PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

चोभारमा बनेको सुक्खा बन्दरगाह सञ्चालनका लागि भयो तयार, भन्सारमा लामो लाइन लाग्नु पर्ने समस्या हट्दै

चोभारमा बनेको सुक्खा बन्दरगाह सञ्चालनका लागि भयो तयार, भन्सारमा लामो लाइन लाग्नु पर्ने समस्या हट्दै

सरला सुवेदी/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको चोभारमा निर्माण भएको आधुनिक सुक्खा बन्दरगाह सञ्चालनको तयारीमा छ। २०७५ साल माघ ३ मा शिलान्यास भएको बन्दरगाह करिब साढे दुई वर्षमा निर्माण सम्पन्न भएको हो।

करिब एक अर्ब ६० करोड रुपैयाँ लगानीको बन्दरगाह निर्माणको ठेक्का आशिष-जोइन्ट भेन्चर कम्पनीले पाएको थियो। चोभारस्थित हिमाल सिमेन्टको नाममा रहेको एक हजार ८० रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो।

सुक्खा बन्दरगाह निर्माण पूरा भएर सञ्चालन हुन बाँकी रहेको नेपाल इन्टरमोडल यतायात विकास समितिका सीईओ आशिष गजुरेलले बताए।

‘मुख्य मुख्य संरचनाहरु तयार भएको छ। उद्योग वाणिज्य, भन्सार इन्टरमोडेलले प्रक्रिया मिलाएर चाँडै नै बन्दरगाह सञ्चालनमा आउने छ,’ उनले भने।

१८ महिनामा बनाउने सम्झौता गरेपनि कोभिडका कारण समय लम्बिएको हो। कोभिडले १४ महिना बढी समय लागेको थियो। पछि विभिन्न समस्या भएपनि कोभिडको समयमा पनि निर्माण कार्यलाई निरन्तरता दिएकोले ७ महिनामा काम सम्पन्न भएको उनको भनाइ छ।

उक्त बन्दरगाहमा ४१ रोपनीमा भवन तथा गोदामहरु बनाइएको छ। ५ सय कन्टेनर र ५ सय सावरी साधन क्षमताको पार्किङ निर्माण गरिएको छ। सवारी साधनका लागि तीन वटा गेट बनाइएको छ।

क्वारेन्टाइन गोदाम ३ वटा, प्रशासनिक भवन ३ वटा, सवारी साधन चेक गर्ने ३ वटा संरचना निर्माण भएको समितिले जनाएको छ। बन्दरगाहमा आन्तरिक र बाह्य सामान तथा कन्टेनरको लागि ठाउँ छुट्याइएको छ।

बन्दरगाहमा आएका सवारी साधनबाट सर्वसाधारण तथा त्यस वरपरका समुदायलाई कुनै पनि बाधा नहुने गरी बनाएको बताइएको छ। बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यात थप सहज हुने भएको छ।

वीरगंज, भैरहवा, विराटनगर, तातोपानी, रसुवा भन्सार हुँदै आउने सवारीसाधन सिधै चोभार आएर जाचँपास गर्न सक्ने भएका छन्। अबका दिनमा मालवाहक सवारी साधनले भन्सारमा सानो प्रकिया गरेर सिधै चोभारमा आएरमात्र जाचँपास गर्न सक्ने व्यवस्था रहेको छ।

भन्सारमा लामो समयसम्म लाइन लाएर बस्नु पर्ने समस्या हट्ने छ। समयको बचतसँगै कष्ट पनि कम हुने समितिले जनाएको छ।

बन्दरगाहमा सातै प्रदेशबाट वस्तु संकलन गरी निर्यात गर्ने सकिन्छ। आयात गर्दा पनि व्यवसायीहरुले सहज रुपमा आफूलाई पायक पर्ने गरी भन्सार प्रयोग गर्न सक्छन्।

मालवाहक सवारीसाधन सुख्खा बन्दरगाहसम्म आउँदा हुनसक्ने हानी नोक्सानी र चुहावट कम गर्न त्यसैअनुरुपमा काम गर्ने भएको छ। समितिका अनुसार आधुनिक सुक्खा बन्दरगाह फास्ट ट्रयाकको लागि लक्षित गरिएको छ।

यसले व्यापार सहजिकरण, व्यापार घाटा न्युनिकरण र निर्यात सहज हुने भएको छ भने दुरी कम भएर चाँडै सामान हात पर्ने अवस्था बन्नेछ। काठमाडौं-तराइ फास्ट ट्रयाक बनेपछि ४ देखि ५ घण्टामा बस्तुहरु सुख्खा बन्दरगाहमा आइपुग्ने सीईओ गजुरेलले बताए।

समितिले करिडोरहरुमा पनि १० हजार वटा बिरुवा रोप्ने भएको छ। आधुनिक हरियालीमय सुख्खा बन्दरगाह बनाइने छ। यतिबेला करिडोरहरुमा बिरुवा रोप्ने कामहरु शुरु भइसकेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell