PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यस्तो देखियो भारतविरुद्ध नेपालको खेल

यस्तो देखियो भारतविरुद्ध नेपालको खेल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : भारतीय फुटबल टोलीसँग आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भयो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भारतले नेपाललाई २-१ गोलले पराजित गर्‍यो।

पहिलो हाफमा नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्‍यो। नेपालले तीन वटा राम्रा अवसरहरुको सदुपयोग गर्न नसक्दा पहिलो हाफमा गोल गर्न सकेन। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफको शुरु मै विशाल राईले राम्रो अवसर पाएर पनि पोस्टमा प्रहार गर्न सकेनन्। पहिलो हाफमा भन्दा दोस्रो हाफमा नेपाल धेरै आक्रामक देखिएको थियो। यद्दपि, दोस्रो हाफमा भारतले गोल गर्न सफल भयो र खेलमा अग्रता लियो। खेलको ६२ औँ मिनेटमा फारुख चौधरीले भारतका लागि गोल गरे।

७५ औँ मिनेटमा भारतीय मुख्य प्रशिक्षक इगोर स्टिमाकले पहेँलो कार्ड पाएका थिए। ८० औँ मिनेटमा अनिरुद्र थापाले चलाखीपुर्ण बल निकाले र भारतीय टोलीका कप्तान सुनिल छेत्रीले किपर किरण चेम्जोङसँग वान भर्सेस वानको अवस्थामा गोल गर्दै अग्रता दोब्बर बनाए।

खेलको ८६ औँ मिनेटमा तेज तामाङले नेपालका लागि गोल गरे पनि त्यो जितका लागि पर्याप्त रहेन। नेपालले जित निकाल्न नसकेपनि राम्रो खेल प्रदर्शन गरेर दर्शकहरुको मन जित्न सफल भयो। आजको खेलमा गोलकिपर विशाल श्रेष्ठको डेब्यू गरे।

भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले नेपालसँगको पहिलो खेलभन्दा दोस्रो खेल राम्रो भएको प्रतिकृया दिए।

‘फुटबलको राम्रो खेल भयो। दोस्रो खेल पहिलो खेल भन्दा राम्रो भयो। मेरा खेलाडीहरु अघिल्लो खेलमा भन्दा बढी प्यासेन्स देखिए’, भारतका क्रोएसाली प्रशिक्षक स्टिमाकले भने, ‘यो मैत्रीपूर्ण खेलभन्दा धेरै थियो। हामीले केही ठूला गल्तीहरु पनि गर्‍यौँ।’

नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफ्ना खेलाडीले राम्रो प्रदर्शन गरेको बताए। उनले खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आजको खेलबाट आफू खुशी भएको प्रतिकृया दिएका हुन्।

‘हामीले राम्रो खेल्यौँ। खेलमा नियन्त्रण बनायौँ। तर, फिनिसिङमा कमजोरी रह्यो’, अलमुताइरीले भने, ‘हारबाट डराउनु हुँदैन।’

उनले अगाडि थपे, ‘भोलि बिहान जब म उठने छु, मलाई मात्र याद हुनेछ कि मसँग २५ गोर्खालीहरु छन्।’

यसअघि, बिहीवार भएको पहिलो खेलमा नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell