PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

आफ्नै पिताप्रति समर्पित अलका आत्रेयको 'निनाद वल्लरी' सार्वजनिक



पहिलोपोस्ट

आफ्नै पिताप्रति समर्पित अलका आत्रेयको 'निनाद वल्लरी' सार्वजनिक

काठमाडौं : अलका आत्रेय चूडालको खण्डकाव्य ‘निनाद वल्लरी’ सार्वजनिक भएको छ। कुशे औँसीको तिथि पारेर पब्लिकेशन्स नेपालयले यसलाई बजारमा ल्याएको हो।

‘नेपालय कविता’ अन्तरगत प्रकाशित यस पुस्तक नौवटा विभिन्न छन्दमा विरचित करुण रसका कविताहरुको संग्रह हो। ‘लाटो साथी’ उपनामले प्रसिद्ध साहित्यकार विष्णुराज आत्रेयकी छोरी अलकाले ‘निनाद वल्लरी’ उनकै वियोगमा लेखेको शोककाव्य हो।

काव्यले पिता पुत्रीको वात्सल्य र वियोगलाई छन्दमार्फत् मार्मिक र सुललित शैलिमा अभिव्यक्त गरेको नेपालयले जनाएको छ। साथै, छोरीलाई अर्कै गोत्र मानेर पिताको शोकमा सरिक हुन बन्देज लगाउने कर्मकाण्डीय रितिमाथि व्यङ्ग्य गरिएको छ।

दक्षिण एसियाको बौद्धिक इतिहास र राहुल सांकृत्यायन विषयमा विद्यावारिधि गरेकी अलका आत्रेय चूडाल अहिले भियना विश्वविद्यालय अस्ट्रियामा प्राध्यापन गर्छिन्। कथा, कविता, संस्मरण, समालोचना, निबन्ध, अनुवाद आदि विधामा लामो समयदेखि कलम चलाउँदै आएकी चूडालको यो दोस्रो खण्डकाव्य हो।

‘भावको चरमोत्कर्षलाई शब्दले मात्र पूर्णतया अभिव्यक्त गर्न नसक्ने रहेछन्। प्रेम, प्रशन्नता, सुख वा दु:खको चूडान्त अनुभूतिलाई व्यक्त वा विरेचन गर्न हाम्रो शरीरको पनि सक्रिय सहभागिता हुन्छ भन्ने त प्रकृतिसिद्ध कुरा हो,' पुस्तक सार्वजिक गर्दै उनले भनेकी छिन्, 'साहित्यका विधाहरुमा छन्द कविता त्यस्तो भाव सम्प्रेषण गर्न सक्षम भएको मैले पाएँ।’

पितृवियोगको पीडादायी अनुभूति र गुम्सिएका घाउहरुलाई निको पार्न छन्द कविताको आश्रय लिएकी कविले छन्द र संस्कृत साहित्यको प्रारम्भिक शिक्षा आफ्ना पिताबाट पाएकी हुन्। अठार वर्षको उमेरमै प्राचीन व्याकरणलगायत् अन्य दुई विषयमा स्नातकोत्तर गरेर कीर्तीमान कायम गरेकी डा. अलकाले कक्षा दशसम्म घरमै अनौपचारिक शिक्षा ग्रहण गरेकी थिइन्।

‘बुवाको साहित्यप्रतिको स्नेह जीवनपर्यन्त रह्यो,’ अलकाले भनिन्, ‘हाम्रा कतिपय धार्मिक विद्वानहरूमा विवाहिता छोरीलाई पितृकार्यमा अर्कै गोत्रकी भनेर सरिक हुन वर्जना गरिएको रहेछ। शोकमा व्याकुल भएको बेला मलाई ती विधानहरू अप्रिय लागेका थिए। धेरै सोचे पछि मलाई लागेको थियो मेरा साहित्यानुरागी पितालाई आफ्नो श्रद्धाञ्जली चढाउन कविताभन्दा उपयुक्त अर्थोक के होला? त्यसैले, आज मेरा पिताको प्रथम वार्षिकीमा उहाँले नै सिकाएको पथ अनुशरण गर्दै ‘निनाद वल्लरी’ अर्पण गर्न चाहन्छु।’

लेखनाथ पौड्यालको ‘ऋतुविचार’, लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’देखि माधवप्रसाद घिमिरेको ‘गौरी’सम्मका खण्डकाव्य नेपाली पाठकबिच उत्तिकै लोकप्रिय रहेको बताउँदै नेपालयकी सम्पादक भूषिता वशिष्ठले यस्तो समृद्ध विधामा महिला लेखक भने विरलै भेटिने बताइन्।

'नेपालय छन्द कविताको प्रर्बद्धनमा त कटिवद्ध छँदैछ, साथै अलका आत्रेय चूडालजस्ता ओजस्वी साहित्यकारको छन्दोबद्ध खण्डकाव्य प्रकाशित गरिनाले, यसले अन्य मेधावी छन्द कवि तथा कवयित्रीहरुको लागि पनि मार्गप्रशस्त गरोस् भन्ने हाम्रो कामना छ,’ उनले भनिन्।
नेपाली बजारका निम्ति ‘निनाद वल्लरी’ को मूल्य १६५ रुपैयाँ तय गरिएको छ। पुस्तकको ई बूक र अडियो बुक थुप्रैडटकम र विश्व बजारमा यो पुस्तक अमेजनमार्फत् उपलब्ध हुने नेपालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell