PahiloPost

Jan 18, 2025 | ५ माघ २०८१

नेपालगंजमा यो वर्ष पनि रामलीला मञ्चन नहुने



रासस

नेपालगंजमा यो वर्ष पनि रामलीला मञ्चन नहुने
File Photo : The Print

नेपालगंज : नेपालगंजको रामलीला मैदानमा प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ। विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगंजको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी संक्रमणका कारण स्थगन गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस महामारीको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको रामलीला मञ्चन नगर्ने निर्णय गरिएको हो। गत वर्ष १५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो।

नेपालगंजको रामलीला मञ्चन यस वर्ष १५४औँ वर्षमा प्रवेश गर्दैछ। ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतिकात्मकरूपमा भने केही कार्यक्रम गरिने तयारी गरिएको छ। शनिबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के–कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्नेबारे निक्र्योल गर्न उपसमितिसमेत निर्माण गरेको छ।

रामलीला संचालन गर्न नसकिए पनि मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शनलगायतका कार्यक्रम गर्नेबारेमा छलफल गरिएको अध्यक्ष कनौडियाले जानकारी दिए।

नेपालगंज उपमहानगरपालिका-९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउने गरिन्छ।

रामलीलामा भारतको वृन्दावनबाट आएका र नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए। यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगंजलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाको भनाइ छ। रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो।

सन् १९२५ देखि नेपालगंजको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबिच लोकप्रिय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell