काठमाडौं : भारतले नेपालको भूमिमा हस्तक्षेप गरेको भन्दै विभिन्न विद्यार्थी संगठनदेखि नागरिकसस्तरमा समेत बिरोध जारी छ।
त्यसैको असर हो, हरेक दिनजसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भइरहेको छ। यसै घटनालाई लिएर गृह मन्त्रालयले भने आपत्ति जनाएको छ। आइतवार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, 'सरकार सबै मित्र राष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिबद्ध छ। मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ।'
भारतीय सीमा सुरक्षा बलका सैनिकले दार्चुलामा तुइन फुस्काउँदा ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएका छन्। सरकारले गठन गरेको छानविन समितिले घटना हुँदा भारतीय सुरक्षाकर्मीको उपस्थित देखिएको भन्दै अनुसन्धान र कारबाही गर्न सुझाव दिएको थियो। समितिको सुझाव अनुसार गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई कारबाही अगाडि बढाउन पत्रचार समेत गरिसकेको छ। गृह मन्त्रालयले छिमेकी राष्ट्रसँग कुटनीतिक माध्यमबाट पहल गरिरहेको जनाएको छ।
'मित्र राष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको विदितै छ। भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिनेछ,' गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
