PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कांग्रेसको वडा सभापतिमा निर्वाचित १९ वर्षीया स्वस्तिका भन्छिन्, ‘पार्टीलाई उत्कृष्ठ बनाउनेतर्फ मेरो ध्यान जान्छ’



पी बी खड्का

कांग्रेसको वडा सभापतिमा निर्वाचित १९ वर्षीया स्वस्तिका भन्छिन्, ‘पार्टीलाई उत्कृष्ठ बनाउनेतर्फ मेरो ध्यान जान्छ’

सुर्खेत : नेपाली राजनीतिको मूल पार्टीका रुपमा रहेको नेपाली कांग्रेसको १४ औँ महाधिवेशन जारी छ। पहिलो चरणमा भएको वडा तहको अधिवेशनमा युवाहरुको आकर्षण बढ्दो छ। जसको परिणाम स्वरुप पछिल्लो युवा पुस्ता नेतृत्व हाँक्ने तहमा पुगेका छन्।

नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा वडाको नेतृत्व हाँक्ने भएकी छिन् दैलेखकी १९ वर्षीया स्वस्तिका महतले। दुल्लु नगरपालिका-३ को वडा सभापतिमा निर्वाचित बन्न पुगेकी छन् उनी।

उक्त वडामा एक सय ३३ क्रियाशिल सदस्य छन्। उनै क्रियाशिल सदस्यमध्येबाट नेतृत्वमा स्वस्तिका पुगेकी छन्। केही महिनाअघि मात्रै १९ वर्ष पार गरेकी महतका बुवा भूपेन्द्रजंग महत पनि जिल्ला उपसभापति थिए। तर, दुई वर्षअघि २०७६ कात्तिकमा उनका बुवाको निधन भयो। यसरी राजनीतिक परिवेशमा हुर्केकी स्वस्तिकालाई अहिले वडा सभापतिमा निर्विरोध चयन गरिएको छ।

‘सानैबाट राजनीतिक परिवेशमा हुर्केको म खास राजनीतिक के हो? र कस्तो हुन्छ भन्ने कुरा विगत दुई वर्ष यता राम्रोसँग बझ्न पाएँ’, स्वस्तिका भन्छिन्, ‘म भन्दा अगाडि देखि राजनीतिक क्षेत्रमा लागेका व्यक्तित्वहरु पनि हुनुन्थ्यो, तर उहाँहरुले मलाई नै सभापतिमा चयन गर्नुभएको छ। उहाँहरुले मलाई जुन विश्वास गरेर दिएको जिम्मेवारी छ, त्यो विश्वास र आशा नमर्ने गरी काम गर्ने प्रण गर्छु।’

स्वास्थ्यकर्मी बन्ने सपना बोकेकी स्वस्तिका अहिले राजनीतिमा होमिदा पनि सन्तुष्ट रहेको बताउँछिन्। यद्यपी, आफ्नो पढाईलाई भने निरन्तरता दिने उनले बताइन्।

‘मेरो सानैदेखिको इच्छा स्वास्थ्यकर्मी बनेर समाज सेवागर्ने थियो’, उनले भनिन्, ‘अहिले राजनीतिमा आउँदा पनि यो समाज सेवा नै हो भनेर बुझेको छु, त्यसैले खुशी नै छु।’

बुवाले पनि राजनीतिक क्षेत्रबाटै समाज सेवा गर्दा जीवन समर्पण गरेको भन्दै बुवाको लक्ष्य र सोचलाई मर्न नदिने उनको अठोट छ। अब देशमा परिवर्तनको संवाहक नै युवा पुस्ता भएको उनी बताउँछिन्। आफ्नो कार्यकालमा पार्टीलाई सफल बनाउने मात्रै नभएर उत्कृष्ठ बनाउनेतर्फ आफू लागि पर्ने उनले बताइन्।

‘अब परिवर्तन भनेको युवाहरुबाटै सम्भव छ’, उनी भन्छिन्, ‘मेरो कार्यकालमा पार्टी र संगठन चलाउने मात्रै होइन उत्कृष्ठ बनाउनेतर्फ मेरो ध्यान जान्छ।’

अब हुने स्थानीय तहको निर्वाचनलाई समेत पार्टी पंक्तिबाट अब्बल सावित गराउने उनको अठोट छ। उनको नेतृत्वमा अधिकांश युवाहरु समेटिएका छन्। उपसभापति, सचिवलगायतका पदमा युवाहरु नै छन्।

स्वस्तिकाका बुवाले पार्टीमा गरेको योगदान र लगावको विडो थाम्नका लागि पनि स्वस्तिकालाई नेतृत्व दिएको स्थानीय नेताहरु बताउँछन्। पार्टी र संगठन बलियो बनाउन सक्षम नेतृत्व आवश्यक भएकाले त्यो क्षमता उनीमा रहेको दुल्लुका कांग्रेस नेता घनश्याम भण्डारी बताउँछन्।

‘उमेरले भर्खरको भएपनि उनमा नेतृत्व गर्न सक्ने कला र सक्षमता भरोसा योग्य नै छ’, उनले भने, ‘जुन उनको बुवाको पार्टीप्रतिको योगदान, लगाव हो, त्यो भन्दा कम उनीमा देखिदैन।’

त्यस्तै, यसै महाधिवेशनमा सोही नगरपालिकाको ५ नम्बर वडाको सभापतिमा पनि युवा निर्वाचित भएका छन्। विद्यार्थी जीवनबाटै राजनीतिमा प्रवेश गरेका सरोज रिजाल सभापति बनेका हुन्।

त्यसैगरी, सुदूरपश्चिमको अछाममा पनि २२ वर्षीया जानकी रावल (भण्डारी) नेतृत्वमा पुगेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका-११ को सभापतिमा उनी निर्वाचित भएकी हुन्।

यि त चलिरहेको कांग्रेसको १४ औँ महाधिवेशनमा नेतृत्वमा पुगेका युवा पुस्ताहरु हुन्। देशव्यापी युवालाई प्लेटफर्म दिनुपर्ने अर्थात नेतृत्व पुस्तान्तरण गर्नुपर्ने विषय जोडदार उठिरहेकै बेला युवाहरु नै कांग्रेसको नेतृत्वमा आउँदा छुट्टै रौनकता छाएको छ। र, चौतर्फी चर्चा पनि भइरहेको छ।

युवा पुस्ताहरु नेतृत्व तहमा पुग्दा नेपाली समाजमा आशा र भरोसाको दियो बालेको मात्रै छैन, बुढो भएर सेतै फुल्ने बेला अर्थात विश्राम लिने बेलासम्म पार्टी नेतृत्व नछोड्ने कांग्रेस नेताहरुमाझ ठूलो चुनौति खडा गरेको छ।

१४ औँ महाधिवेशनमा युवाहरुको आगमनले नेपाली कांग्रेस, बालबालिका, युवा र वृद्धवृद्धाको पार्टी भन्ने सकारात्मक सन्देश दिएको नेता भण्डारीको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell