काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलामा भएको तुइन प्रकरणबारे सरकारले भारतसँग संवाद गर्न नसकेको दावी गरेका छन्।
राष्ट्रिय सभागृहमा राष्ट्रिय युवासंघले गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारले तुइन चुडिएको घटनाबारे भारतलाई सोध्न नसकेको आरोप लगाए। छानविनका लागि गठन भएको समितिले भारतीय सुरक्षाकर्मीका कारण जयसिंह धामी महाकालीमा खसेको प्रतिवेदन तयार पारेको थियो।
ओलीले नेपाली भूभागमा अनुमतिविना भारतको हेलिकप्टर आए पनि त्यसबारे सरकार बेखबर रहेको बताए। भने, 'देशको भूभागमा हेलिकप्टर आउँछ। कारण के हो? सोध्न पनि नसक्ने। नेपालीको अफगानिस्तानबाट उद्दार गर्न नसक्ने। प्रतिवेदन आउँछ नेपाली झारिएको हो भन्ने तर बोल्न नसक्ने?'
ओलीले सरकारका गतिविधिको विरोध गर्नेमाथि अंकुश लगाउन खोजेको भन्दै आपत्ति जनाए। सत्तारुढ दलका नेताहरुले आफ्नो नेतृत्को सरकारले वाक स्वतन्त्रतामाथि अंकुश लगाएको भनेर बिरोध गरे पनि अहिले बोल्न नसकेको आरोप लगाए। उनले भने, 'आफैले टाँसेको टेप फिल्मी स्टाइलमा फुत्त फालेर बोल्न पाइन्छ भन्थे। अहिले तिनीहरुको सरकारलाई म सोध्न चाहन्छु बोल्न पाइन्छ कि पाइँदैन?'
दुई महिना पुग्नलाग्दा पनि सरकार बिस्तारले पूर्णता नपाएको भन्दै ओलीले सरकारले कुनै पनि काम नगरेको आरोप लगाए। उनले आफ्नो नेतृत्वको सरकारले महिना दिन पुगेकै बेला सरकारका काम सार्वजनिक गरेको बताए। गठबन्धनले एमालेले अकर्मणता देखायो भनेर बाहना बनाउन लागेको ओलीको भनाई थियो।
'हाम्रो सरकार बन्दा एक महिनामा के के गर्यौं भनेर बोल्ने गरेको थिएँ। यिनीहरुले उधुम मच्चाउनेवाला छन् एमालेले अकर्मणता देखायो भनेर। अरु उनीहरुसँग केही बोल्ने भन्ने बाटो छ? उनीहरुको चिन्तनमा विकास छैन,' ओलीले भने। सुखी नेपाली, समृद्ध नेपालको नारालाई अहिलेको सरकारले अंगिकार नगरेको भन्दै ओलीले विरोध जनाए। उनले सुखी नेपाली भएको गठबन्धनका नेताले देख्न नचाहेको आरोप लगाए। ओलीले भने, 'समृद्ध नेपाल किन भन्न सक्दैनन्? सुखी नेपाली भन्दा किन आत्तिन्छन् यिनीहरु? कुनै दलको नेताले समृद्ध नेपाल सुखी नेपाली भन्ने आँट गरुन् त? सर्वे भवन्त सुखिन भन्न सक्दैनन् किभने त्यहाँ उनीहरु त्यहाँ केपी ओली केपी देख्छन्।'
ओलीले अहिलेको सरकार केही दिनको पाहुना मात्रै भएको बताए। उनले सरकार धेरै दिन नटिक्ने बताए।
'यो सरकार केही दिनको मेजमान हो। मेजमान भनेको पाहुना। धेरै रहे १५ महिना। त्यसपछि यो सरकार कसैले खोजेर पनि भेटिँदैन। तपाईँहरु उठनुभो भने राष्ट्रहितको सरकार बन्छ,' उनले भने।
