PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

खुले सिनेमा हल : तर छैन फिल्म अनि पुगेनन् दर्शक

खुले सिनेमा हल : तर छैन फिल्म अनि पुगेनन् दर्शक

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : बैशाखदेखि बन्द रहेका सिनेमा हलहरु अहिले खुलेका छन्। तर, न हलमा फिल्म देखाइएको छ न त दर्शक नै हलसम्म पुग्ने गरेका छन्। कारण – हल संचालन गर्न नयाँ सिनेमा नै छैन।

पुराना सिनेमा दोहोर्‍याएर देखाएर मात्रै दर्शक नआउने कुरा गत वर्ष लकडाउनपछि हलहरु खोल्दा प्रस्ट भइसकेको छ। त्यसैले हल संचालन गर्न अनुमति दिइएपनि नयाँ फिल्म नआउँदासम्म हल दर्शकका लागि खुल्ने देखिँदैन।  

प्रशासनले स्वास्थ्य मनपदण्ड पालना गराउँदै ५० प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न अनुमति दिएको छ। तर फिल्म हल दर्शकका लागि कहिले खुल्छ त्यो यकिन हुन सकेको छैन।

हलहरुमा निषेधाज्ञा हटेपनि अहिले पनि संक्रमणको अवस्था कायम रहेकोले तत्काल नयाँ फिल्महरु प्रदर्शन नहुने सरोकारवालाहरु बताउँछन्।

बानेश्वरस्थित वान सिनेमाका अप्रेटर म्यानेजर सन्तबहादुर तामाङ आफूहरु हल खोल्न तयार अवस्थामा रहेपनि फिल्म नै नभएका कारण हल संचालन गर्न नसकिएको बताउँछन्।

'हामी तयार छौं। फिल्म भए हामी हल संचालन गर्न तयारी अवस्थामा छौं। तर फिल्म नै छैन। डिस्ट्रिब्युटरहरुले नयाँ फिल्म दिइरहेका छैनन्। जब फिल्म आउँछ तब हल चल्‍छ' तामाङले भने।

यता, क्युएफएक्सका सीइओ रोशन अडिगाले पनि तत्काल नै फिल्म हल खोल्न नसकिने बताउँछन्। हल खोल्नलाई फिल्म चाहिने र फिल्म नपाएसम्म हल नखोल्ने उनको तर्क छ। क्युज सिनेमाका सञ्चालक सुमित मैनाली पनि अहिले नयाँ नेपाली फिल्म हलहरुमा प्रदर्शन हुने सम्भावना नरहेको बताउँछन्।

अहिले हलहरु दैनिक खुल्न त खुल्छन्, तर सफा गर्न, मेन्टेनेन्सको काम गर्न। संक्रमणको जोखिम अझै रहेको अवस्थामा दर्शक पनि फिल्म हलसम्म पुराना र स्टकमा रहेका फिल्म हेर्नै पुग्ने देखिँदैन। यही अवस्थामा हल खोल्दा खर्च बढ्ने संचालकको तर्क छ।

हलहरु खुलेपनि फिल्म निर्माताहरुले नयाँ फिल्महरु देखाउन मानिरहेका छैनन्। डेढ वर्षअघि नै रिलिज मिति तय भइसकेका 'म यस्तो गीत गाउँछु २', 'निरफूल', 'लक्का जवान' लगायतका फिल्महरु अझै होल्डमा छन्। अहिले हलहरु संचालनमा आउने सुरुवातकै समयमा यी फिल्महरु लाग्ने सम्भावना देखिँदैन।



ट्रेन्डिङ पोस्ट

Ncell