PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बदलिएकी हुन् त ज्योति?



लक्ष्मी बलायर

बदलिएकी हुन् त ज्योति?

बटौलीको बजारमा स्वामी जिउले किन्देको

धुँदाधुँदै फाट्यो सिफनको सारी बरिलै

वर्ष दिनको तीजमा माइती जान नपाउँदा

छोरी रुने वारी आमा रुने पारी बरिलै

जब ज्योति मगरले आफ्नो युटयुब च्यानलमा यी बोलको भिडियो सार्वजनिक गरिन्। तब उनले दर्शक र संगीत क्षेत्रबाट नै मिश्रित प्रतिक्रियाको सामना गर्नुपर्‍यो। कसैले ज्योतिको प्रयासलाई राम्रो भने कतिले प्रश्न गरे : के ज्योति मगर फेरिएकी हुन्?

कारण – ज्योतिका यसअघि गीतहरु। केही उत्ताउला केही द्विअर्थी।

त्यसैले जब तीजको अवसर पारेर ज्योतिले छोरीको वेदना गीतमार्फत सुनाइन् तब प्रश्नहरुको ओइरो लाग्यो।

ज्योति भने उत्तर लिएर तयार थिइन्।

केही फरक गर्ने थकथकीले नै 'माइतीको माया' गीत सिर्जना भएको ज्योति बताउँछिन्। भन्छिन्, ‘केही फरक गर्न पाए हुन्थ्यो भन्ने मनमा लागेको थियो। तीज गीत भन्ने बित्तिकै सबैभन्दा धेरै आमालाई सम्झिने गरिन्छ। अनि माइती र जन्मेको ठाउँ।’

यही साउन महिनामा काँडाघारीबाट गीत रेकर्ड गर्न पुतलीसडक आउने क्रममा ज्योतिलाई एक लाइन फुर्‍यो, ‘बटौलीको बजारमा स्वामी जिउले किन्देको।’

यसपटक मौलिक शैलीमा गीत बनाउने सोच बनाइरहेकी ज्योतिले घर फर्किएर ती लाइनहरुलाई पूरा गरिन्। गीतमा छोरीको वेदना, आमाको माया भरिन्। गीत पूरा गरेर आफू नजिकका साथीहरुलाई सुनाइन्। एरेन्जरलाई सुनाइन्। सबैबाट सकारात्मक प्रोत्साहन मिल्यो। अनि उनले गीत निकाल्ने सोच बनाइन्।

गीतको भिडियो छायाङ्कन हुने कुरा फाइनल भइसकेको थियो। तर गीतमा कसलाई मोडलिङ गराउने त? भिडियो निर्देशनको जिम्मा पाएकी स्मिती तिमल्सिनाले ज्योतिले नै गीतमा अभिनय गर्नुपर्ने र उनले जसरी गीत बुझेर अरुले अभिनय गर्न नसक्ने सुझाइन्। तर, ज्योति भने गीतमा अरु मोडलहरु नै खेलाउने पक्षमा थिइन्। तर, स्मितीको आग्रहबिच ज्योति आफ्नै गीतमा फिचर्ड भइन्। भिन्न शैलीमा। र, केही साताको छायाङकन पछि एक हप्त अघि रिलिज भयो ‘माइतीको मया बरीलै।’

दुई वर्षपछि ज्योतिले आफ्नो युटयुब एकाउन्टमा गीत सार्वजनिक गरेकी थिइन्। तर, उनको यो गीतलाई दर्शकहरुले पहिलाका गीत झै रुचाएनन्। ज्योतिलाई थाहा थियो यो गीत अरुभन्दा फरक छ, यसलाई दर्शकले नरुचाउन नि सक्छन्। किनभने यसअघि गीतसंगीत क्षेत्रमा एउटा छुट्टै पहिचान बनिसकेको थियो। रमाइला गीत गाउने गायिकाले फरक शैलीको गीत ल्याउँदा दर्शकले स्विकार गर्न नसक्लान् भन्ने डर रहने नै भयो। अरु नै गायिकालाई गीत गाउन लगाउने कि भन्ने उनलाई लाग्यो पनि तर, आँट त गर्नु नै थियो। केही बेग्लै न गर्नु नै थियो। संगीत एरेन्जरले पनि ज्योति नै स्वरमा जोड दिए। अनि आफूले चुनौति स्वीकारेर माइतीको मया बरीलै गाएको बताउँछिन् ज्योति।

भिडियोमा गीतका शब्दहरुलाई न्याय दिन आफूले सक्दो प्रयास गरेको उनको तर्क छ। 'एउटा गीतको भिडियो बनाउँदा निकै अर्थ लाग्ने गर्छ। पहिलेको पालामा उमेर पुगेको छोरीहरुको बिहे नहुँदा जर्बरजस्ति बढी उमेर भएको सँग बिहे गरिदिने चलन थियो। यो भिडियोमा त्यही पुरानो इतिहास र छोरीको मर्मको कथा देखाउन खोजिएको छ' उनले बताइन्।

गीत रिलिज भएपछि धेरै दर्शक र संगीत क्षेत्रका व्यक्तिहरुले उनको यो सिर्जनालाई 'सरप्रराइज' गीतका रुपमा व्याख्या गरे। दर्शकको सकरात्मक प्रतिक्रिया नै यसवर्षको उपलब्धि भएको उनी बताउँछिन्।

के बदलिएकी हुन् त ज्योति?

उनको उत्तर छ, ‘म बदलिएको छैन।’

सधैँ रमाइला गीत निकाल्ने ज्योतिले मौलिक र मार्मिक गीत निकाल्दा धेरैले यही प्रश्न गरेको भन्दै उनले प्रष्टाउने प्रयास गरिन्। भनिन्, 'म बदलिएको भन्दा पनि मेरो नदेखिएको पाटो मात्र देखिएको हो। ज्योतिभित्र पनि यस्तो छ हैँ भनेर मैले सरप्रराइज मात्र गरेकी हुँ।  म त्यही पुरानै ज्योति हुँ।’

उनी कलाकार रंगहिन हुने र जुन रंग मिसाइदियो त्यस्तै बन्ने बताउँछिन्। यो गीतमा आफूले आफ्नो अर्कै रंग देखाउने प्रयास गरेको ज्योति बताउँछिन्।

‘म सबै खाले गीत गर्छु। एउटै चिजले मात्र कलाकार बन्दैन। पहिले यस्तो गीत किन ल्याएको भनेर भन्नेलाई मैले जवाफ दिन यसपटक काम गरेर नै देखाइदिए' उनले पहिलोपोस्टको कुराकानीमा सुनाइन्।

आफ्नो गीति यात्रको सुरुवातको समयमा भावुक दोहोरी गीत नै गाएको ज्योति बताउँछिन्। त्यसपछि भने उनले रमाइला गीतहरु मात्रै गाउन थालिन्। 'उही मुलाको सिन्की उही मुलाको चाना' र 'जिम्वाल बाउको छोरी' लगायतका गीतलाई दर्शकले निकै रुचाए। यिनै गीतहरुले आफूलाई सांगीतिक क्षेत्रमा  स्थापित गराउन सफल भएको उनको भनाई छ।

तर, व्यवसायिक रुपले अघि बढ्दै गर्दा मौलिक गीत भन्दा पनि दर्शक रमाउने गीतमा समय दिनुपरेको उनी बताउँछिन्।

अरूबाट अफर आएको कामबाहेक आफूले सिर्जना गरेको कुनै पनि गीत विवादमा नपरेको उनको दाबी छ।

उनले भनिन्,‘ मलाई अफर आउँदा त्यस्तै गीतको मात्रै अफर आउँथ्यो। ती अफर मात्रै मैले स्वीकार गरेकी हुँ। मलाई नै कास्ट गरेर मानिसहरु कमाइरहेका र फाइदा उठाइरहेका छन्। तर अन्तिममा गालि खाने मैले मात्र हो। मैले आफ्नै गीतमा त्यस्तो नराम्रो गरेको छैन।’

उताउला भनिएका अरुको अफरबाट गाएको गीतले भन्दा आफैले सिर्जना गरेका गीतबाट आफू स्थापित भएको ज्योति बताउँछिन्। 'उही मुलाको सिन्की उही मुलाको चाना', 'जिम्वाल बाउको छोरी','पिरतीमा दम छ', जाली रुमाल देखि 'माइतीको माया बरिलै' गीतले नै आफूलाई दर्शकमाझ चिनाएको उनको दाबी छ।

'माइतीको माया बरिलै' बाट बढी चर्चा

हुन त यही वर्षमात्रै ज्योतिले ८ भन्दा बढी गीतहरु सार्वजनिक गरिसकिन्। मितिनी, बनारसे साडी, पर्दैन हेर्न ऐना, घाघरु त घुँडा घुडा , जुममै नाचिन्छ र पोइ छैन जोई छैन जस्ता गीतहरुमा स्वर दिनुका साथै अभिनय गरेकी छिन् ज्योतिले। तर 'माइतीको मया बरीलै' लाई मात्रै दर्शकले किन नोटिस गरे त?

जवाफमा उनी भन्छिन् 'अरु गीतहरु कर्मसियल खालका छन्। नाच्नुपर्छ र रमाउनुपर्छ भन्ने खालका छन्। जुन गीतहरु मेरा पहिलेदेखि नै आएकै छन्। यसमा मेरो नदेखेको पाटो र नसुनेको जनराको गीत सुनेर उहाँहरुले मन पराउनु भएको होला।'

उनले करिब छ वर्ष अघि पनि तीज लक्षित 'टिपन सकिन' गीत ल्याएकी थिइन्। चेलीको तीजमा चेलीको मर्म, कथा र व्यथा आउनुपर्ने उनको तर्क छ। तर दर्शकहरूको पहिलो रोजाईमा भने रमाइलो खाले गीत नै पर्ने उनी मान्छिन्। जसलाई माइतीको मया बरीलैको भ्यूजले नै स्पष्ट पारेको छ।

भाइरल चिज बढी टिक्दैनन्

अहिले कुन गीत धेरै चल्यो भन्ने रेटिङ युटयुवको भ्यूज र टिकटकको आधारमा गरिन्छ। ज्योतिको नयाँ गीत भने अरु गीत जस्तै भाइरल भएनन्। यसमा ज्योतिलाई कुनै अफसोच छैन। कम भ्यूज भएपनि ज्योति यो गीतलाई आफ्नो करियरकै उत्कृष्ट गीत मान्छिन्। उनी यो गीतमा एकै पटक हुरुरुरु भ्यूज आओस् भन्ने चाहदिँनन्। भाइरल चिजहरूको आयु छोटो हुने उनको तर्क छ।

‘परालमा आगो लगायो भने चाँडो दन्किन्छ। भुसभित्र आगो लगाउँदा समय लाग्छ तर आगोको शक्ति भने बढी हुन्छ। भाइरल कुरा दुई/तीन वर्षपछि सबैले बिसन्छन्। 'ढाडे बिरालो' गीत निकै भाइरल भयो। तर दर्शकले ती गीतहरु मेरो देहान्तपछि बजाउदैनन्। 'माइतीको मया बरीलै' गीतलाई मेरो मृत्युपश्चात पनि दर्शकले सम्झिनेछन्। तीजमा चेलीले माइती मिस गर्दा खेरि यो सम्झन्छिन् होला जस्तो लाग्छ।’

ज्योति अब भाइरल गीत ल्याउनेभन्दा पनि राम्रो गर्नुपर्छ भन्ने प्रयासमा आफू रहने बताउँछिन्।

'ओइ ज्योति देउन मलाई एकचोटी गीत छ। जुन निकै निकै चलेको थियो। आज पनि स्टेजमा यो गीतको निकै माग हुन्छ। तर यो मेरो च्वाइसको गीत भने होइन। उक्त गीत मैले पारिश्रमिकको लागि गाएकी हुँ। कसैले मैले पनि यो गीत सुनेको छु भन्दा मलाई भित्रदेखि खुसी मिल्दैन,'ज्योति भन्छिन्,'माइतीको माया' गीत सुनेर कसैले आमा र माइतीलाई सम्झँदा म निकै खुशी हुन्छु। अरु गीत रमाइलोमा सुन्ने भएपनि सुत्नुभन्दा अघि र दु:खमा सुन्ने गीत भनेको 'माइतीको मया बरीलै' हो’

वर्तमान संगीत क्षेत्रमा ‘युटयुब ट्रेन्डिङ’को भरमा गीतको सफलता मापन गरिने कुरामा उनको फरक मत छ। साथै टिकटकरले एउटै गीतमा सयवटा टिकटक बनाउने कुराले पनि उनलाई वाक्क/दिक्क पारेको छ। टिकटकलाई सही सदुप्रयोग गर्नुपर्ने उनको तर्क छ।

'पहिले पनि त सिआरबीटी र पिआरबीटीको जमना थियो। त्यतिखेर पनि नाच्ने खाले गीत निकाल्ने मै हुँ। अहिलेको अवस्थामा रमाइलो गीत निकालेर युट्युब र टिकटकबाट पैसा कमाइरहेको बेला रिक्स लिएर मार्मिक गीत गर्ने पनि मै हुँ'उनले भनिन्, 'मलाई अरुसँग केही मतलब छैन। मेरो आफ्नै प्याट्रन छ। मलाई जतिबेला जुन सिर्जना आयो, त्यही गर्छु। के थाहा आउँदा दिनका सिर्जनाबाट गाली पनि पाउनुसक्छु कि।'  

गालीको कुरा गर्दै गर्दा ज्योतिले गीतकै कारण धेरै गाली खाइन्। यही वर्ष दुर्गेश थापालाई बहिष्कार गर्ने घोषणासमेत भयो। शब्द शब्दमा गरिने कमेन्टले ज्योतिलाई कति असर पार्छ त?  

'दुर्गेशको त के कुरा। हिजोको दिनमा मैले जति गाली र धम्की कसैले खाएको होला र? कतिपय मान्छेले मविरुद्ध रिपोर्टसमेत लेखेका थिए। त्यो सबै कुराहरु फाइट गर्दैँ आएकी छु। त्यसैले यस्ता कुराले मलाई फरक पार्दैन' उनले सुनाइन्।

सिर्जनाशिलतालाई बाहिर ल्याउने व्यक्तिगत अधिकार भएपनि नैतिकता भुल्न नहुने उनको भनाई छ।  साथै सरकारले पनि युटयुबलाई ‘रेगुलेट’गर्नुपर्नेमा उनको जोड छ।

‘डिजिटल माध्यमा गीत निकाल्न कुनै रोकतोक छैन। युट्युब खोल्ने बित्तिकै राम्रो नराम्रो कुरा आउने भएर सरकारले त्यसमा कसरी सेन्सर लगाउनुपर्छ भन्ने बारेमा अध्ययन गर्नुपर्छ। बच्चाहरूलाई नसुन्ने गीत छ सरकारले सिस्टम बनाएर रोक्नुपर्छ’ज्योति भन्छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell