न तालिवानले आफूसँग भएको सबै शक्ति प्रयोग गरिरहेको छ,' एक अधिकारीले भनेका छन्। पान्ज्शिर कब्जा गर्न पुगेका ४० तालिवानी लडाकुको मृत्यु भएको बताइएको छ।

राजधानी काबुलको उत्तर पूर्व क्षेत्रमा रहेको पान्ज्शिर घाटी स्वतन्त्र अफगानिस्तान पक्षधरहरुका लागि अहिले संघर्षस्थल बनेको छ। हजारौंको संख्यामा मिलिसिया र अफगानी सुरक्षा बलका पूर्व सदस्यहरु पान्ज्शिरमा छन्। उनीहरु एनआरएफसँग मिलेर तालिवानविरुद्ध लडिरहेका छन्।

आफूले आफूलाई कार्यवाहक राष्ट्रपति घोषणा गरेका अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेह पनि एनआरएफमा सामेल भइरहेका छन्। एनआरएफको नेतृत्व भने 'पान्ज्शिरका सिंह' कहलिने अहमद शाह मसूदका छोरा अहमद समूदले गरिरहेका छन्। अन्तर्राष्ट्रिय संचार माध्यमदेखि तालिवानको डरले अफगानिस्तान छाडेका बिच अहिले अहमद समूद चर्चामा छन्।

अहमद शाहले सन् १९८० मा पान्ज्शिरमा सोभियत संघको आक्रमणलाई रोकेका थिए। १९९० को दशकमा समेत तालिवानले पान्ज्शिर जित्न सकेको थिएन। हाल उनका छोरा अहमद समूद तालिवानलाई रोक्न आफ्नो बुवाको पथमा हिँडेका छन्।

बेलायतको किंग्स कलेज अफ सैंडहर्स्ट मिलिटरी एकाडेमीमा अध्ययन गरेका अहमद मसूदले अहिले तालिवानविरुद्ध गुरिल्ला अभियान संचालन गरेका छन्। उनले देशभित्रबाट मात्रै होइन देशबाहिर पनि समर्थन जुटाउने प्रयास गरिरहेका छन्।

अहमद मसूदले अफगानी नागरिकको लोकतन्त्र, अधिकार र स्वतन्त्रता बचाउनुपर्ने बताउँदै आएका छन्।

तालिवान भने पहिलाको असफलता यसपटक पनि दोहोराउन चाहँदैन। तालिवान जसरी पनि पान्ज्शिर कब्जा गरेर आफू विरोधी शक्तिहरुलाई हराउन चाहन्छ। पान्ज्शिरमा भइरहेको विरोधले अन्य क्षेत्रमा तालिवान कमजोर पर्न सक्ने उनीहरुको अनुमान छ। त्यसैले तालिवान र एनआरएफ बिच वार्ता पनि भइरहेको छ।

दुवै समूहले आफूहरु लडाईबाट बच्न चाहेको अभिव्यक्ति दिइरहेका छन्। तर, सहमतिको खाका भने तयार भइसकेको छैन। यसबिच पान्ज्शिरमा दुवै समूह आमनेसामने भएका हुन्। तालिवानले सयौं लडाकुलाई पान्ज्शिर कब्जा गर्न पठाएको छ। एनआरएफले पनि हजारौंको संख्यामा मानिसहरु तालिवानविरुद्ध लड्न तयार रहेको बताउँदै आएको छ।

हालसम्म कसैले कब्जा गर्न नसकेको पान्ज्शिर के तालिवानले कब्जा गर्ला ? वा पान्ज्शिरबाट स्वतन्त्र अफगानिस्तानको संघर्ष सुरु होला? त्‍यो केही दिनमा नै स्पष्ट हुनेछ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell