पोखरा : गए रातीको अविरल वर्षापछि पर्वतको विभिन्न स्थानमा पहिरोजाँदा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ।
प्रदेश प्रहरी कार्यालय गण्डकीले दिएको जानकारी अनुसार जिल्लाको चार ठाउँमा गएको पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार अझै एक जना बेपत्ता छ्न्।
पहिरोमा पुरिएर कुश्मा नगरपालिका–३ दुर्लुङ भोगेनी बस्ने एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्। ७५ वर्षीय कौशिला पौडेल, ३५ वर्षकी भगवती पौडेल, १६ वर्षकी बिमला पौडेल, ११ वर्षीय बिनिता पौडेल र ९ वर्षका विनोद पौडेलको पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, कुश्मा नगरपालिका- ११, सिल्मिका मनिलाल पौडेलको घरमा पहिरोजाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पौडेलको घरमा पाहुना बस्न आएका आमाछोरा छन्। पाहुना गएका मोदी गाउँपालिका- ७, राम्जा घर भएकी ३८ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेशको मृत्यु भएको हो। यस्तै सोही वडाको पकुवा पाल्चेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुश पौडेल हुन्। प्रहरीका अनुसार ७० वर्षकी डल्ली पाध्या बेपत्ता छिन्।
यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा सामुदायिक वनबाट आएको पहिरोमा पुरिंदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीय फुलमाया थापा हुन्।
