PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वामदेव बियोग : न रह्यो बाँस, न बज्यो बाँसुरी



प्रकाश भण्डारी

वामदेव बियोग : न रह्यो बाँस, न बज्यो बाँसुरी

काठमाडौं : शुक्रवार नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमलाई  हेर्ने दृष्टिकोण दुईथरी छ। पहिलो, उनी अस्थिर नेता हुन्। दोस्रो, उनका प्रशंसकले उनलाई एमालेको खम्बा र क्रान्तिको योद्धा भनेर सम्बोधन गर्छन्।

आखिर जे भए पनि छिटोछिटो बदलिने र त्यसैको पश्चाताप गर्ने नेता मध्येका एक हुन् गौतम। पछिल्लो समय तत्कालीन नेपाल कम्यनिस्ट पार्टी (नेकपा) हुँदै 'पार्टी एकता अभियान' र त्यसपछि नेकपा एमालेमा उनको भूमिका एकनासको छैन। कहिले नेतृत्वको चर्को आलोचना त कहिले त्यसैको बचाउ गर्दा उनी सधैं आलोचनाको पात्र बनिरहे।

नेकपा विवादका बेला सचिवालय बैठकमा चर्को आलोचना गरेर सबैभन्दा पहिला ओलीसँग प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा माग्ने नेता गौतम नै थिए। तर, ओलीले प्रधानमन्त्रीको कार्ड फ्याँकेपछि उनी त्यसबाट पछि हटे। अनि ओली विरोधी मोर्चाको साथमा रहेनन्। बरु उनले नेकपा एकता अभियान चलाएर आफूलाई तेस्रो शक्तिका रुपमा उभ्याउन खोजेका थिए। अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्र ब्युँताएपछि गौतमले फेरि एमाले मिलाउने प्रस्ताव अघि सारेका थिए। एमाले विभाजन हुनुअघि नेपाललाई पार्टी विभाजन गरेर नयाँ पार्टी बनाए आफ्नो साथ हुने घोषणा गरेका गौतमले विभाजनको बेला भने नेपाललाई साथ दिएनन्। यद्यपि, गौतमले शुक्रवार एमालेबाट राजीनामा गरेका छन् भने नेता नेपालको पार्टी नेकपा (एकीकृतमा समाजवादीमा)जाने संकेत गरेका छन्। तर, त्यसको घोषणा भने गरिसकेका छैनन्।

२०३५ मा कोअर्डिनेसन केन्द्र (कोके) हुँदै सुरुमा माले र त्यसपछि एमालेको राजनीतिमा होमिएका गौतलमे एमाले अध्यक्ष ओलीसँगको चार दशक लामो सम्बन्धनलाई टुंग्याएका छन्। २०५४ सालमा एमालेलाई विभाजन गरेर माले बनाएका गौतमले उक्त निर्णयप्रति पटकपटक पश्चाताप गर्ने गरेका थिए। महाकाली सन्धिका बारेमा एमालेमा विवाद उत्पन्न भएपछि त्यतिबेला गौतम सन्धिको विपक्षमा उभिएका थिए भने ओली सन्धिको पक्षमा।

यस हिसाबले ओली-गौतम सम्बन्ध एकनासको छैन। उनले शुक्रवार बुझाएको राजीनामा पत्रको अन्तिम लाइनमा पनि ओलीसँगको व्यक्तिगत सम्बन्ध नबग्रियोस् भन्ने इच्छा व्यक्त गरिएको छ।

एमाले विभाजन गरेर माले बनाएका गौतम मालेमै टिकिरहन सकेनन्। २०५६ मा भएको आम निर्वाचनमा गौतमको पार्टीले एक सिट पनि जित्न नसकेपछि उनी एमालेसँग एकीकृत हुन बाध्य भए। एमालेमा प्रवेश गरेका गौतम माओवादी जनयुद्धका बेलमा भने तत्कालीन नेकपा माओवादीसँग संवाद गर्ने नेता मध्येका एक हुन्। उनकै सक्रियतमा बेलाबेलामा प्रचण्डसँग गोप्य वार्ता गरेका थिए। तर, त्यतिबेला एमालेभित्रै उनले माओवादीमा प्रवेश गर्न खोजेको आरोप झेल्नु परेको थियो।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने 'सेतु'का रुपमा काम गरेका गौतम एमालेभित्र भने आलोचित भइरहे। पाँचौं महाधिवेशनमा तत्कालनी महासचिव मदन भण्डारीको पक्षमा रहेका गौतम ओलीसँग निकटको सम्बन्धमा रहे। त्योही सम्बन्ध छैटौं महाधिवेशनसम्म भने कायम रहेन।

महाधिवेशनमा प्रस्ताव पेश कसले गर्ने भन्नेमा विवाद भएपछि गौतमले ओलीको आलोचना गरे। ओलीले प्रस्ताव पेश गरे। केही वर्ष ओलीको आलोचक रहेका गौतम सातौँ महाधिवेशनमा भने ओलीकै क्यम्पमा पुगेका थिए। त्यतिबेला आफ्ना गुटका अरु नेताको असहयोगका बावजुद गौतमले ओलीलाई सघाएका थिए।

२०६५ मा भएको आठौं महाधिवेशनमा भने फेरि गौतम ओली समूहमा रहेनन्। उनले नेता झलनाथ खनाललाई सघाएपछि त्यतिबेला ओली-नेपालको समीकरण बनेको थियो। नवौं महाधिवेशनमा फेरि गौतमले ओलीलाई नै सघाएपछि लामो समयसम्म एमालेको नेतृत्वमा रहेका नेता नेपाल पराजित भएका थिए। त्यसयता पनि ओलीको प्रशंसा गरेर नथाक्ने गौतमले ओलीकै विश्वासपात्रका रुपमा नेकपा माओवादी केन्द्रसँग संवाद गरे। एमाले र माओवादी एकताका सुत्राधारको रुपमा गौतमलाई लिने गरिन्छ। तर, त्यो एकतामा खटपट देखिएपछि गौतम केही समय निराश देखिएका थिए।

जनमतका हिसाबले गौतम एमाले भित्र त्यति लोकप्रिय नेता होइनन्। २०४८, २०५१ र २०७० सालमा भएको चुनावमा जितेका भए पनि पछिल्ला चुनावहरुमा भने गौतमले पराजय भोग्नुपर्‍यो। उनले २०७४ सालमा बर्दियाबाट चुनावमा पराजय भोग्नुपरेपछि ओलीसँग रुष्ट भएका थिए। ओलीका मान्छेले चुनाव हराएको आरोप लगाएका गौतमले एमालेमा छानविनको माग गरेका थिए। २०५६ र २०६४ सालको चुनावमा पनि गौतम पराजित भए।

यता, नेकपा कालमा पनि दुईजना अध्यक्ष ओली र प्रचण्डसँग गौतमको सम्बन्धलाई लिएर चर्चा हुने गरेको थियो। कहिले प्रचण्डको नजिक त कहिले ओलीसँग 'डिनर मिटlङ' गरेर चर्चामा आइरहने गौतमले प्रचण्डको 'बम वार्ड द बालुवाटर' अर्थात् ओलीमाथिको आरोपपत्रमा साथ दिए पनि ओलीलाई पदबाट हटाउने प्रचण्डको प्रस्तावलाई इन्कार गरे। एमालेमा उनले अध्यक्ष ओलीसँग आफू एमालेमै रहने वाचा गरेर एकताका लागि जिम्मेवारी मागे पनि ओलीले अस्वीकार गरेपछि उनी ओलीसँग रुष्ट बने।

गौतमलाई अर्को लागिरहने आरोप हो - पदलोलुप। उनी चुनावमा पराजित भए पनि सांसद र प्रधानमन्त्री हुन खोजेको भन्दै पार्टी भित्र र बाहिर चर्को आलोचना खेप्नुपरेको थियो। नेकपामा गौतमलाई सांसद बनाउन ओली अनिच्छुक देखि पनि ओली इतरका नेताहरुले उनलाई सांसद बनाउन लविङ गरेका थिए। उपनिर्वाचन गराएर सांसद बनाउने कोसिस भए पनि चुनावमा जित पक्का नभएपछि उनलाई राष्ट्रियसभामा मनोनित गरिएको थियो। उनले राष्ट्रिय सभाको सांसद पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संशोधन गर्नुपर्ने भन्दै माग गरेपछि त्यसको पनि आलोचना भयो।

एमाले र नेकपामा हुँदा अस्थिर छवि बनाएका गौतम अब के गर्लान्? आम चासोको विषय हो। यसमा उनले आफ्ना धारणा सार्वजनिक गरेका छन्। उनले नेकपा (एस)मा जान केही शर्त अघि सारेका छन्। जबज माने नेकपा एसमा जान इच्छुक रहेको गौतमले खुलाइसकेका छन्। तर, उनले आफूसँग २ हजार नेता कार्यकर्ता रहेको र त्यसको व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। नेकपा एसमा उनलाई पदीय हैसियत कस्तो हुने भन्नेबारेमा पनि टुंगिनसकेको नेताहरुको भनाई छ। उनलाई उपाध्यक्ष बनाउने कि बरिष्ठ नेता भन्नेबारेमा समेत सहमति जुटिसकेको छैन।

एमालेमा महत्वपूर्ण जिम्मेवारी र शीर्ष नेतालाई अघि सारेर पदमा पुर्‍याउने भूमिका खेलेका नेता गौतमलाई कुनैबेला 'किङ मेकर'का रुपमा चिनिन्थ्यो। हाल निर्णायक भूमिकामा नरहे पनि गौतम जता लाग्छन् त्यतातिर एमाले र कम्युनिस्टको विरासत भारी हुने भने पक्का छ। यद्यपि, एमाले भित्रको टुटफुटमा कहिले कता त कहिले कता लागेका गौतमले अन्तत: एमाले नै परित्याग गरेपछि न उनले उठाएका मुद्दा किनारा लागे न उनी एमालेको नेता नै रहन सके। त्यसैले उनको हकमा नेपाली उखान 'न रह्यो बाँस न बज्यो बाँसुरी' चरितार्थ भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell