PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चार किलो सुन सहजै छिरेपछि काठमाडौं विमानस्थलको सुरक्षामा प्रश्न



सविन ढकाल

चार किलो सुन सहजै छिरेपछि काठमाडौं विमानस्थलको सुरक्षामा प्रश्न

काठमाडौं : झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खाती शुक्रवार दिउँसो २ बजेतिर श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगे।

नेपालगन्ज विमानस्थलबाट बाहिरिएपछि मात्रै उनीहरू प्रहरीको शंकाको घेरामा परे। प्रहरीले उनीहरूलाई तत्काल नै नियन्त्रणमा लियो र चेक गर्‍यो। शरीर पूरै खानतलासी गर्‍यो प्रहरीले। शरीरको अन्य भागमा केही भेटिएन तर उनीहरूले लगाएको जुत्तामा भने प्रहरीले सुन फेला पार्‍यो।

विश्वकर्माको दुवै खुट्टामा लगाएको जुत्ताबाट दुई/दुई वटा सुनको बिस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा दुई वटा सुनको बिस्कुट बरामद भयो। यी सबैको तौल तीन किलो ९ सय ९४ ग्राम थियो। त्यस्तै, बाँकी सुन बुद्धिमानले बोकेको झोलाबाट सुनका गहना सहित गरेर चार किलो २१ ग्राम बरामद भयो।

आन्तरिक विमानस्थलमा चेकिङ स्थल। फाइल फोटो


उनीहरूले सुन आफ्नो भएको दावी गरे। किनेर ल्याएको भन्दै बिल समेत देखाए। उनीहरूको दाबी अनुसार सुन अवैध थिएन। तर, प्रहरीले त्यसलाई वैद्य पनि मानेन। आफ्नै सुन भए जुत्तामा लुकाएर किन ल्याउँथे? उनीहरूको आर्थिक अवस्था चार किलो सुन किन्ने थियो? सबै कुराको अनुसन्धान गरेर प्रहरीले त्यो सुन अवैध तरिकाबाट आएको ठहर गर्‍यो। शुक्रवार नै पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक पनि गरियो।

सबैभन्दा धेरै सुरक्षित मानिने विमानस्थल हुँदै उनीहरूले सुन काठमाडौँबाट नेपालगन्ज पुर्‍याएका थिए। विदेशबाट सुन ल्याउँदा ठूलो परिमाणमा सुन बरामद भएका छन् भने धेरै जना समातिएका छन्। विमानस्थलभन्दा पनि विमानस्थलबाट बाहिरिएपछि ठूलो परिमाणको सुन समातिएका छन्।

सुन तस्करहरूले विमानस्थल प्रयोग गरेर धेरैजसो दुबईबाट सुन ल्याउने गरेको भेटिएको छ। तर, शुक्रवारको घटनाले सुन तस्करीको माध्यम आन्तरिक उडान मार्फत् पनि हुने गरेको देखायो। बाँकेमा पुगेको सुन अवैध भए उनीहरूले किन तस्करीका लागि हवाई मार्ग रोजे? के त्रिभुवन विमानस्थलको सुरक्षा कमजोर आँकेका हुन्? यदि विमानस्थलको सुरक्षा प्रणाली भरपर्दो भए किन काठमाडौंको विमानस्थलमा नै उनीहरू समातिएनन्?

प्रस्थान कक्ष। फाइल फोटो


विदेशबाट आएको धेरै सुन नेपाल हुँदै भारत पुग्ने गरेको छ। विदेशबाट अवैध रुपमा सुन ल्याएर नेपाल र भारतमा बेच्दा किलोमा लाखौं फाइदा हुने भएकाले तस्कर समूहले नेपाललाई ट्रान्जिट बनाउने गरेका छन्।

उनीहरूको साथबाट प्रहरीले सुनका तीन वटा रसिद समेत बरामद गरेको छ। काठमाडौंको बत्तीस पुतलीमा रहेको ज्वेलरीबाट सुन किनेको बिल प्रहरीले अनुसन्धानका लागि लिएको हो। उनीहरूले सुरुमा आफ्नै सुन भएको बयान दिएका थिए। तर, पछि आफू भरिया भएको बयान दिएबाटै 'दालमे कुछ काला है' भने झै भएको छ। उनीहरू सुनको कालिगडको रूपमा काम गर्दै आएको खुलेको छ।

'उनीहरूले सुन विमानस्थल हुँदै ल्याएका थिए। कहाँ लैजाने र कसलाई दिने भन्ने अहिलेसम्म खुलेको छैन,' जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले भने।

अहिले राजश्व अनुसन्धान कार्यालयले यसको अनुसन्धान अगाडि बढाइसकेको छ।

बाँकेको नेपालगन्ज हुँदै भारतसम्म सुन तस्करी हुनेसक्ने देखिएको छ। उत्तर प्रदेशसँग जोडिएको बाँकेबाट लखनउको दुरी २ सय किलोमिटरभन्दा कम छ भने दिल्ली ७ सय किलोमिटर हाराहारीमा। भारतका विभिन्न शहरमा सहजै रुपौडिया हुँदै तस्करी हुनसक्छ।

काठमाडौंको अन्तरिक विमानस्थलबाट ४ किलो सुन बाहिरिएपछि प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ। विमानस्थलबाट कसरी सुन बाहिरियो? कहाँकहाँ सुरक्षा कमजोरी भयो? लुप होलहरू कहाँकहाँ छन्? भनेर अनुसन्धान सुरु भएको हो।

आन्तरिक टर्मिनल। फाइल फोटो


विमानस्थल प्रहरीले एसपी नान्तिराज गुरुङको नेतृत्वमा चार जनाको छानबिन समिति गठन गरेको छ।

'अनुसन्धान सुरु भइसकेको छ। विमानस्थल कसरी सुन बाहिरियो। यसमा कसैको संलग्नता वा के कमजोरी छ भन्ने विषयमा अनुसन्धान हुन्छ,' विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेश बास्तोलाले भने।

सुन व्यवसायीहरूले बैंकबाट सुन किन्ने गर्छन्। नेपाल सरकारले दैनिक २० किलो सुन बिक्री गर्न बैकलाई अनुमति दिएको छ। त्यसभन्दा बढीमात्र दैनिक सुन बिक्री गर्न पाइँदैन। तर, नेपाली बजारमा दैनिक २० किलो भन्दा बढी सुनको माग छ। बाँकी सुनको माग अबैधरुपमा आउने सुनले नै धान्ने गरेको जानकारहरू बताउँछन्। विदेशबाट नै नेपालमा धेरै परिमाणको सुन आउने गरेको छ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यका अनुसार नेपालमा सुनको आपूर्ति र मागको सन्तुलन छैन। उनको भनाईलाई नै आधार मान्ने हो भने माग पूर्तिको आधार तस्करी नै हो। 

सुनचाँदीको कारोबार गर्ने एउटा व्यवसायिक फर्मले एक दिनमा १ किलोसम्म सुन किन्न सक्छ। तर, सानोस्तरमा सञ्चालन भएका ज्वेलरीले यति परिमाणको सुन कारोबार गर्न सक्दैनन्। 

'विभिन्न व्यापारीहरु मिलेर एक केजीसम्म सुन लैजानुहुन्छ। कसैले ५ सय ग्रामसम्म सुन लैजाने गरेको देखिन्छ,' शाक्यले भने। 
२० केजी सुन तीनवटा संघआवद्ध व्यवसायीले किन्ने गर्छन्। सुन चाँदी व्यवसायी संघ जसले कूल आयातमध्ये ५० प्रतिशत काठमाडौं उपत्यकाका लागि मात्रै लिने गर्छ। बाँकी ५० प्रतिशत भने हस्तकला महासंघ र नेपाल रत्न तथा आभुषण संघले लिने गर्छन्।  

यसरी हुन्छ चेक। फाइल फोटो


त्यसो भए शुक्रवार बरामद भएको सुन विदेशबाट आएर नेपालगन्जसम्म पुगेको हो त? त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख लक्ष्मी निरौला बरामद गरिएको सुन शुक्रवार विदेशबाट बाहिरिएको सुनको अंश नभएको दाबी गर्छन्।

'यसमा हामीले पनि बुझेका छौँ। यो सुन विदेशबाट आएको होइन। विमानस्थलको कमजोर सेक्युरिटीका कारण काठमाडौँबाट नेपालगन्ज पुगेको हो,' सहसचिव निरौलाले भने।

पछिल्लो समय धेरै परिमाणमा विदेशबाट अवैध सुन नआएको प्रमुख निरौलाको दाबी छ। पक्राउ परेका सुन तस्करीहरूका अनुसार सानो परिमाणमा विदेशबाट सुन ल्याउनेमात्र रहेका छन्। सरकारले वैदेशिक रोजगारीमा गएकाहरूलाई ५० ग्रामसम्म सुन ल्याउन अनुमति दिएको छ। तर, सुन तस्करहरूले सरकारको यो नीतिलाई प्रयोग गर्दै विदेशमा गएका युवालाई भरिया बनाएर सुन बोकाएर नेपालमा पठाउने गरेका छन्। यसरी सुन कलेक्सन गर्ने गिरोह सधैं नै सक्रिय छ।

'विदेशबाट यसरी सानो परिमाणमा आउने सुन रोक्न अहिलेको कानुनले सक्दैन। यो कानुन संशोधन गर्नुपर्छ। पछिल्लो समय सानो-सानो सुनको परिमाण कलेक्सन गर्ने गिरोह चाहिँ बढेको देखिन्छ,' सहसचिव निरौलाले भने।

नेपाल प्रहरीले प्रत्येक वर्ष २० करोड रुपैयाँ भन्दा बढीको अवैध सुन बरामद गर्ने गरेको छ। प्रत्येक वर्ष प्रहरीले बरामद गर्ने सुनको परिणाम बढ्दै गएको छ। गएको आर्थिक वर्षमा प्रहरीले बरामद गर्ने सुनबाट सङ्कलन हुने राजस्व ३३ प्रतिशतले बढेको थियो। आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १५ लाख ९१ हजार ६८० रुपैयाँ बराबरको राजस्व अवैध सुनबाट सङ्कलन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell