PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

नेपाली फिल्मकी 'आइकन' करिश्माको व्यवसायिक 'इनिङस्'को कथा



भावना शर्मा

नेपाली फिल्मकी 'आइकन' करिश्माको व्यवसायिक 'इनिङस्'को कथा

काठमाडौं : नेपाली फिल्म उद्योगको सदावहार 'आइकन' हुन् करिश्मा। ठूलो पर्दामा प्रायजसो उनले आम नेपाली नारीकै प्रतिनिधित्व गरिन्, कर्पोरेट अवतारमा उनी आइनन्। उनका लागि बलिउड चाहिँ फापेन। फिल्म 'दङ्गा फसाद' उनलाई त्यहाँ स्थापित गर्न पर्याप्त थिएन पनि। तर, उनी नेपाली सिनेमाका दर्शकका मनमा जब्बर रुपमा स्थापित भइन्। यहीँको फिल्म उद्योगले उनलाई स्थापित गर्‍यो। त्यही उद्योगमा पाएको असफलताले विदेश नै पलायन पनि गरायो। र, त्यही उद्योगले फेरि नेपाल नै तानेर पनि ल्यायो। यतिखेर उनी पर्दामा नदेखिएको अवतारमा पनि छिन् – रिलमा होइन, रियलमा।

करिश्मा मानन्धर। अर्थात्, नेपाली सिनेमा क्षेत्रमा चिनाइरहनै नपर्ने अनुहार। यिनै करिश्माको भूइँमा खुट्टा थिएन रे त्यस दिन, जुन दिन आफैंलाई काँचको पर्दामा हेर्न घरमा १४ इन्चको रंगीन टेलिभिजन भित्र्याएकी थिइन्। त्यस्तै अवस्था थियो क्यासेट प्लेयर किनेर ल्याउँदा होस् या रेफ्रिजेरेटर जोड्दा।

यी सबै सामान अहिले पनि केही उनको माइतीमा र केही गोदावरीको घरमा 'एन्टिक पिस' जसरी सजिएका छन्। भर्खरै करियर सुरु भएसँगै अलिअलि कमाइले यस्ता घरायसी सामानहरु किन्दै थप्दै गरेको करिश्माले बिर्सेकी छैनन्।

'हामी महिलाहरु थोरै-थोरै पैसा जम्मा गरेर भए पनि लाइफस्टाइल सजिलो र आरामदायी बनाउने सामानहरु नै जोड्न चाहन्छौं नि होइन र? '

करिश्माको यो प्रश्न कुनै नायिकाको जस्तो थिएन, होम मेकरको लवजमा खुलिन् उनी।

तीन दशक अघि यसरी सामान भित्र्याएको सम्झिँदा नोस्टाल्जिक हुन्छिन् उनी। तर, उनै करिश्मा भारतीय ब्राण्डका होम अप्लायन्सेस कारोबारसँग जोडिएकी छिन्। झण्डै दुई वर्षदेखि नेपालमा भारतीय ब्राण्ड 'इन्टेक्स'का होम अप्लायन्सेस करिश्माले ऋषिक ट्रेडिङ कन्सर्नमार्फत बिक्रीवितरण गरिरहेकी छिन्।

इन्टेक्सका १ सय ८० भन्दा धेरै विद्युतीय उपकरण उनकै कम्पनीले नेपालभर फैलाउँदै आएको छ। इन्टेक्सको मोबाइल सेटबाहेक अन्य सबै सामाग्रीको नेपालभर वितरणको जिम्मा उनको कम्पनीले पाएको छ।

'बिजनेस सुरु गर्नासाथ कोभिड महामारी पनि सुरु भयो। यसले हामीलाई अलि पछि पार्‍यो। तर सधैं महामारी भनेर बसेर पनि भएन। अब फेरि हामी यसलाई एग्रेसिभ बिस्तारमा जान चाहिरहेका छौं,' करिश्माले भनिन्।

बजारमा सकारात्मक माहोल बन्ने अपेक्षा छ उनमा। दसैंलाई लक्षित गरी प्रडक्टहरु थपिँदैछन्। 'करिश्माले के ल्याएको छ त भनेर चासो राख्नेहरुको जमात ठूलो छ। यसले पक्कै पनि सबैलाई उत्साहित नै बनाउँछ,' उत्साहित सुनिइन् उनी।

फिल्म क्षेत्रको कारोबारबाट अरुतिर कसरी लागिन् त उनी?

'म सिनेमामा थिएँ। सिनेमा बनाउने व्यापार पनि गरेँ। अब भने अरु क्षेत्रमा पनि किन नजाने भनेर अन्य व्यावसायिक क्षेत्रमा हात हालेकी हुँ। छोरी र म अब व्यवसायिक क्षेत्रमा अघि बढ्दैछौं,' छोरी कवितालाई व्यापारमा प्रवेश गराउन उनले इन्टेक्ससँगको यस भेन्चरलाई अवसरका रुपमा लिएकी रहिछिन्।

+++

१२ करोड सुरुवाती पुँजीबाट सुरु भएको यो भेन्चर करिश्माको व्यवसायको दोस्रो खुड्किला हो। यसअघि गोदावरीमा नोबेल हस्पिटलमा लगानी गरेकी करिश्माले इन्टेक्समा हात हालिन्। गोदावरीमा उनको आफ्नै कृषि फार्म र नर्सरी पनि सञ्चालनमा छ। कोभिड महामारीले सिनेमा निर्माण खासै नभएकाले उनीहरुले गोदावरीस्थित आफ्नो सुटिङ स्पटलाई पनि नयाँ रूप दिन लागेका छन्। सुटिङ स्पट क्षेत्रलाई बुटिक होटल र रेष्टुरेन्टमा बदल्ने काम पनि भइरहेको छ।

'हामी त्यहाँ गार्डेन अफ ड्रिम्सकै झल्को दिने गरी बुटिक होटल बनाइरहेका छौं। ८/१० कोठाको बुटिक होटल बन्छ। रेष्टुरेन्टको निर्माण पनि भइरहेको छ। सम्भवतः एक वर्षपछि होटल र रेष्टुरेन्टको काम सकिन्छ,' करिश्माले जानकारी दिइन्।

अभिनय, सिनेमा निर्माण, पढाइका लागि फेरि स्कुल त्यसपछि डा. बाबुराम भट्टराईसँग जोडिएर केही समय राजनीति!

अब भने करिश्मा कर्पोरेट क्षेत्रमा छलाङ मार्नेगरी अघि बढेकी छन्। उनलाई मेकअप प्रोडक्ट ल्याउने रहर पनि छ। आफ्नै नामको ब्राण्डमा गुणस्तरीय प्रोडक्ट ल्याउन उनले चाहिरहेकी थिइन्। तर, कोभिड महामारीले त्यो योजनामा भने ब्रेक लाग्यो।

+++

खासमा करिश्मा र विनोदले छोरी कवितालाई अघि बढाउनका लागि नै कर्पोरेट क्षेत्रमा लगातार लगानी बढाइरहेका हुन्। कवितालाई सिने क्षेत्रमा खासै रुचि रहेनछ। त्यसैले अमेरिकामा हुर्केबढेकी कवितालाई नेपालको कर्पोरेट सेक्टरमा स्थापित गराउन पाए हुन्थ्यो भन्ने रहर करिश्मा र विनोद दुवैलाई रहेछ।

'इन्टेक्सको सबै व्यवस्थापन कवितालाई जिम्मा दिने योजना बनाएका छौं,' करिश्माका पति विनोद मानन्धरले यो भेन्चरमा छोरीलाई अघि बढाउने र आफूहरु पृष्ठभूमिमा बसेर काम गर्ने जानकारी दिए।

कुनै पनि क्षेत्रमा निरन्तर सिकाइले नै सफल बनाउँदै लैजाने करिश्मालाई विश्वास छ।

'हामी लगानीकर्ता त हो। तर, हामीले बिजनेसमा पैसा लगाउने मात्र होइन, पोलिसी र टेक्निक पनि सिक्दै जानुपर्छ,' उनले सुनाइन्।

करिश्मा यति धेरै क्षेत्रमा संलग्न छिन् कि उनको दैनिकीमा फुर्सद भन्ने शब्द भेटिन्न। ऊर्जाशील उमेर ढल्दै जाँदा झन् थप सक्रिय हुनुपर्छ भन्ने उनको मान्यता। सुटिङका केही सेड्युल तय छन्। सँगै १२ कक्षाको जाँच पटकपटक सरिरहेकाले पढाइको चिन्ता पनि। जाँचको रुटिन आयो भने सुटिङ सार्नुपर्छ है पनि भनिरहेकी छिन्।

२० जना कामदार खटिरहेको कृषि फार्ममा उस्तै चटारो छ। अहिले १५ वटा टनेलबाट दैनिक टमाटर बिक्री हुने गर्छ। पोखरीमा एक लट माछा साता दिनमै निकाल्ने तयारी छ। पोल्ट्री फार्ममा कुखुराहरु पनि हुर्किरहेका छन्। उनीहरुको आफ्नै नर्सरी पनि छ। १० रोपनी जग्गामा फैलिएको कृषि फार्मको महत्व लकडाउनका बेला अझ बुझेको करिश्मा बताउँछिन्। कृषिमा विशेष रुचि राख्ने उनी सरकारले कृषिमा दिइरहेको सहुलियत तल्लो वर्ग र महिलाहरुले लाभ लिन सक्ने गरी हुनुपर्छ भन्छिन्।

सौन्दर्य र अभिनयमा उम्दा मानिएकी करिश्मा सिनेमा निर्माणमा भने असफल भइन्। धेरै लगानी गरी बनाएको 'बाबु साहेब' फिल्म नराम्ररी असफल भयो। त्यही असफलताको रन्कोमा उनी अमेरिका पुगिन् र लामो समय उतै संघर्ष गरिन्। नेपाल फर्किएर फेरि सिनेमासँगै पढाईलाई अघि बढाएर फेरि उनले समाजमा सकारात्मक सन्देश दिइन्-'पढ्नलाई उमेरले छेक्दैन !'

राजनीतिमा लागेर धेरै सिक्नेबुझ्ने मौका पाएको बताउने उनले जीवनमा संघर्ष र सफलता/असफलताको राम्रै पाठ पढिसकेकी छन्।

त्यसैले पनि करिश्मालाई कर्पोरेट सेक्टरमा पनि स्थापित हुन सक्छु भन्ने आत्मविश्वास बढाएको रहेछ। उनी भन्छिन्, 'खासमा व्यापार भनेको बीऊ रोपेजस्तै हो। पानी हाल्दै मलजल गर्दै स्याहारिरहनु पर्छ। अनि पो फस्टाउँदै जाने त हो!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell