PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक्लै हिँडिरहेकी अफगानी महिलालाई तालिवानी लडाकुको प्रश्न : तिमी महरम बिना किन यात्रा गरिरहेकी छौ?



पहिलोपोस्ट

एक्लै हिँडिरहेकी अफगानी महिलालाई तालिवानी लडाकुको प्रश्न : तिमी महरम बिना किन यात्रा गरिरहेकी छौ?
Photo : Getty Images

तालिवानले अफगानिस्तानमा केही दिनमा नै नयाँ सरकार घोषणा हुने बताएको छ। अफगानिस्तान कब्जा गरेको लामो अवधि भइसक्दा पनि तालिवानले अफगानिस्तानको सत्ता संचालनको खाका ल्याउन सकेको छैन। न त देशभर कस्तो कानुन लागू गर्ने भन्नेबारेमा नै तालिवान स्पष्ट छ।

तालिवान भन्दैछ : इस्लामिक कानुन अन्तर्गत देश चल्छ। तर, इस्लामिक कानुन कस्तो हुन्छ भन्ने बारेमा अफगानीहरु अन्यौलमा छन् र त्रासमा पनि।

तालिवानले अब बन्ने सरकारमा महिलाको पनि सहभागिता हुने दाबी गरेको छ। तर, कसरी महिला सहभागी गराइन्छ भन्ने बारेमा तालिवानले स्पष्ट पारेको छैन। सन् २००१ अघिकै शैलीमा इस्लामिक कानुन लगाउँदै तालिवानले महिलाको स्वतन्त्रता खोस्ने त होइन भन्ने प्रश्न पनि उब्जेको छ। तर, तालिवानले भने महिलाहरुले अधिकार पाउने दाबी गर्दै आएका छन्।

तर, तालिवानको उक्त दाबी र 'ग्राउन्ड रिपोर्ट' फरक छ।

अफगानिस्तानको सडकमा एक्लै हिँडिरहेकी महिलालाई तालिवानी लडाकूले रोक्ने गरेका छन्।

'तिमी आफ्नो महरम बिना किन यात्रा गरिरहेकी छौं?' भन्ने प्रश्न एक्लै हिँडिरहेकी महिलाले सामना गर्नुपरेको छ। यी प्रश्न बिच तालिवानी दाबीलाई स्वीकार गर्न नसक्ने अफगानी महिलाहरुले बताउँदै आएका छन्।

केही महिलाले भने तालिवानविरुद्ध विद्रोह समेत गरेका छन्। काबुलका सडकमा निस्किएर उनीहरुले प्रदर्शन गरेका छन्। समान अधिकार र राजनीतिमा पूर्ण सहभागिताको माग गर्दै शुक्रवार उनीहरुले प्रदर्शन गरेका हुन्। त्यस क्रममा तालिवानी लडाकु र महिला बिच भनाभन समेत भएको थियो।

तालिवानले महिलालाई सरकारमा सहभागी गराइने र पूर्ण अधिकार दिने बताए पनि अहिले भने महिलालाई घरभित्रै सीमित हुन भनिएको छ। नयाँ सरकार गठनपछि बन्ने कानुन अनुसार महिलाले अधिकार पाउने तालिवानले बताउँदै आएको छ।

तालिवानको कानुन कुर्नुभन्दा अहिले युवा महिलाहरु समूह बनाएर सडकमा निस्किएका छन्। काबुलमात्रै होइन अन्य प्रान्तमा समेत महिलाहरु एकजुट भएका छन्। उनीहरु अधिकार माग्दै मार्चपास गरिरहेका छन्।

'हामी ९० को दशकका महिला होइनौं। हामी हाम्रो अधिकार लिएर छाड्छौं,' एक महिलाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell