काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता माथि अंकुश लगाउन खोजेको विषयमा नागरिकस्तरमा आलोचना सुरु भएको बताउनु यस्तो विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
आज नेपाली कांग्रेस सिन्धुपाल्चोकले काठमाडौंमा गरेको अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रता मिथी अंकुश लगाउन नमिल्ने धारणा राखे। स्वतन्त्रता को वकालत गर्ने पार्टीले र सरकारले यस्ता विषयमा गम्भीरताका साथ सोचेर मात्रै कदम चाल्नुपर्ने उनको तर्क थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आइतवार निकालेको विज्ञप्तिप्रति लक्षित गर्दै नेता सिंहले सरकार सच्चिनुपर्ने बताए। गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपतिजनक भएको उनको भनाई थियो।
‘सरकारले जनताको दु:खमा साथ दिनु पर्दछ। सधै जनाताको पक्षमा हुनुपर्दछ,’ उनले भने, ‘गृह मन्त्रालयबाट बोल्नै नपाउने गरी विज्ञप्ति निकाल्नु आपत्तिजनक छ। यसमा सरकार सच्चिनु पर्दछ।’
साथै, नेता सिंहले अत्यन्तै प्रतिकूल अवस्थामा पनि आफ्नो सिद्धान्तबाट विचलिन नहुने पार्टी नेपाली कांग्रेस भएको भन्दै जस्तोसुकै परिस्थितिमा पनि महाधिवेशन निष्पक्ष, धादलीरहित र स्वच्छ रुपले हुनुपर्ने धारणा राखे। नेतृत्व गर्ने नेता कमजोर भए पार्टीले जति राम्रो काम गरे पनि नतिजा राम्रो लिन नसक्ने उनको भनाई छ। साथै, सिंहले समय अनुसार पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताए। १३ औं महाधिवेशनपछि कांग्रेस कमजोर हुँदा देशमा लोकतान्त्रिक पद्धती पनि कमजोर भएको र कम्युनिस्टहरुले संविधान र ब्यवस्थामाथि नै प्रहार गर्ने खोजेको उनको भनाइ थियो।
‘लोकतान्त्रिक मूल्य मान्यता जोगाउनका लागि कांग्रेस मजबुत हुनुपर्दछ। त्यसका लागि सक्षम नेतृत्व आश्यक छ,’ उनले भने, ‘विधी पद्धतिका लागि सधै आवाज उठाउने सक्षम नेतृत्व कांग्रेसमा आवश्यक छ।’
