PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्लगरको डायरी : घातक भाइरसहरुको कथा



पहिलोपोस्ट

ब्लगरको डायरी : घातक भाइरसहरुको कथा

  • लिलाराज खतिवडा -

चौध वर्ष अगाडि २०६४ जेठ २८ मा एउटा कथा लेखेको थिएँ - ‘सिक्रेट अफ सम इन्टेलिजेण्ट भाइरसेस’। अर्थात्, केही मेधावी भाइरसको रहस्य! त्यसलाई मैले आफ्नो तत्कालीन ब्लग - ‘अवचेतन डट कम’मा प्रकाशित गरेको थिएँ। नेपाली मिडियाहरु यस्ता कुरा बुझ्दैन थिए। सामग्री प्रकाशनको त कुरै बेग्लै!

त्यतिबेला म भने ‘न्युजपेपर मनोटनी’बाट निस्किएर मनलाग्दी ब्लग लेख्थेँ, त्यो पनि अंग्रेजीमा। अंग्रेजी सिक्न नखोज्ने को होला र? तर, मैले सडकमा सिकेको हुँ, अंग्रेजी। स्कूल र कलेजमा के सिकियो अंग्रेजी, थाहा भएन!

त्यतिबेला नेपाली भाषामा कसले पढ्थे र ब्लग? पढे पनि नेपाली भाषामा ब्लग लेख्नेहरुलाई दिउँसै बत्ती बालेर खोज्नुपर्ने अवस्था थियो।

दुई वर्ष अगाडि चीनको बुहानबाट फैलिएर आज संसार कब्जा गर्न सफल ‘कोरोना भाइरस’ यो मेरो पुरानो ‘भाइरस कथा’ भन्दा निकै कान्छो हो। कोरोना आउनु अगाडि अरु कैयौँ भाइरसहरुले धर्तीमा उधूम मच्चाइसकेका मनग्ये उदाहरण भेटिन्छन्।

कथा सुरु यसरी भएको थियो : अल कायदाको आगामी योजना -

पहिलो कार्ययोजना अनुसार इन्टरनेटमार्फत् ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’ निम्न शक्तिशाली अमेरिकी संस्थाहरुमा पठाउने :

क) ह्वाइट हाउस

ख) सीआईए केन्द्रीय कार्यालय

ग) एफबीआइ हेडक्वाटर

जासुसी कार्यक्रमयुक्त उक्त ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’ अल कायदाको लागि काम गर्ने एक पश्चिमा वैज्ञानिकले निर्माण गरेका हुन्। ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’लाई संसारका कुनै पनि ‘एन्टिभाइरस’ वा उच्चकोटिको प्रविधिले पनि पत्ता लगाउन सक्दैन। अदृश्य हुनुका साथै यो अति नै अज्ञात रहन सक्छ। जहाँ पठाइएको हो, त्यहाँ चुपचाप बसेर यसले अनेक रहस्यमय र खतरनाक कार्य गर्दछ। जस्तो, यो भाइरसले पठाइएको कुनै पनि कम्प्युटरमा गुप्तरुपमा बसेर सूचनाहरु संग्रह गर्दछ र अल कायदालाई पठाउँछ। यो भाइरसले संसारका कुनै पनि दुई वा दुईभन्दा बढी कम्प्युटरहरुलाई अल कायदाका लागि नेटवर्क पनि गर्नसक्छ। जस्तै, यो भाइरस पठाइएको ह्वाइट हाउसका कम्प्युटर खुल्दा त्यहाँको तथ्यांक र सूचनाहरु अल कायदाले आफ्नो ‘मास्टर कम्प्युटर’मा हेर्न र हेरफेरसमेत गर्नसक्छ।

दोस्रो कार्ययोजना अनुसार ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’लाई विभिन्न अमेरिकी कार्यालयका कम्प्युटरमा पठाइसकेपछि विशेष तरिकाले ‘ऋणात्मक जाइरोसिन्ट्रमेनन’ नामक अर्को एउटा अति सुक्ष्म भाइरस पनि त्यहाँ पठाइने छ। पछिल्लो भाइरस गएर ‘ऋणात्मक न्यूरोबोलिक भाइरस’सँग मिलेर बस्दछ र बिल्कुलै नयाँ कार्य सम्पादनमा लाग्दछ। त्यसरी मिलेपछि अब यो ‘जाइरोन’ बन्दछ। ‘जाइरोन’ले चमत्कारिक रुपमा काम गर्दछ। जस्तो, कम्प्युटर चलाइरहेको व्यक्तिको आँखामा यसले फाल हालेर त्यहाँ डेरा जमाउन सक्छ। यो भाइरस आफैँमा शक्तिशाली क्यामेरा र माइक्रोफोन पनि हो।

उदाहरणका लागि, यदि यस भाइरसले जर्ज बुशलाई संक्रमण गर्‍यो भने, उनले देखेका र सुनेका कुराहरुलाई अल कायदाले टाढैबाट हेर्न, सुन्न र अभिलेख राख्नसमेत सक्छ। अर्कातिर अल कायदाका ‘मास्टर कम्प्युटर’ले टाढैबाट ‘जाइरोन’लाई आफ्नो इच्छा र योजना मुताविक नियन्त्रण गर्न सक्छ।

तेस्रो कार्ययोजना अनुसार, ‘जाइरोन’लाई अझै शक्तिशाली बनाएर काम गर्न थप एउटा सुक्ष्म पदार्थ पठाइने छ। जसको नाम हो, ‘यिनक्स २’ अर्थात् ‘वाई टू’। यो गएर ‘जाइरोन’सँग मिल्दछ। ‘जाइरोन’ जर्ज बुशको आँखाको नानीमा लुकेर बसेको अवस्थामा ‘वाई टू’ गएर त्यहाँ रासायनिक प्रतिक्रिया उत्पन्न गरिदिन्छ। अब यो बन्दछ, ‘जाइनक्स टू’। यो भाइरस निकै खतरनाक छ। आँखाको नानीबाट अब यो सिधै सम्बन्धित व्यक्तिको मष्तिस्कमा गएर बसिदिन्छ। अल कायदाको सुदुर ‘मास्टर कम्प्युटर’ले उक्त व्यक्तिलाई पूर्णतः नियन्त्रणमा लिन सफल हुन्छ। यस भाइरसले संक्रमित व्यक्तिका विचारहरु अल कायदाका लागि रेकर्ड गरेर वा प्रत्यक्ष रुपमा प्रसारण पनि गर्न सक्छ। साथै संक्रमितलाई अब यसले चाहेअनुसारको काममा पनि लगाउन सक्नेछ। अब व्यक्तिको ‘कस्मिक प्रोग्राम’लाई यसरी भाइरसका रुपमा पठाइएको कृत्रिम कार्यक्रमले थिच्छ। थिचेको थिच्यै पार्छ। यति सबका बावजुद संक्रमितलाई थाहै हुँदैन कि ऊ कसैको नियन्त्रणमा छ। टाढैबाट उसलाई विभिन्न आदेश दिएर जुनसुकै कार्य वा अपराध गराउन पनि सक्छ। यो बेग्लै कुरा हो कि यस्ता भाइरसको चपेटामा परेको व्यक्तिले ढिलोचाँडो आफू बाह्य नियन्त्रणमा रहेको थाहा पाउनसक्छ। तर, उसले उक्त कुरा बताउँदा कसैले पनि उसलाई विश्वास गर्ने छैनन्। बरु उसलाई पागल भन्ने छन्।

‘जाइनक्स टू’ले यसरी काम गर्दछ -

मानिलिउँ, यसलाई अमेरिकी राष्ट्रपति जर्ज बुशको दिमागमा पठाइएको छ। अब अल कायदाले उनलाई टाढैबाट केही आदेश दिन्छ। अल कायदाको ‘मास्टर कम्प्युटर’मा उनी देखिन्छन् र सुनिन्छन् पनि। राष्ट्रपतिलाई यसको कुनै खबर हुँदैन।

संक्रमणमा परेको अर्को दिन,

जर्ज बुश आफ्नी विदेशमन्त्री कोन्डोलिजा राइससँग विशेष वार्ता गरिरहेका छन्।

वार्ताको शीर्षक, अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रण।

बुशले अचानक नसोचेको कुरा बोले, ‘आज म राष्ट्रपति पदबाट राजीनामा दिँदैछु। सत्य बोल्दैछु। अब म अमेरिकाको राष्ट्रपति पदमा बसिरहन असमर्थ छु।’

सुनेर कोन्डोलिजाले आश्चर्यले नुहाउँदै सोधिन्, ‘केही समस्या? सर आज अचानक यो के भन्दै हुनुहुन्छ?’

‘म ठिक छु, बेबी! तर यो राजीनामा चाहिँ म अब दिइहाल्छु,’ बुशले सहजै भने।

‘राष्ट्रपति महोदय, तपाईँ यो के भन्दै हुनुहुन्छ?,’ कोन्डोलिजाको आश्चर्यको पारो घट्नुको साटो झन्झन् बढिरहेको थियो।

‘अब म त्यो गर्छु!’ बुशले भने र आफ्नो कम्प्युटरमा राजीनामा लेख्न थाले। लेखिसकेर उनले अविलम्ब राजीनामा पत्र प्रिन्ट पनि गरिहाले। कोन्डोलिजा ‘प्यारानोइया’ग्रस्त भए झैँ राष्ट्रपतिका अनौठा र अनपेक्षित हर्कतहरु नियालिरहकी थिइन्।

उनले आहत् हुँदै भनिन्, ‘तर सर ... हजुरलाई आज यो के भइरहेको छ? हामी त आज आतंकवाद नियन्त्रण विषयक जरुरी मिटिङका लागि भेला भएका हौं। राजीनामाको कुरा कहाँबाट आयो?’

‘कुन आतंकवाद? अल कायदाले जे गरिरहेको छ त्यो आतंक नभएर जीहाद हो! मलाई यो मन पर्छ। राजीनामा दिएर म ओशामा बिन लादेनसँग कार्यगत एकता गर्न जाने छु,’ बुशले ठाडै भने।

‘राष्ट्रपति महोदय ...!’ कोन्डोलिजा चिच्याइन्।

बुशले उस्तै दृढ आवाजमा भने, ‘अब म राष्ट्रपति कहाँ रहेँ र? म त अब एक खतरनाक जीहादी हुँ। ओ अल्लाह! तिम्रो शरणमा मलाई स्वीकार गरिदेऊ। तिमी महान छौ!’

‘लौ, अब सकिएन। यो अत्ति भो। राष्ट्रपति महोदय, चुप लाग्नुहोस् तपाईं! मलाई लाग्छ अचानक तपाईंलाई कुनै कडा खाले मानसिक रोगले आक्रमण गरिसकेको छ। म साइक्याट्रिक डाक्टर बोलाउँछु। कि कडा खाले गाँजा तान्नु'भो तपाईँले?’

बुशले अट्टहास गर्दै भने, ‘हाहाहा... अनि त्यो कडा मानसिक रोग सायद स्किजोफ्रेनिया होला होइन?’

‘यो जे पनि हुनसक्छ!,’ कोन्डोलिजाले भनिन्। तत्काल उनको निधारमा बिजुलीको करेन्ट लागे जस्तो भयो। उनलाई केही तनाव पनि भयो। साथै जोडसँग टाउको पनि दुख्यो। असह्य भएपछि उनले केहीबेर कसेर आँखा बन्द गरिन्। अनि आँखा खोल्दै उनी खित्का छाडेर हाँस्न थालिन्।

केहीबेरमा हाँसो रोक्दै उनले चिच्याउँदै बुश महोदयलाई भनिन्, ‘सलाम वालेकुम, जीहादी जर्ज बुश!’

कोन्डोलिजाको कुरा सुनेर जर्ज बुश मुस्कुराए र अनौठो आवाज झिकेर भने, ‘वालेकुम सलाम!’

कोन्डोलिजाले उसै गरी भनिन्, ‘अब म पनि विदेश मन्त्रीको पदबाट राजीनामा दिन्छु र तपाईंलाई जीहादमा सघाउने छु!’

बुशले उत्साहित भएर भने, ‘विस्मिल्लाह एहरमान नूररहिम लाइल्हाइल्लाह!’

कोन्डोलिजाले उनलाई साथ दिइन्।

हे भगवान! ‘जाइनक्स टू’ भाइरसले जर्ज बुशलाई झैँ उनलाई पनि संक्रमण गरिसकेछ।

समाप्त।

(लेखकको नोट : माथिको कथा एक आख्यान हो। वास्तविकतासँग यसको कुनै ताल्लुकात छैन। यदि यस्तो प्रकारको घटना भविष्यमा घट्न पुगे लेखक जिम्मेवार हुनेछैन!)

‌+++

खेतीको भात खाने धान बेचेर आफैँले निर्माण गरेको ‘अवचेतन डट कम’ केही वर्ष चलेपछि बन्द भयो। मसँग ‘डोमेन रिन्यू’ गर्ने बजेट थिएन। त्यतिबेला म मानसिक रोगको चपेटामा थिएँ र काठमाडौं शहरमा भोकभोकै थिएँ। मेरा लागि दुईवटा चुनौती टड्कारा थिए, एउटा रोगसँग लड्नु। अर्को, पेटको भोक शान्त पार्नु। म प्रायः पशुपति वा कुपण्डोलको गुरुद्वारातिर निःशुल्क भोजन बाँड्ने कतारमा खडा भेटिन्थेँ। धन्य, ती धार्मिक मनहरुलाई जसले भोकभोकै पर्दा मलाई खाना खुवाए।

वेबसाइट चलाउन कतैबाट कुनै सहयोग थिएन। वेबसाइट चलाउन? यहाँ त भात खान कसैले सहयोग गरेनन्। यस्ता कथा लेख्ने मलाई मान्छेहरुले पागल भन्थे। अरुका कुरा नबुझेपछि त्यसलाई पागल भनेर पन्छिनु कस्तो मजा! अनि पागललाई यहाँ कसले दिने काम? सत्य भन्नुपर्दा क्षमता अनुसार यहाँ मैले अहिलेसम्म कुनै काम पाएको छैन। पत्रकारिता गरेको तीन दशक बित्दा पनि मैले यहाँ उचित काम वा काम गर्ने प्लेटफार्म पाएको छैन। र, मेरो आशा अझै मरिसकेको छैन। मृत्युपश्चात त मैले यहाँ आफ्नो क्षमता अनुसारको काम अवश्य पाउने छु!

निश्चय नै आफूले काम गरेका अखबारहरुले त्यतिबेला यस्ता सामग्री प्रकाशन गर्दैन थिए। अखबारहरु घिसेपिटे सामग्रीहरु हालेर पाठक र मुलुक ठग्नै ब्यस्त देखिन्थे। हाम्रा अखबारहरुमा आविस्कार होइन भ्रष्टाचार र अकर्मण्यता ब्याप्त हुन थालेकै निकै वर्ष बितिसके। अहिले त म यहाँ दिउँसै लाल्टिन बालेर हिँडिरहेको छु।

धन्न इन्टरनेट आयो, र म जस्ता ‘स्किजोफ्रेनिक’ लेखकले यहाँ आत्महत्या गरेनन्। इन्टरनेट आएपछि दबिएका कतिपय कुण्ठाहरु पनि पग्लिए। अनि अहिलेसम्म जेनतेन बाँचिएकै छ।

मेरा असामान्य सामग्री अखबारले नछापेर के भयो त? प्रविधिको सहयोगले यस्ता असामान्य सामग्रीहरु इन्टरनेटमा ‘अर्काइभ’ हुन सके। त्यसैले त वेबसाइट बन्द भएको चौध वर्ष बितिसक्दा पनि यो सामग्री ‘अर्काइभ डट ओआरजी’मा सुरक्षित भएर बसिरहेको छ। कति कथा र आविस्कार त नष्ट भएरै गए। किनभने, मसँग ‘पर्सनल कम्प्युटर’ थिएन। म ‘साइबर क्याफे’ घुसेर आफ्ना काम निब्ट्याउँने गर्दथेँ।

र, मैले ‘साइबर क्याफे’बाट संसार कब्जा गर्ने भाइरसको कथा लेखेको चौध वर्षपछि आज दुनियाँ ‘कोविड १९’ नामक एक भाइरसले तहसनहस हुनपुगेको छ। दुनियाँ झन् भन्दा झन् बर्बाद भइरहेको छ। अनि दुनियाँ पहिले जस्तो सामान्य अवस्थामा फर्किन पनि मानिरहेको छैन।

छ त?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell