PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

८ जना पूर्व प्रधानसेनापति दिल्ली जाँदै, नेपाली सेनाले भन्यो : सैनिक कूटनीति सुदृढ गर्ने अवसर



रासस

८ जना पूर्व प्रधानसेनापति दिल्ली जाँदै, नेपाली सेनाले भन्यो : सैनिक कूटनीति सुदृढ गर्ने अवसर

काठमाडौं : नेपाली सेनाले ८ जना पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबिचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रुपमा लिनुपर्ने बताएको छ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरकारुपमा कार्यक्रममा सहभागी हुन निमन्त्रणा प्राप्त भएको बताएका हुन्।

'नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिकारुपमा भाग लिइ अवलोकन गर्नुभएको थियो। यो विगतको अभ्यास र परम्परा रही आएको छ। त्यसकै निरन्तरताकारुपमा उहाँहरुको निम्तालाई लिन सकिन्छ' उनले भने।

भारतीय सेनाका मानार्थ महारथी समेत रहेका पूर्व प्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट चिफ कन्क्लेभ सेमिनारका लागि निमन्त्रणा प्राप्त भएको उनले बताए। प्रवक्ता पौडेलले पूर्व प्रधानसेनापतिहरु व्यक्तिगतरुपमा कार्यक्रममा सहभागी हुनु समेत बताए। 

पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वल शम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको हो।

उनीहरुलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ। उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकता अनुसार सल्लाह सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell