PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

तीन महिनामा पनि अझै बनेन तातोपानी नाकाको लिपिङ पुल,जोखिम मोलेरै सामान ओसार्दै



सरला सुवेदी

तीन महिनामा पनि अझै बनेन तातोपानी नाकाको लिपिङ पुल,जोखिम मोलेरै सामान ओसार्दै

काठमाडौः बाढीले भत्काएको तीन महिनासम्म लिपिङ पुल नबन्दा तातोपानी नाका ठप्प भएको छ। गत असार १ गते बाढीले क्षति पुर्याएको पुल लामो समयसम्म नबन्दा व्यवसायीहरु निराश भएका छन्। चिनियाँ वस्तु छोटो समयमा आयात गर्न लागि प्रयोग हुँदै आएको उत्तरी नाका तातोपानी अलपत्र भएर बसेको छ ।

अन्तराष्ट्रिय नाका भएपनि तीन महिनासम्म नबन्दा अत्याश्यक बस्तुहरु भन्सारमा ल्याउन समस्या भएको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख नारद गौतमले बताए।

पछिल्लो समय पुलका कारण स्वास्थ्य सामाग्री मेशिनरीहरु क्रेनको सहायताले वारी ल्याउने गरेको छ। बिहीबार मात्रै बैतडीका लागि ल्याइएको अक्सिजन प्लान्ट पारी रोकिएपछि क्रेनबाट तानेर भन्सारमा ल्याइएको उनले जानकारी दिए। कामदारहरुले जोखिम मोलेर भत्केको पुलबाट सामान बोक्ने गरेका छन्।

पुल मर्मत सुरु भएपनि विभिन्न कारणले गर्दा बन्न सकेको छैन । 'अबको एक सातामा पुल बन्ने अनुमान गरेका छौं' उनले भने।

यति बेला नाका बन्द हुँदा व्यवसायीहरु दुखी बनेका छन् । ठूला चाडपर्व सुरु भएपनि समयमै सामान आयात नहुने भएपछि निराश भएक हुन्। चाडपर्वको समयमा एकै व्यवसायीले ठूलो परिमाणमा सामान आयात गर्दै आएका छन्। तर केही समययता तातोपानी नाका ठप्पै भएको छ।

'अतिआवश्यक सामान बोकेर ल्याइन्छ । जोखिम मोलेर कति दिनसम्म काम गर्ने?'- भन्सार प्रमुख गौतमले भने -'अहिले चीनतर्फबाट सामान आएको छैन । पहिले दैनिक ५ देखि १० वटा कन्टेनर भन्सारमा भित्रिन्थे । अहिले सबै रोकियो। चालु बर्ष सुरु भएपछि मुस्किलले १० कन्टेनर सामान पनि भन्सारमा आएको छैन।'

पुलका कारण  चालु आर्थिक बर्षमा भन्सारको राजस्व पनि ठप्प जस्तै छ। गत बर्ष पनि नाका संचालनमा समस्या हुदा सोचेजस्तो राजस्व संकलन भएन । अहिले पुल भत्किएर कन्टेनर नआउँदा कति होला भन्ने अनुमान छैन।

सामान्य समयमा यति बेला भन्सारमा धेरै कन्टेनर हुन्थे। व्यवसायीहरुले चाडपर्वको दुई महिना अघिदेखिनै सामान आयात गर्थे। हाल व्यवसायीले अर्डर गरेर चिनियाँले सामान पठाएपनि पुल नबनेकोले बाटोमा अलपत्र हुन्छ।

पहिलेको केही कन्टेनर पुल पारीनै छ। यसले गर्दा पनि व्यवसायीहरुले तातोपानी नाका हुँदै सामान ल्याउन कम गरेका हुन्। लामो समयदेखि पुल नबन्दा तातोपानीबाट आयात हुने सामानहरु केरुङ नाकाबाट आइरहेका छन्। केरुङनाकामा पनि दैनिक रुपमा आउने कन्टेनरको सङ्ख्या बढ्न सकेको छैन ।अहिले पनि दैनिक ५ देखि ७ वटा कन्टेनरमात्र केरुङबाट पास हुने गरेका छन्।

केरुङबाट सामान आएपनि रसुवाबाट उपत्यका जाने बाटोहरु पहिरोले बिग्रेपछि सामान पठाउन नसकिएको रसुवा भन्सारले जनाएको छ। एक नाकामात्र खुल्दा सवारी साधनको चाप बढ्छ । चाँडै बिग्रने किसिमका सामाग्ररी तथा स्वास्थ्य सामाग्रीलाई पहिलो प्राथमिकता दिइन्छ । यसले गर्दा पनि मेशिनरी, लत्ताकपडा लगायतका सामानहरुको पालो पछि मात्र आउने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell