PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

विरामी भनिएका ओलीको हट्टाकट्टा शैली : आए माधव समूहविरुद्ध भाषण गरे र फर्किए यसरी

विरामी भनिएका ओलीको हट्टाकट्टा शैली : आए माधव समूहविरुद्ध भाषण गरे र फर्किए यसरी

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सामान्य समस्या आएको खबर शनिवार बिहानैदेखि सार्वजनिक भयो। उनका प्रेस संयोजक रामशरण बजगाइलाई उद्धृत गर्दै सञ्चो नभएको संदेश प्रवाह भयो। थकाइका कारण समस्या भएकाले केही दिन घरमा नै आराम गरेर बस्ने र भेटघाट समेत नगर्ने जानकारी गराइयो।

तर, दिउँसो काठमाडौंको राष्ट्रिय सभामा नेकपा एमालेले राखेको महानगरस्तरीय बृहत कार्यकर्ता भेलामा उनी आउने भनिएको थियो। प्रमुख अतिथि रहेका ओली विरामी भएकाले आउने या नआउने कुनै टुङ्गो थिएन।

तर, कार्यक्रम सुरु भएको केही समयपछि ओली कार्यक्रमस्थलमा देखा परे। पुगेलगत्तै उनले सभालाई सम्बोधन पनि गरिहाले, अलमल धेरै गरेनन्। अतिथिलाई सम्बोधन गरेपछि उनले सुरुमै आफ्नो स्वास्थ्यको जानकारी गराए। उनले अलिक बढी काम भएर थकाइ लागेको तथा केही जोराम्स भएको सुनाए। 

'कतिसम्म बिरामी भएको भन्ने कुरा तस्बिर आफैँ बोल्छ भने जस्तो बोलोस् भनेर सहभागी भएको,' अध्यक्ष ओलीले कार्यक्रममा आउनुको कारण सुनाए। अध्यक्ष ओलीको शैलीमा भने विरामीको असर देखिएको थिएन। अस्वस्थ भएको भनिए पनि उनी पोडिएममा पुगेर भाषण गरे।

भाषण सबैभन्दा धेरै पार्टीबाट अलगिएका माधव नेपाल केन्द्रित नै थियो। चर्को स्वरमा माधव नेपालको चर्को बिरोध गरे। त्यसपछि उनले भाषण टुङ्ग्याएका थिए। भाषण सक्नुअघि फेरि एकपटक आफ्नै स्वास्थ्यको बारेमा चर्चा गरे। थकान भएकाले आराम गर्नुपर्ने सुनाए।

'म अलिक धेरै नै थकित भएर ज्वरै आउने अवस्थामा पुगेँ। त्यसकारण अलिक मैले एक दुई दिन थकाइ मार्नुपर्छ भन्ने डाक्टरको सल्लाह छ। त्यसकारण म यहाँहरुसँग बिदा लिन्छु। अहिले लाइ चाहिँ थकाइ मार्न हिँडे,'  अध्यक्ष ‌ओलीले भने।

त्यसपछि उनी भाषण सकेर सिधैं निस्किए। सुरुमै सञ्चो नभएको र अन्तिममा पनि सञ्चो नभएको बताउँदै भाषण टुङ्ग्याएका ओली देख्दा भने तन्दुरुस्त थिए। 



ट्रेन्डिङ पोस्ट

Ncell