PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

नेकपा (एकीकृत समाजवादी)मा यी नेताले पाए संगठनको महत्वपूर्ण जिम्मेवारी



पहिलोपोस्ट

नेकपा (एकीकृत समाजवादी)मा यी नेताले पाए संगठनको महत्वपूर्ण जिम्मेवारी

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले पार्टीका गतिविधि अगाडि बढाउन नेताहरुलाई जिम्मेवारी बाँडफाड गरेको छ। शनिवार बसेको स्थायी कमिटीको बैठकले प्रदेश इञ्चार्जदेखि विभिन्न फाटहरुमा नेताहरुलाई जिम्मेवारी दिएको नेता जीवनराम श्रेष्ठले जानकारी दिए। राष्ट्रिय कार्यकर्ता भेलाबाट नेतृत्व चयन गरिने भए पनि तत्कालका लागि संगठनात्मक गतिविधि अघि बढाउन जिम्मेवारी तोकिएको हो।

क-कसले पाए प्रदेश ईञ्चार्ज?

प्रदेश नम्बर एकको ईञ्चार्जको जिम्मेवारी घनेन्द्र बस्नेतले पाएका छन्। प्रदेश नम्बर दुईको ईञ्चार्ज धर्मराज साह तोकिँदा वाग्मतीमा केदार न्यौपानेले इञ्चार्जको जिम्मेवारी पाएको नेकपा (एस)ले जारी गरेको अन्तर पार्टी निर्देशिका (अपानि)मा उल्लेख छ। यस्तै गण्डकीमा केशवलाल श्रेष्ठ र लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वालाले  इञ्चार्जको जिम्मेवारी पाएका छन्। सुदूर पश्चिम प्रदेशमा भने तत्कालका लागि कोही पनि इञ्चार्ज तोकिएको छैन। सम्पर्क प्रदेशमा विजय गुरुङ र विशेष प्रदेशमा विश्वनाथ प्याकुरेलले जिम्मेवारी पाएका छन्

केन्द्रीय सचिवालय गठन

मोर्चा संगठनको प्रमुखमा डा. विजय पौडेललाई जिम्मेवारी तोकिएको छ भने प्रचार विभाग प्रमुखको जिम्मेवारी जगन्नाथ खतिवडालाई दिइएको छ।

वेदुराम भुसालको संयोजकत्वमा सचिवालय गठन गरिएको नेता श्रेष्ठले जानकारी दिए। पार्टीका गतिविधि सञ्चालनमा सहजिकरण गर्नका लागि भुसालको संयोजनमा केन्द्रीय सचिवालय गठन गरिएको हो। प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जीवनराम श्रेष्ठ, विजय पौडेल र जयन्ती राई सचिवालय सदस्य छन्।

स्थायी कमिटीमा पुरानैलाई निरन्तरता

नेकपा (एस) को स्थायी कमिटीमा भने नेकपा एमालेमा स्थायी कमिटी सदस्य रहेका र हाल एमाले परित्याग गरेका नेताहरुलाई निरन्तरता दिएको छ। स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल र वेदुराम भुसाल छन्।

संसद फाट हेर्ने जिम्मेवारी विरोध खतिवडा, जीवनराम श्रेष्ठ र कल्याणी खड्कालाई दिइएको छ।

निर्वाचन आयोग फाटतर्फ राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री र विजय पौडेल तोकिएको नेकपा (एस)ले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell