विराटनगर : नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमार झाँक्रीले एक नम्बर प्रदेश र वाग्मती प्रदेशका मुख्य मन्त्री आफ्नो पार्टीमा आए विश्वासको मत दिएर पद बचाइदिने बताएकी छिन्।
शनिवार बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता झाँक्रीले आफ्नो पार्टीमा नआए विश्वासको मत नदिने प्रष्टयाइन्।
'हाम्रो पार्टीमा आउनु भएन भने त्यसपछि उहाँहरुले विश्वासको मत लिनुपर्ने हुन्छ। उहाँहरुको सरकार अल्पमतमा हुन्छ। त्यसकारण त्यो प्रकृयाबाट नै नयाँ बाटो सुरु हुन्छ। त्यसैले उहाँहरुलाई हामीले विश्वासको मत दिने कुरै आउँदैन,' उनले भनिन्।
त्यस्तै, पार्टी दर्ताको क्रममा छोडेर गएका केही मानिसलाई 'स्वार्थी'को संज्ञा दिँदै उनले उनीहरुलाई देखेर नयाँ पार्टी दर्ता नगरेको समेत दाबी गरेकी छिन्। माधव नेपालको नयाँ पार्टी दर्ता हुँदा सुरुमा ओली बिरुद्धको आन्दोलनमा साथ दिएका भीम रावल, धनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतले माधव नेपालको साथ छोडेर केपी शर्मा ओलीलाई साथ दिएका थिए।
नेपाल समूहले नयाँ दल दर्ता गरेपछि दल छनोटको समय भदौ २२ सम्म तोकिएको छ। यही अवधिमा सांसददेखि स्थानीय तहका पदधिकारीले दल छनोट गर्नुपर्ने हुन्छ।
