PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पूर्व सचिव गोविन्दप्रसाद कुसुमले पुस्तकबाट ल्याए जागिरे जीवनका अनुभव



पहिलोपोस्ट

पूर्व सचिव गोविन्दप्रसाद कुसुमले पुस्तकबाट ल्याए जागिरे जीवनका अनुभव

काठमाडौं : पूर्व सचिव गोविन्दप्रसाद कुसुमद्वारा लिखित ‘प्रशासनभित्रको प्रशासन’ सार्वजनिक भएको छ। सांग्रिला बुक्सले प्रकाशन गरेको पुस्कतलाई पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त सावित्री थापा गुरुङले सार्वजनिक गरेका हुन्।

शाखा अधिकृतदेखि महावाणिज्यदूत र सचिव हुँदै संवैधानिक निकायमा पदाधिकारी भएर प्रशासनिक र कुटनीतिक क्षेत्रमा ३६ वर्ष सेवा गरेका गोविन्दप्रसाद कुसुमले आफ्नो जागिरे जीवनमा बेहोरेका तितामिठा अनुभवका अंशलाई ‘प्रशासनभित्रको प्रशासन’ मार्फत् बाहिर ल्याएको प्रकाशक सांग्रिला बुक्सले जनाएको छ।

पुस्तकमा टिप्पणी गर्दै डा. संग्रौलाले कुटनीति लगायतका अन्य समस्या समाधान गर्न नसक्नुका कारण, विचौलियाबाट प्रभावित राजनीतिक नेतृत्व तथा त्यसले कर्मचारीतन्त्रलाई पारेको समस्या र अन्तर कर्मचारी सम्बन्धका बारेमा पुस्तकले ध्यान आकर्षित गरेको बताए। उनले पुस्तक प्रशासनका थुप्रै पाटोको अनुसन्धानमा उपयोगी हुने बताउँदै गोविन्द्रप्रसाद कुसुम समाधान उन्मुख प्रशासक भएका कारण लेखकले तथ्य दिएर आफ्ना धारणा पुष्टि गरेको उल्लेख गरे।

अर्का टिप्पणीकार सावित्री थापा गुरुङले पुस्तकले प्रशासनको एक कालखण्डको इतिहासलाई लेखकले इमान्दारिताका साथ लिपिवद्ध गरेको बताइन्। उनले प्रशासकले लेखेको भए पनि पठनका हिसाबले निकै सरस भाषामा पुस्तक आएको बताइन्।

डायरी लेख्‍ने बानीका कारण समय र घटना उतार्न सजिलो भएको बताउँदै लेखक कुसुमले पुस्तक मार्फत् अनुभव हस्तान्तरणको जिम्मेवारी निभाएको बताए। प्रशासकले इतिहास लिपिवद्ध नगर्नाले अनुभवहरु कुराकानीमै सीमित भएको भन्दै उनले पुस्तक लेखनको कारण खुलाए।

सार्वजनिक अनुभवका विभिन्न आयाम बोकेको पुस्तक निजामती प्रशासनको क्षेत्रमा कार्यरत पुस्ताले जिम्मेवारी निर्वाह गर्दा बेहोर्नुपर्ने उल्झनको उचित व्यवस्थापन गर्न सहयोगी हुने सांग्रिला बुक्सले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell