PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विराटनगरमा पहिलो पटक हस्पिटालिटी म्यानेजमेन्टको पढाइ हुने, तीन वर्षे स्नातकका लागि साढे ६ लाख शुल्क



अनन्तराज न्यौपाने

विराटनगरमा पहिलो पटक हस्पिटालिटी म्यानेजमेन्टको पढाइ हुने, तीन वर्षे स्नातकका लागि साढे ६ लाख शुल्क

विराटनगर : मोरङ र झापाबाट नेपाली रिका चेन होटलको एकै पटक सुरुवात गरेका नवयुवा उद्यमी आकाश दुलाल आफूले पढेका कलेज सञ्चालकहरूसँत गफ गर्दै थिए। एक महिनाअघिको उक्त छलफलका क्रममा आकाशका बाबु एवं पीएलओ ग्रुपका अध्यक्ष भोलेश्वर दुलाल पनि सँगै थिए।

कलेज सञ्चालकहरूले होटल बिजनेसलाई कस्ता जनशक्तिको आवश्यकता छ भन्ने जिज्ञासा राखे।

‘होटल म्यानेजमेन्ट पढेका दक्ष जनशक्तिको त यहाँ कमी छैन’, जवाफ फर्काउँदै आकाशले भने, ‘तर, हस्पिटालिटी बुझेका र पढेका जनशक्ति भने पटक्कै पाइँदो रहेनछ। होटलमा हस्पिटालिटी सर्भिसलाई ‘मेन्टेन’ गर्नु अर्को मुख्य पाटो रहेछ। हामीलाई हस्पिटालिटीका स्नातकहरूको खाँचो छ।’

आकाशले थपे, ‘होटल म्यानेजमेन्ट पढेका जनशक्तिले किचन र अन्य व्यवस्थापन राम्रोसित सम्हालेको देखिएको छ तर हस्पिटालिटी अझै नपुगेजस्तो भइरहेको छ।’

यसपछि कलेज सञ्चालकहरू विराटनगरमा अब इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट (आइएचएम)को पढाइ तत्काल शुरु गर्ने भन्ने टुङ्गोमा पुगे।

चिकित्सा शास्त्रदेखि व्यवस्थापन, मानविकी, इन्जिनियरिङ र आइटीसम्मको शिक्षाको हब मानिएको विराटनगर अब हस्पिटालिटी क्षेत्रको अध्ययन-अध्यापनका लागि पनि सहज मानिने भएको छ।

यसअघि मेरिल्यान्ड कलेजका नामले चिनिएको र शुक्रवारदेखि इनोभेट नेपाल ग्रुप (आइएनजी ग्रुप)ले सञ्चालन गर्न थालेपछि विराटनगर इन्टरनेशनल कलेजका नाममा रूपान्तरण भएको संस्थाले हस्पिटालिटीको अध्यापन शुरु गर्ने भएको हो।

प्रदेश नम्बर १ को विराटनगरमा पहिलो पटक हस्पिटालिटीको अध्ययन-अध्यापन गर्न लागिँदैछ।

आइएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकीका अनुसार बेलायतको युनिभर्सिटी अफ वोल्भरह्याम्प्टनसँगको साझेदारीमा कलेजले विगत ७ वर्षदेखि व्यवस्थापन सङ्कायको अध्यापन गराउँदै आएको छ। आइएचएमको अध्यापन पनि यही युनिभर्सिटीसितको साझेदारीमा गरिनेछ।

‘हस्पिटालिटी सेवा केवल होटलका लागि आवश्यक पर्ने विषय होइन’, अध्यक्ष बुढाथोकीले पत्रकार सम्मेलनमा भने, ‘आज कर्पोरेट क्षेत्रका सबैले हस्पिटालिटीका दक्ष जनशक्ति खोजिरहेका छन्। मेडिकल कलेज र अत्याधुनिक अस्पतालमा पनि यस्तो जनशक्ति चाहिएको छ।’

बुढाथोकीले सम्पूर्ण हस्पिटालिटी क्षेत्रलाई चाहिने क्याप्टेन, होटल म्यानेजर, सीइओ, टिम लिडर, स्वदेशी-विदशी उड्डयन तथा सामुद्रिक यातायात क्षेत्रका लागि क्याबिन क्रिउ, ट्राभल म्यानेजर लगायतका फाँटमा नेतृत्व गर्नसक्ने जनशक्ति उत्पादनका लागि यो पाठ्यक्रमको आरम्भ गरिएको जानकारी दिए।

उक्त कोर्सका लागि नेपाल तथा विदेशमा समेत विद्यार्थीलाई तालिम तथा रोजगारीका लागि पठाउन कलेजले विभिन्न संस्थासित साझेदारी गर्ने उनको भनाइ छ।

आइएनजी ग्रुपका सीइओ ऋषिकेश वाग्लेले तीन वर्षे आइएचएम स्नातकका लागि एक विद्यार्थीले साढे ६ लाख रुपैयाँ तिर्नुपर्ने उल्लेख गरे।

‘बेलायतमा यही पढाइका लागि एक विद्यार्थीले ६५ लाख नेपाली रुपैयाँ खर्च गर्नुपर्छ’, सीइओ वाग्लेको जिकिर छ, ‘हामी त्यसको १० प्रतिशत खर्चमै त्यही स्तरको शिक्षा दिनेछौँ। यहाँ पढिरहेका विद्यार्थी पढ्दापढ्दै पढाइ बीचमै छाडेर बेलायत वा त्यही युनिभर्सिटीको यो कार्यक्रम लागू भएका संसारका कुनै पनि ठाउँमा गए भने विराटनगरको प्रमाण देखाएर आफ्नो अध्ययनलाई विदेशमा निरन्तरता दिन पाउँछन्।’

कलेजले आइएचएमका लागि यस वर्ष ५० विद्यार्थीको लक्ष्य राखेको छ। साथै दशैँ तिहारपछि भर्ना खोल्ने र आगामी जनवरीदेखि पढाइ शुरु गर्ने तयारी गरिरहेको छ।

सीइओ वाग्लेले भने, ‘कुनै पनि क्षेत्रका लागि अन्तर्राष्ट्रिय जगतमा नेपाली जनशक्तिको ठूलो माग छ। किनकि नेपालीहरू लगनशील हुन्छन्। नेपालीको अंग्रेजी स्पष्ट र सबैले बुझ्ने खालको हुन्छ। नेपालीहरू आफ्नो धर्ममा कट्टर छैनन्। उनीहरू कट्टर इस्लामिकदेखि कट्टर क्रिस्चियनका मुलुकमा समेत समान रूपमा भिजेर काम गर्न सक्छन्।’

उनले कलेजले बेलायतकै उक्त युनिभर्सिटीको साझेदारीमा एमबीए र कम्प्युटर साइन्समा स्नातक गरी थप दुई कार्यक्रम पनि सञ्चालन गर्न लागेको चर्चा गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell