PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई सरकार टिकाउन र ठूलो दल बन्न एक जना सांसद अपुग : १२ जना एमालेमै, १३ जनाले छोडे



एम बम

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई सरकार टिकाउन र ठूलो दल बन्न एक जना सांसद अपुग : १२ जना एमालेमै, १३ जनाले छोडे

कैलाली : सुदूरपश्चिम प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लाग्ने सांसदको संख्या १३ पुगेको छ। मंगलवार १० र आइतवार ३ गरी १३ सांसदले उक्त दलमा सनाखत गरेका छन्।

आइतवार भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी, पूर्व राज्यमन्त्री प्रकाश रावल र सांसद तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय धनगढी पुगेर नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेसँगै उक्त दलमा १३ सांसद पुगेका हुन्।

यसअघि, गत मंगलवार आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद, प्रमुख सचेतक दुर्गा कुमारी कामी, प्रदेश सांसद कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपाल नेतृत्वको नयाँ पार्टीको पक्षमा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए।

आइतवार सनाखत गर्न निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेका सांसद तथा एमालेको सुदूरपश्चिम संसदीय दलका पूर्व सचेतक तारा लामा तामाङले थप एक दुई जना सांसदले नेकपा एसको पक्षमा सनाखत गर्ने दाबी गरे।

एमालेमा सुदूरपश्चिमका २५ सांसद थिए। त्यसमध्ये विगतमा सभामुखसहित १८ सांसद माधव नेपालको पक्षमा थिए। तर, अहिले भीम रावलले नेपालको साथ छोडेपछि १३ जनाले रावलको साथ छोडेर नेपाललाई रोजेका छन्।

थप सांसद पनि आउने र एकीकृत समाजवादी सुदूरपश्चिममा ठूलो दल बन्ने उक्त दलका सांसदले दाबी गर्दै आएका छन्। आइतवार नै निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर नवगठित दलको पक्षमा सनाखत गरेका सांसद तथा मन्त्री दीर्घ सोडारीले सुदूरपश्चिममा आफूहरूले रोजेको दल सबैभन्दा ठूलो बन्ने दाबी गरे।

सुदूरपश्चिममा ठूलो दल बन्न नेकपा (एकीकृत समाजवादी)लाई अब एक सांसदको मात्रै आवश्यकता छ। सुरुवातमा ५३ सदस्यीय प्रदेश सभामा एमालेका २५ पछि नेकपा (माओवादी केन्द्र)का १४ सांसद, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ सांसद थिए।

नेकपालाई पूर्ववत् अवस्थामै फर्काइएपछि माओवादी छोडेर एमाले रोजेका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्रीको सांसद पद गुमेपछि प्रदेश सभामा ५२ सांसद छन्। एमाले छोडेर १३ जनाले नवगठित एकीकृत समाजवादी रोज्दा अब एमालेसँग सभामुखसहित १२ सांसद मात्रै रहेका छन्।

एकीकृत समाजवादीले थप एक सांसदलाई ल्याउन नसकेको खण्डमा अब सुदूरपश्चिममा सबैभन्दा ठुलो दल १३ सांसद रहेको माओवादी केन्द्र बन्ने छ। नेकपा एसमा सांसद नथपिएको खण्डमा सुदूरपश्चिमका मुख्यमन्त्री समेत अल्पमतमा पर्नेछन्।

सरकार बन्न प्रदेशमा २७ सांसद आवश्यक पर्नेमा एकीकृत समाजवादी र माओवादीका लगाएर २६ सांसद मात्रै पुग्ने छन्। २२ गतेसम्म दल रोज्ने समय रहेकाले सांसद थपिने एकीकृत समाजवादीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell