PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बाढी पहिरोको वितण्डा : ४८ घण्टामा दुई जनाको मृत्यु अनि २९ जना बेपत्ता, साढे दुई महिनामा १२२ जनाको ज्यान लियो



पहिलोपोस्ट

बाढी पहिरोको वितण्डा : ४८ घण्टामा दुई जनाको मृत्यु अनि २९ जना बेपत्ता, साढे दुई महिनामा १२२ जनाको ज्यान लियो

काठमाडौं : दुई दिनदेखि देशका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी पहिरोको कारण जनधनको क्षति भएको छ। ४८ घण्टाको अवधिमा देशभर दुई जनाको मृत्यु भएको छ। त्यस्तै २९ जना बेपत्ता भएकाले खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिएका छन्। त्यसै गरी ६ जना घाइते भएका छन्।

आइतबार रातिदेखि आएको वर्षाको कारण काठमाडौं उपत्यकाका केही स्थान जलमग्न भएका छन्। बस्ती समेत डुबानमा परेको प्रहरीले जानकारी दिएको छ।

बाढीका कारण काठमाडौँमा मात्रै ३८२ घर डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए। उनका अनुसार बाढीमा परेका १३८ जनाको उद्धार भएको छ। मूलपानी, मनोहरा, बल्खु, नयाँवस्ती, टेकु, कपनलगायत क्षेत्र बाढीका कारण बढी प्रभावित छन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेना उद्धारमा खटिएका छन्। अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनायो।

त्यस्तै, बनेपाको पुल बजारमा बाढी पसेको छ। बाढीका कारण पुल बजार डुबानमा परेपछि अरनिको राजमार्ग ठप्प बनेको छ। राजधानी काठमाडौं आउँदै गरेको सवारी साधन बनेपा, धुलिखेलतिरै रोकिएका छन्। यता काठमाडौँबाट सिन्धुपाल्चोक, दोलखा, रामेछापदेखि सिन्धुली र पूर्व निस्केका सवारी साधन साँगामा अड्किएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गएको जेठ ३० गतेदेखि देशका विभिन्न स्थानमा आएको वर्षा, बाढी पहिरोको कारण आजसम्म  १२२ जना मानिसको मृत्यु भइसकेको नेपाल प्रहरीको तथ्याङ्कले देखाएको छ। जसमा १४२ जना मानिस घाइते छन् भने २९ जना मानिस बेपत्ता रहेका छन्। ९८३ वटा घरमा क्षति पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell