PahiloPost

May 15, 2024 | २ जेठ २०८१

कांग्रेस महाधिवेशन : मकवानपुरका १०२ वडामै अधिवेशन हुँदै



पहिलोपोस्ट

कांग्रेस महाधिवेशन : मकवानपुरका १०२ वडामै अधिवेशन हुँदै

हेटौंडा : नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मकवानपुरमा आज वडा अधिवेशन हुँदैछ। मकवानपुरको १०२ वटै वडाहरुमा वडा अधिवेशन भइरहेको हो। वडा अधिवेशनले आगामी कार्यकालका लागि वडा सभापतिसहित वडा कार्य समिति चयन गर्नेछ भने महाधिवेशनको लागि क्षेत्रीय (बुथ)प्रतिनिधि चयन गर्नेछ।

कांग्रेस केन्द्रीय कार्यसमितिले घोषणा गरेको कार्यतालिका अनुसार यसअघि १८ गते शुक्रबारको लागि वडा अधिवेशन तोकिएको थियो। तर, आन्तरिक तयारी बाँकी रहेको भन्दै मकवानपुरमा १८ गतेका लागि तोकिएको वडा अधिवेशन २० गतेका लागि सारिएको थियो।

वडा अधिवेशनको लागि १०२ जना निर्वाचन अधिकृतका लागि शुक्रवार अनुशिक्षण कार्यक्रम आयोजना गरिएको थियो। निर्वाचन अधिकृतहरु आआफ्नो कार्य क्षेत्रमा खटिइसकेका छन्।

मकवानपुरको लागि जिल्ला निर्वाचन अधिकृतको रुपमा केन्द्रले गोपी शर्मा सुवेदीलाई खटाएको छ। कांग्रेसको पालिका, क्षेत्र, जिल्ला र प्रदेशको नेतृत्व गर्न चाहने नेताहरुले आफू बसोबास गर्दै आएको वडाबाटै प्रतिनिधि चयन हुनुपर्ने व्यवस्था रहेको छ।

पालिका सभापतिदेखि माथिल्लो तहको कुनैपनि पदमा रहेर काम गर्न चाहने कांग्रेस नेतालाई सोही बुथ प्रतिनिधिले मतदान गर्नेछन्। प्रत्येक वडाबाट कम्तीमा १६ जना बुथ प्रतिनिधि निर्वाचित हुनेछन्। वडामा रहेको क्रियाशील सदस्यको आधारमा प्रतिनिधि थप हुनसक्ने कांग्रेसको विधानमा उल्लेख छ। प्रत्येक वडाबाट खुला, महिला, दलित, जनजाति, खसआर्य, मधेशी लगायतका क्षेत्रको प्रतिनिधित्व गर्दै प्रतिनिधि निर्वाचित हुनेछन्।

‘कांग्रेसको १४ औं महाधिवेशनको कार्यक्रम मकवानपुरमा आइतबारबाट औपचारिक रुपमा सुरु भएको छ। जिल्लाको १०२ वटै वडामा अधिवेशन हुँदैछ’, कांग्रेस मकवानपुर सभापति र्ईन्द्रबहादुर बानियाँले भने, ‘आ–आफ्नो वडामा पुगेर अधिवेशनमा सहभागी हुनका लागि म कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्यहरुलाई अनुरोध गर्न चाहन्छु। सकेसम्म सहमति, सहकार्य र एकतालाई आत्मसाथ गर्दै कांग्रेस र सम्बन्धित वडाको विकासमा लागिपर्ने नेतालाई कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नुहुन अनुरोध गर्दछु।’

भाद्र १८ देखि २३ गतेभित्र वडा अधिवेशन सम्पन्न गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन बमोजिम मकवानपुरमा वडा अधिवेशन हुन लागेको हो। महाधिवेशनको लागि पूर्वघोषित कार्यतालिका बमोजिम भदौ २७ गते गाउँ तथा नगरपालिकाको अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ५ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, १० गते एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन तथा कार्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुने कार्यतालिका रहेको छ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell