PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

तालिवान विरुद्ध उभिएको ३२ वर्षे अहमदको कथा : भनिँदैछ - रिटर्न्स अफ लायन अफ पान्ज्शिर



विधुर ढकाल

तालिवान विरुद्ध उभिएको ३२ वर्षे अहमदको कथा : भनिँदैछ - रिटर्न्स अफ लायन अफ पान्ज्शिर

काठमाडौं : अहिले विश्वको ध्यान अफगानिस्तानमा टिकेको छ। तालिवान लडाकुहरुले काबुल कब्जा गरेसँगै काबुलमा केन्द्रित भएका अन्तर्राष्ट्रिय मिडियाहरु बिस्तारै काबुलबाट आफ्नो ध्यानलाई पान्ज्शिर उपत्यकातिर केन्द्रित गर्न थालेका छन्।

विशेष गरी एउटा ३२ वर्षे ठिटो अहमद मसूदले विश्वको ध्यान केन्द्रित गरेका छन् यतिखेर। जब तालिवानले अफगानिस्तानमाथि कब्जा जमाउँदै गयो - एउटा इतिहास फेरि दोहरिँदै छ। काबुलदेखि उत्तरपश्चिम पान्ज्शिर उपत्यका यस्तो एकमात्र क्षेत्र हो जुन अहिलेसम्म तालिवानको कब्जामा आएको छैन।

हिन्दकुश पर्वत श्रृङ्खलाको पहाडी भूभागमा यतिबेला मसूदले तालिवान विरोधी फौजको नेतृत्व गरिरहेका छन्। नेशनल रेसिस्टेन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ)ले यतिबेला पान्ज्शिरलाई तालिवान नियन्त्रणबाट बचाइराखेको छ।

यतिबेला पान्ज्शिरको पहाडी बस्तीमा एउटा ‘आइक्निक फिगर’को चर्चा छ। अहमद मसूद आफ्ना पिता अहमद शाह मसूदले देखाएको बाटोमा उस्तै उनीको ‘पाकोल ह्याट’ सहित तालिवान विरोधी गुरिल्लाको नेतृत्व गरिरहेका छन्।

काबुलमा नियन्त्रण लिएको दुई सातापछि तालिवान लडाकुहरु पाञ्ज्शिर उपत्यका घेर्न पुगेका थिए। बिहीवार राति सो क्षेत्रमा भिडन्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। एनआरएफ स्रोतलाई उद्धृत गर्दै सीएनएनले पान्ज्शिरमा झडप भइरहेको जनाएको छ।

पछिल्लो साता तालिवानले आफ्ना लडाकुलाई पान्ज्शिरलाई चारैतिरबाट घेर्न त्यसतर्फ पठाएको हो। सोमवारमात्र उपत्यकाको तीन जिल्लामाथि नियन्त्रणमा लिएको दाबी गरेको थियो तालिवानले। एनआरएफ स्रोतले तालिवानहरु उपत्यका प्रवेश गर्ने अन्तिम प्रयास गरिरहेका बताएका छन्।

‘उनीहरुले आफ्नो अन्तिम शक्ति प्रयोग गरिरहेका छन्, तर भिडन्त अझै जारी छ,’ एनआरएफ स्रोतले सीएनएनलाई भनेको छ।

यसअघि बिहीवार एनआरएफका प्रवक्ता फाहिम दाशतीले अडियो सन्देश जारी गर्दै पान्ज्शिरमा प्रवेशको प्रयास गरिरहेको र उनीहरुका ४० फौज गुमाएको दावी गरेका छन्। अर्का प्रवक्ता अलि नाजरीले तालिवानले बिहीवार ठूलो संख्यामा हातहतियार गुमाएको र उनीहरुको हतियार नस्ट गरिदिएको दाबी गरेका छन्। तर, सीएनएनले यसलाई स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको जनाएको छ।

तालिवानले पान्ज्शिरका लडाकुहरुलाई आफ माफी स्वीकार गरी आत्मसमर्पण गर्न चेतावनी दिएका छ। तर, अहमद मसूदले पान्ज्शिर हिंस्रक शासनबाट सुरक्षित रहेको भन्दै आफ्ना जनताको आग्रहमा सुरक्षा दिइरहेको बताएका छन्।

उनले आफूहरु शान्ति चाहे पनि शान्तिको मतलव आत्मसमर्पण नभएको बताएका छन्।

एनआरएफले आफूसँग हजारौँ लडाकु र सैन्य सामाग्री भएको बताउँदै तालिवानबाट आफ्नो क्षेत्रलाई बचाउने दावी गरिरहेका छन्। मसूदको यो समूहलाई अहिले बाह्य सहयोग छैन। यद्यपि, गत शुक्रवार अमेरिकी सिनेटर लिन्ड्से ग्रहम र कंग्रेस म्यान माइ काल्ट्जले मसूद र पूर्व अफगान उपराष्ट्रपति अमरुल्लाह सलेहलाई आधिकारिकता दिन माग गरेका थिए।

‘अफगान उपराष्ट्रपति अमरुल्लाह सलेह र अहमद मसूदका प्रतिनिधिसँग कुरा गरेपछि हामीले वाइडेन प्रशासनसँग यी नेताहरुलाई अफगानिस्तानको वैधानिक सरकारको प्रतिनिधिको रुपमा मान्यता दिन माग गर्छौँ,’ अमेरिकी दुई सांसदले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, ‘हामी वाइडेन प्रशासन समक्ष अफगान संविधान अझै पनि लागू रहेको र अफगानमा तालिवानको नियन्त्रणलाई अवैध करार दिन माग गर्दछौँ।’

त्यस्तै, अफगानिस्तानका अपदस्त सरकारका उपराष्ट्रपति अमरुल्लाह सलेहले आफू संविधानत: अफगानिस्तानको कार्यवाहक राष्ट्रपति भएको र हाल देशभित्रै रहेको बताउँदै सहयोगको आग्रह गरेका गरेका थिए।

उनी हाल पान्ज्शिरमा रहेका छन्। उनले निरन्तर रुपमा त्यहीबाट विश्वको साथ खोजिरहेका छन्। तालिवानलाई आतंककारी घोषित गर्दै उनले आतंकवादसँग विश्व झुक्न नहुने बताइरहेका छन्।

अगस्ट ३१ मा उनले अर्को ट्वीट गरेका छन्- ‘पान्ज्शिरले विरोधीहरुलाई केन्द्रित गरेको पान्ज्शिरको लागि मात्र होइन पूरै देशका लागि हो। अफगान राष्ट्रिय झण्डा यहाँका सरकारी भवनहरुमा फहराइरहेका छन्। हाम्रो प्रतिरोध अधिकार र मान्यताका लागि हो।’

सलेह पान्ज्शिरका स्थायी बासिन्दा हुन्। उनी यसअघि अहमद शाह मसूदसँग काम गरेका थिए।

एनआरएफको नेतृत्व गरिरहेका मसूदले आफूले देशमा गृहयुद्ध नचाहेको भन्दै देशमा शान्ति, न्याय, प्रतिनिधिमूलक सरकार चाहेको बताएका छन्। फरेन पोलिसीसँगको इमेल अन्तर्वार्तामा मसूदले भनेका छन्- ‘यदी तालिवानहरुले सत्ता साझेदारी गर्न चाहेका छन् र उनीहरु न्याय स्थापित गर्दै सबै अफगानिस्तनलाई समान अधिकार र स्वतन्त्रता दिन चाहेका छन् भने म पछाडि हट्नेछु र राजनीतिबाट विश्राम लिने छु।‘

फ्रान्सेली फिलोसोफर अर्नार्ड हेनरी लेभीले ट्वीट गर्दै मसूदसँगको टेलिफोन संवादलाई उल्लेख गरेका छन्।

‘प्रतिरोध भर्खरै सुरुवात भएको छ,’ मसूदलाई उल्लेख गर्दै उनले भनेका छन्।

 

को हुन मसूद?

१९८९ जुलाई १० मा फर्खार नदी उपत्यकामा जन्मिएका मसूदले बाल्यकाल पान्ज्शिर उपत्यकाका गुफाहरुमा बाबु अहमद शाह मसूदसँगै बिताए। उनका बुवा अहमद शाह त्यतिबेलाका गुरिल्ला कमाण्डर थिए।

मसुर जम्मा ९ वर्षका थिए जब फ्रान्सेली फिलोसोफर लेभीले उनका पान्ज्शिरको गुफामा उनका बाबुसँग सन् १९९८ मा भेट गरेका थिए। त्यतिबेला उनले सुनेका थिए- ‘जब तिमी तिम्रो स्वतन्त्रताका लागि लड्छौँ, तिमी त्यतिबेला हाम्रो स्वन्त्रताका लागि पनि लड्ने छौँ।’

अहिले मसूदले यही सेन्टिमेन्टलाई अगाडि बढाउँदै पश्चिमा शक्तिसँग सहयोग मागिरहेका छन्- ‘हामी लामो समयसम्म खुला समाजका लागि लडेका छौँ जहाँ बालिकाहरु डक्टर बनुन्। हाम्रो प्रेसले स्वतन्त्र रुपमा रिपोर्टिङ गर्न सकोस्। हाम्रा युवा जनताले नाच्न र संगीत सुन्न पाउन्। अथवा उनीहरु फुटबल खेल्न रंगशालामा उपस्थित हुन पाउन्। ती रंगशाला जहाँ कुनै समय तालिवानहरुले सर्वसाधरणलाई कारवाही गर्न प्रयोग गर्थे। र, फेरि छिट्टै त्यस्तै गर्नेछन्,’ उनले भनेका छन्।

२०१६ मा मसूद फाउन्डेसनको सीइओमा नियुक्त भएका मसूद २०१९ को सेप्टेम्बर ५ का दिनमा उनका पिताको समाथिस्थल पान्ज्शिरमा उत्तराधिकारी घोषित भएका थिए।

अहमद शाहका ६ सन्तानमध्ये जेठा उनी इरानमा माध्यामिक शिक्षा हासिल गरेसँगै एक वर्ष सैन्य कोर्सका लागि बेलायतको रोयल मिलटरी एकाडेमी सान्ध्रुस्टमा भर्ना भए। त्यसपछि लण्डनको किङ्ग्स कलेजमा युद्ध शिक्षामा स्नातक र सिटी युनिभर्सिटी अफ लण्डनमा अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर सम्पन्न गरे। उनको अनुसन्धानको विषय तालिवान थियो।

उनी २०१९ मा आधिकारिक रुपमा राजनीतिमा होमिए उनी। उनको राजनीतिमा उपस्थितिलाई लिएर ‘रिटर्न अफ लायन अफ पान्ज्शिर’को उपमा दिइएको थियो।

उनको उपस्थितिलाई कमाण्डर शाह मसूदको फिर्तीको रुपमा लिइन्छ। उस्तै कद, उस्तै झुस्स परेको दारी, रभेन हेयर र उस्तै पहिरन- मसूदबाट छुट्याउन नसिकने पाकोल- पान्ज्शिरको ऊनीको डुनट आकारको टोपी।

अहमद शाह मसूद, अफगानिस्तानका अपराजित कमाण्डर जो सोभियत युनियनको हस्तक्षेप विरुद्ध लडे। पछि तालिवान विरुद्ध लडे। उनको हत्या अलकायदाका लडाकुहरुले पत्रकारको भेषमा अन्तर्वार्ता लिने बाहनामा गरेका थिए। सन् २००२ सेप्टेम्बर ११, अमेरिकाका ट्वीन टावरमा आक्रमण भयो। त्यसको दुई दिन पहिले उनको हत्या भएको थियो। त्यतिबेला बल्ल १२ वर्ष टेक्दै थिए मसूद।

मसूदले अफगानिस्तानको सैन्य सेवा ‘नेशनल फ्रन्ट अफ अफगानिस्तानमा’मा सेवा गरे। यो फ्रन्टको स्थापना उनका कान्छा काका अहमद जिया मसूदले गरेका हुन्। उनी २००४ डिसेम्बर ७ देखि २००९ नोभेम्बर १९ सम्म अफगानिस्तानको राष्ट्रपतिसमेत भएका थिए।

को हुन अहमद शाह मसूद?

अहमद शाह मसूद गुरिल्ला कमाण्डर हुन्। जो पछि सन् १९९२ अप्रिल २८ देखि २००२ सेप्टेम्वर ९ (हत्या पूर्व)सम्म इस्लामिक स्टेट अफ अफगानिस्तानको रक्षा मन्त्री भए। १९९६ मा तालिवानले काबुल कब्जा गरेसँगै निर्वासित भएको इस्लामिक स्टेट अफ अफगानिस्तानको सरकारको नेतृत्वमा उनले तालिवान विरुद्ध गुरिल्लाको कमाण्ड गरेका थिए।

उनलाई अझै पनि ‘पान्ज्शिरको सिंह (लायन्स अफ पान्ज्शिर)’को उपमा दिइन्छ। १९७९-८९ मा सोभियत युनियन विरुद्ध गुरिल्ला युद्धको कमाण्ड गरेका उनी १९९० पछि त्यहाँको सरकारी सेनाको कमाण्ड गरे। काबुलमा तालिवानको नियन्त्रणपछि उनले हत्यापूर्व सम्म तालिवान विरोधी गुरिल्लाहरुको कमाण्ड गरिरहे।

उनले १९७९ बाट नै पान्ज्शिरमा कब्जा जमाएका थिए। त्यसैले उनलाई युद्ध नायकका रुपमा लिइन्छ। उनलाई अफगानिस्तानमा मात्र होइन छिमेकी ताजिकिस्तानमा पनि लायनको रुपमा सम्मान गरिन्छ। पान्ज्शिर ताजिक जातिको बाहुल भएको क्षेत्र पनि हो। त्यसैले त ताजिकिस्तानमा उनको मृत्युको दुई दशक पछि पनि उनलाई सम्मान गरियो।

उनलाई त्यहाँको उच्च सम्मान प्रदान गरिएको हो। साथै उनीसँगै पूर्व राष्ट्रपति बुर्हानुद्दिन रब्बानीलाई पनि त्यतिखेर सम्मान गरिएको थियो। रब्बानीलाई तालिवानहरुले अपदस्त गरेका थिए।

ताजिक राष्ट्रपति कार्यालयको आधिकारिक वेवसाइटमा उनीहरुले ताजिकिस्तानमा शान्ति स्थापनामा सहयोग पुर्‍याएको र ताजिकिस्तानको गृहयुद्ध अन्त्य गर्न सहयोग पुर्‍याएको भन्दै सम्मानित गरेको उल्लेख छ।

तिनै गुरिल्ला युद्धका कमाण्डर अमद शाह मसूदका जेठा छोरा ३२ वर्षका अहमद मसूद यतिबेला आफ्ना पिताको पथ पच्छ्याउँदै तालिवान विरुद्ध युवा जोशका साथ उभिएका छन्। उनलाई साथ दिन उपराष्ट्रपति अमरुल्लाह सलेहसमेत पान्ज्शिरमा छन्। उनको नेतृत्वमा युवा जोश एक्लै तालिवान विरुद्ध विद्रोहको आवाज उठाइरहेको छ। तालिवान विरुद्ध अत्याधुनिक हतियारसहित अफगानी सरकारी सेना आत्मसमर्पण गर्दै देश छाडेर भाग्दा उनी पान्ज्शिरको रक्षा गर्न गुरिल्लाहरुको नेतृत्व गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell