विश्वकप क्वालिफायर्स अन्तर्गतको ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु भएको केही बेरमै स्थगित भयो। ब्राजिलको साओ पाउलोस्थित कोरिनथियन्स स्टेडियममा खेल सुरु भएलगत्तै ब्राजिली स्वास्थ्य अधिकारीहरु आएर केही अर्जेन्टिनी खेलाडीलाई निकाल्न खोजेपछि खेल स्थगित भएको हो।
ब्राजिलियन हेल्थ रेगुलेटरी एजेन्सी (एन्भिजा)ले फेडरर प्रहरीलाई चारजना अर्जेन्टिनी खेलाडीले गलत रिपोर्ट प्रस्तुत गरेर ब्राजिल प्रवेश गरेको भन्दै सहयोग मागेका थिए। एन्भिजाका अधिकारीले १४ भित्रै ती खेलाडी युकेमा रहेको दाबी गरेका छन्। ब्राजिलको कोभिड प्रोटोकलअनुसार १४ दिनभित्र युके भ्रमण गर्ने ब्यक्तिले ब्राजिल प्रवेश गर्न पाउँदैन।
'एन्भिजाले अहिलेको अवस्थालाई स्वास्थ्यका लागि जोखिमपूर्ण अवस्था मानेको छ। र, स्थानीय स्वास्थ्य निकायलाई तत्काल खेलाडीलाई क्वारेन्टिनमा राख्न सुझाव दिएका थियो।' उक्त संस्थाको विज्ञप्तिमा भनिएको छ।
सीएनएनले जनाएअनुसार उक्त संस्थाले अर्जेन्टिनी खेलाडी इमिलिआनो मार्टिनेज, इमिलिआनो बुएन्डिया, जियोभानी लो चेल्सो र क्रिस्टियन रोमोरोलाई हटाउन खोजेको जनाएको छ। चारै जना खेलाडी इङ्ग्लिस प्रिमियर लिगका खेलाडी हुन्।
अधिकारीहरुले ती खेलाडीहरु लगातार नियमको उल्लंङ्घन गरेकाले 'डिपोर्ट' हुनुअघि 'इमिडियट क्वारेन्टिन' को समेत जिकिर गरेका थिए।
'खेल रेफ्रीको निर्णयअनुसार फिफाले आयोजना गरेको ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप क्वालिफायर्स अन्तर्गतको खेल स्थगित गरिएको छ,' दक्षिण अमेरिकी फुटबल फेडेरेसन (कन्मेबोल) ले ट्वीटरमा भनेको छ, 'रेफ्री र म्याच डेलिगेटले फिफाको अनुशासन कमिटीमा रिपोर्ट गर्नेछन्। त्यसपछि अगाडिका चरणहरु बारे टुंगो लाग्नेछ।'
फिफाले पनि ट्वीटरमार्फत म्याच सस्पेन्ड भएको पुस्टि गर्दै विस्तृत कुरा पछि आउने बताएको छ।
उता अर्जेन्टिना फुटबल फेडेरेसनका अध्यक्ष क्लाउडियो टापियाले एक विज्ञप्ति जारी गर्दै फुटबलका लागि दुर्भाग्य भएको प्रतिक्रिया दिएका छन्।
'आज जे भयो, त्यो साच्चै फुटबलका लागि दुर्भाग्य भयो। यसले एकदमै खराब 'इमेज' बनाएको छ। चारजना मानिस आएर खेललाई अवरोध गरे र कन्मेबोलले खेलाडीलाई ड्रेसिङ रुममा जान निर्देशन दियो,' उनले विज्ञप्तिमा भनेका छन्, 'यहाँ तपाइले झुट बोल्न सक्नुहुन्न किनभने यहाँ स्वास्थ्य सम्बन्धित नियम छ जुन हरेक दक्षिण अमेरिकी प्रतियोगितामा लागू हुन्छ। हरेक देशका स्वास्थ्य निकायले पनि यसलाई मानेका छन् र हामीले पनि त्यसलाई नै फलो गरेका हौं।'
अर्जेन्टिनी टिमका म्यानेजर लियोनल स्कालोनीले दुबै टिमले खेल्न चाहिरहेको अवस्थामा आएको अवरोधले आफूलाई धेरै दुखी बनाएको प्रतिकृया दिए।
'जे भयो त्यसले मलाई धेरै दुखी बनाएको छ। हस्तक्षेपका लागि लागि त्यो सही समय थिएन,' उनले भनेका छन्।
