PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

सिनेमा हलमा ५० प्रतिशतमात्र दर्शक राख्न पाइने, दोहोरी साँझ र नाइट क्लबलाई समय सीमा



पहिलोपोस्ट

सिनेमा हलमा ५० प्रतिशतमात्र दर्शक राख्न पाइने, दोहोरी साँझ र नाइट क्लबलाई समय सीमा
फाइल फोटो

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिनेमा हल, दोहोरी साँझ र नाइट क्लबलाई स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न अनुमति दिएको छ।

आज जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले सरोकारवालाहरु सँगको छलफलमा निर्दैशन सहित अनुमति दिएका हुन्।

त्यस्तै, सिनेमा हल संचालन गर्दा ५० प्रतिशतमात्र दर्शक राख्न अनुमति हुनेछ। हलमा कर्मचारीदेखि दर्शकलाई समेत स्वास्थ्य मापदण्ड पूरा गरेर राख्न भनिएको छ। 'सिनेमा हलले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ। त्यस्तै, ५० प्रतिशत भन्दा बढी दर्शक राख्न पाइने छैन,' सीडीओ पराजुलीले भने।

वैशाख १६ गतेदेखि बन्द भएका हलहरु बिहीवारबाट खोल्न अनुमति दिइएको हो। त्यस्तै, दोहोरी साँझ र नाइट क्लबका लागि स्वास्थ्य मापदण्डसहित समय सीमा तोकिएको छ। दोहोरी साँझलाई राति १२ बजेपछि संचालन नगर्न निर्देशन दिइएको छ। त्यस्तै, नाइट क्लबको हकमा भने बिहान २ बजेपछि संचालन गर्न पाइने छैन।

'समय सीमा तोकिदिएका छौं। त्यससँगै स्वास्थ्य मापदण्ड पनि पालना गर्नुपर्ने हुन्छ,' प्रमुख जिल्ला अधिकारीले भने।

वैशाख १६ गतेदेखि काठमाडौंमा जारी भएको निषेधाज्ञा बिहीवारबाट हटाइएको छ। विद्यालय बाहेक अन्य सबै क्षेत्र खुल्ला गरिएको छ। यसरी खुल्ला भएको क्षेत्रमा मापदण्ड पूरा भए नभएको नियमित अनुगमन हुने सीडीओ पराजुलीले जानकारी दिए।

त्यस्तै, काठमाडौं उपत्यकाभित्र भिडभाड, सभा जुलुस, जात्रा महोत्सव गर्न भने पाइने छैन। त्यस्तै, लामो समयदेखि दर्शनार्थीको लागि बन्द गरिएको पशुपति लगायत अन्य मन्दिरहरु भने खुल्ला गर्ने तयारी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell