PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मानसरोबरबाट फर्केपछि सदगुरुको टिप्स : राजनीतिले विकास हुँदैन, व्यवसाय बढे हुन्छ

मानसरोबरबाट फर्केपछि सदगुरुको टिप्स : राजनीतिले विकास हुँदैन, व्यवसाय बढे हुन्छ

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कैलाश मानसरोबर भ्रमणका क्रममा नेपाल आएका सदगुरु जग्गी वासुदेवले नेपालसँग धेरै सम्भावना रहेको बताएका छन्। पर्यटन, सांस्कृतिक र धार्मिक क्षेत्रमा रहेका सम्भावनाको संरक्षण गर्न नसके आउने पुस्ताले धेरे समस्या झेल्नुपर्ने उनले बताए।

मानसरोवरबाट फर्किएपछि आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सदगुरुले आफ्नो यात्रा निकै सफल रहेको सुनाए। साथै, उनले नेपालका विभिन्न क्षेत्रको भ्रमण गरेको भन्दै 'एड्भेन्चर टुरिजम' बाहेक अन्य धेरै क्षेत्रमा नेपालले प्रगति गर्न सक्ने बताए। उनले ट्रेकिङ रुटदेखि हिल स्टेशनहरुको सम्भावना धेरै रहेको बताउँदै सांस्कृतिक मानव निर्मित सम्पदाको संरक्षण गर्नुपर्नेमा पनि जोड दिए। प्रकृति र संस्कृतिलाई केन्द्रित गरेर अघि बढ्न सके नेपालको भविष्‍य उज्जवल हुने उनको सुझाव थियो।

'माउन्टेनहरु एस्सेट हो। बिग मार्केट हिल स्टेशन हो। सिमकोटबाट लिली भ्याली स्वीटजरल्याण्ड अफ एसिया हुन्छ। त्यहाँको संस्कृतिक प्राकृतिक सौन्दर्य संरक्षण हुनुपर्छ। सबै राष्ट्रलाई औद्योगिक राष्ट्र हुनु पर्दैन। ७० प्रतिशत नेपालको अर्थतन्त्र नेपालमा छ। त्यसो भए नेपालको विकास हुन्छ,' उनले भने।

भक्तपुर जस्तो शहर विश्वमा कहीँ नभएको भन्दै उनले काठमाडौंको परिवर्तित स्वरुपले आफूलाई चिन्तित बनाएको गुनासो गरे।

'काठमाडौं एउट छुट्टै संसार हो। धेरै भारतीय काठमाडौं आउन चाहन्छन्। तर, अहिले काठमाडौं सुकुम्बासी बस्तीजस्तै भएको छ। मानिसको जनघनत्व बढेको छ। काठमाडौं बाहिर सिटी बनाउनपर्छ। योजना बनाएर संरक्षण गरेर विकास गर्नुपर्छ,' उनले भने।

आधुनिकीकरण र शहरीकरणका कारण भारतमा धेरै संस्कृति र सम्पदा हराउँदै गएको उल्लेख गर्दै उनले नेपालमा ती सम्पदाहरु अझै जिवित रहेकोमा खुशी व्यक्त गरे।

'भारतमा हराउँदै गएको संस्कृति नेपालमा प्रिजर्भ भइरहेको छ। भारतमा हामीले धेरै सम्पदाहरु ध्वस्त बनायौं। तर, यहाँ अझै यी सम्पदाहरु छन्। यिनीहरुको संरक्षण गर्नुपर्छ,' उनले भने।

उनले नेपाल अध्यात्मिक रुपमा महत्वपूर्ण रहेको भन्दै अब साहसिक पर्यटनसँगै धार्मिक पर्यटनको पनि विकास गर्नुपर्ने सुझाव दिए। उनले सगरमाथाबाहेक पनि नेपालसँग अरु धेरै हिमाल रहेको स्मरण गराए।

'हिमालमा हिँड्यो भने तिमीलाई आफू केही होइन जस्तो लाग्छ। तिमीले आफूलाई भुल्नेछौ र आफूलाई अरु प्राणी जस्तो अनुभूति हुन्छ,' उनले भने, 'तर, यहाँ हिमाल भनेको सगरमाथा भन्ने मात्रै छ। त्यस्तो होइन। सगरमाथा सबैले चढ्न सक्दैनन्। १२ वटा हिमाल छन् जुन सबैले चढ्न सक्छन्। हिमाल भनेको सगरमाथामात्रै होइन भनेर हामीले बुझाउनु पर्छ। माउन्टेनेरिङ प्रशिक्षण दिए पर्यटनको विकास हुन्छ।'

सदगुरुले राजनीति र विकास फरक पाटो रहेको बताए। त्यसैले व्यापार बढेमात्रै विकासका ढोका खुल्ने उनको मत थियो।

'राजनीतिले देशको विकास हुँदैन। व्यापार बढे विकास हुन्छ। मानिसहरुले रोजगार पाउँछन्। व्यापार एकैदिन हुन सक्दैन। राजनीतिमा एउटा सहमति एकैदिनमा साइन गरेर हुन्छ,' विकास र राजनीतिको तुलना गरे।

नेपाल र भारतबिच धेरै विवाद र असहमति भए पनि दुई देश बिच व्यापार भने कहिलै बन्द हुन नहुनेमा उनको जोड थियो।

'दुई देश बिचको सम्बन्ध बिग्रिए पनि व्यापारलाई मार्न हुँदैन। नत्र सबैलाई गाह्रो हुन्छ। भारत र नेपाल बिच असहमति भए पनि सीमा विवाद भए पनि व्यापारलाई ध्वस्त गर्न हुँदैन। सीमाबारे असन्तुष्टि भए छलफल गर्न सकिन्छ। व्यापार ध्वस्त भए फेरि सुरु गर्न गाह्रो छ,' उनले भने।



ट्रेन्डिङ पोस्ट

Ncell