PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आक्रामक 'मैत्रीपूर्ण' खेल : दुवै कप्तानका कीर्तिमानी र दुवै प्रशिक्षकका आ-आफ्नै चिन्ता



मुकुन्द घिमिरे

आक्रामक 'मैत्रीपूर्ण' खेल : दुवै कप्तानका कीर्तिमानी र दुवै प्रशिक्षकका आ-आफ्नै चिन्ता

काठमाडौं : हरेक पटक जितको लक्ष्य लिए पनि नेपालले हासिल गर्न नसकेको उपाधि हो - साफ च्याम्पियनसीप। साफ नजिकिँदै गर्दा पटक पटक नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोहोर्‍याइरहेका छन् - हाम्रो लक्ष्य साफ कप जित्ने हो।

उनको भनाई मान्ने हो भने लक्ष्य त्यहीँ टुङ्गिने छैन, उद्देश्य छ एसियन कपमा क्लालिफाइ हुने। त्यसैको तयारीका लागि नेपालले भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेल्यो।

१ सय ३० करोड जनसंख्या भएको भारतमा पछिल्लो समय फुटबल पछ्याउने बढ्दै छन्। र, क्षेत्रीय शक्तिका हैसियतले पनि भारतमाथि दबाव छ - जित्नैपर्ने। पछिल्लो समय भारतले फुटबलमा सन्तोषजनक नजिता दिन नसकेको भन्दै समर्थकहरु आक्रामक छन्। सामाजिक सञ्जालमा त्यस्तो आक्रमण छरपस्ट देखिन्छ। त्यहाँ 'प्रशिक्षकलाई हटाऊ' र 'फेडेरेसनको अध्यक्षलाई हटाऊ' भन्ने ह्यासट्याग जताततै देख्न सकिन्छ।

यता, नेपालको भने अवस्था फरक छ। कुवेती नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली टोलीको प्रशिक्षक भएर आएयता छोटो समयमै विवादित रहे। तर, नेपाली फुटबल समर्थकले भने उनीसँग उत्तिकै आशा पनि गरेका छन्। एन्फा पदाधिकारीसँगको विवादमा उपत्यकाबाहिर उनको समर्थनमा फुटबल फ्यानहरु सडकमा उत्रिनुलाई त्यसको उदाहरणको रुपमा लिन सकिन्छ। भलै, राष्ट्रिय खेलकुद परिषद्को छानविन समितिको प्रतिवेदनमा उनले आचरण सुधार गर्नुपर्ने देखाएको छ। साथै प्रतिवेदनमा उनको नेतृत्वमा प्रशिक्षण राम्रो भएको उल्लेख छ।

दक्षिण एसियामा बलियो प्रतिस्पर्धी भारतसँग पहिलो खेलमा बराबरी र दोस्रो खेलमा पराजयका बावजुत समर्थकहरुको आलोचनामा उनी परेका छैनन्। नेपालको खेलमा सुधार आएको भनेर बरु वाहवाही नै पाइरहेका छन्। उनको सबैभन्दा राम्रो पक्ष हो, खेलाडीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाएर टिकाउनु।

‘हामीले राम्रो खेल्यौं। खेलमा नियन्त्रण बनायौं। तर, फिनिसिङमा कमजोरी रह्यो,’ भारतसँगको दोस्रो खेलपछि अलमुताइरीले भनेका थिए, ‘हारबाट डराउनु हुँदैन। भोलि बिहान जब म उठने छु, मलाई योमात्र याद हुनेछ कि मसँग २५ गोर्खालीहरु छन्।’

नेपाल र भारतबिचको मैत्रीपूर्ण खेलको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको साफका लागि पूर्व तयारी राम्रो मिल्नु हो। नेपाललाई साफको सबैभन्दा सफल र सदाबाहर दाबेदार भारतको 'नाडी' छाम्ने मौका मिलेको छ। भलै, नेपालले हार बेहोर्‍यो तर खेलमा 'किन्तु' 'परन्तु' भन्न सकिने धेरै ठाउँ मिलेको छ। अर्थात्, नेपाली खेलाडीमा आत्मविश्वास बढेको छ - नेपालले भारतलाई हराउन सक्ने क्षमता राख्छ र साफ उपाधिको दाबेदार बन्नसक्छ। यसबाहेक पनि यो मैत्रीपूर्ण खेल धेरै अर्थमा महत्वपूर्ण रह्यो।

कप्तान किरणको कीर्तिमान

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ नेपाली टोलीका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने खेलाडी बनेका छन्। चेम्जोङले पूर्व कप्तान विराज महर्जनको कीर्तिमान तोड्दै सर्वाधिक क्याप जित्ने खेलाडी बनेका हुन्। विराजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिइसकेका छन्।

भारतसँगको खेलसँगै चेम्जोङले ७४ औं अन्तर्राष्ट्रिय खेल पूरा गरे। यसअघि दशरथ रंगशालामै सम्पन्न नेपाल, बंगलादेश र कीर्गिस्तान यू २३ प्रतियोगिता खेलेर सन्यास लिएका विराज महर्जनको खातामा ७३ क्याप छ।

किरणले २००८ मा लाओसविरुद्धको खेलबाट नेपाली टिममा डेभ्यू गरेका थिए।

विशाल प्रतिक्षापछि विशालको डेब्यु

सन् २०११ मा राष्ट्रिय टोलीमा परेका गोलकिपर हुन्, विशाल श्रेष्ठ। त्यसपछि नियमित जस्तो राष्ट्रिय टोलीमा रहेर पनि उनी बेन्चमै सीमित भए। राष्ट्रिय टोलीमा डेब्यु गर्नका लागि भने उनले एक दशक लामो प्रतीक्षा गर्नुपर्‍यो। भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा उनले ८२ औं मिनेटमा मौका पाए। कप्तान किरण चेम्जोङको स्थानमा मैदान प्रवेश गरेका श्रेष्ठको डेभ्यु 'इमोसनल' देखिन्थ्यो। खेल सकिएपछि प्रशिक्षक अलमुताइरीसँग उनी अँगालो हाल्न पुगेका थिए। मैदानमा छोरीलाई लिएर हिँडेका थिए।

मैत्रीपूर्ण भन्दा माथिको खेल

मैत्रीपूर्ण खेल र प्रतिस्पर्धात्मक खेलको 'टेम्पो' फरक हुन्छ। तर, नेपाल र भारतबिचको खेल भने मैत्रीपूर्ण भए पनि प्रतिस्पर्धात्मक नै रहन्छ। प्रतिद्वन्द्विता नै देखिन्छ। खेलाडीदेखि दर्शकसम्म 'राष्ट्रवाद'ले यहाँ काम गर्छ। नाकाबन्दी, सीमा विवाद लगायतका प्रकरणले नेपाली मनोविज्ञानलाई धेरै हदसम्म 'एन्टी इन्डियन' बनाएको छ। तर, यसपाला भने भारतीय टिमका कप्तान सुनिल क्षेत्री नेपाल आएलगत्तै नेपाली भाषामै दिएका अभिव्यक्तिले यहाँका समर्थकको दृष्टिकोणलाई 'सफ्ट कर्नर' बनाइसकेका थिए। पहिलो खेल बराबरीमा रोकिँदा खेलको माहोल धेरै तातेको नभए पनि दोस्रो खेलमा भने अवस्था फरक थियो। मैत्रीपूर्ण खेल भए पनि खेलाडीहरु बिच मैदानमा बेलाबेलामा 'टेम्पर' बढेको देखिन्थ्यो। यतिसम्म कि नेपालका प्रशिक्षक अलमुताइरी र भारतका प्रशिक्षक स्टिमाक पटकपटक रेफ्रीसँग झगडा गर्न नै तम्सिएका थिए। अझ, भारतीय प्रशिक्षक स्टिमाकले त पहेँलो कार्ड नै पाए।

दुवै प्रशिक्षकलाई राहत

नेपाल र भारत दुवैतिरका प्रशिक्षकलाई आ-आफ्नै दवाब थियो। अझ बढी भारतीय प्रशिक्षक इगोर स्टिमाकलाई। क्रोएसियन नागरिक स्टिमाकको नेतृत्वमा भारतीय टोलीले सफलता पाउन नसकेको भन्दै भारतीय फुटबल समर्थकहरुले उनको राजीनामा माग्दै सोसल मिडियामा ह्यासट्याग चलिरह्यो।

दोस्रो खेलमा जित निकालेपछि स्टिमाकले भने आफुले कुनै दवाव नलिएको प्रतिक्रिया दिए। उनले भारतीय समर्थकको आलोचनाबारे भने : 'त्यो त मैले पचाइसकेँ।'

उनीविरुद्धको ह्यास्ट्यागबारे नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी पनि जानकार रहेछन्। त्यसैले खेल प्रतिस्पर्धात्मक हुनको कारणबारे चर्चा गर्दै भने, 'तपाईँहरुलाई थाह छ भारतलाई कति जित चाहिएको थियो। हामीलाई प्रशिक्षकबारेको ह्यासट्यागबारे थाहा नै छ।'

प्रशिक्षक अलमुताइरीलाई पनि राम्रो नतिजाको दवाव भने थियो। पहिलो त प्रतिद्वन्द्वी भारत थियो भने दोस्रो लामो समयको तयारी र एन्फाका पदाधिकारीसँगको विवादले पनि उनीमाथि दवाव थियो।

साफ र एसिया क्वालिफायर्सको तयारी : समस्या चाहिँ फिनिसिङ नै

नेपाली टोलीले आलोचना बेहोर्दै आएको मुख्य विषय हो फिनिसिङ। बल पोजिसन राम्रो बनाएर पनि फिनिसिङमा चुक्दा जित हात पार्न नसकेको भन्दै नेपालले आलोचना हुने गरेको छ। यसअघि नेपाल, बंगलादेश र कीर्गिस्तानबिचको 'थ्री नेशन्स कप'मा नेपालले गोल गर्नका लागि फाइनलसम्मै कुर्नुपरेको थियो। त्यस्तै अवस्था छ भारतको पनि। पछिल्ला समय राम्रो नजिता निकाल्न नसकेको भारतीय टिममाथि बलिया टोलीदेखि कमजोर टोलीसम्म पनि बराबरीमै रोकिने गरेको आरोप लाग्दै आएको छ।

यस प्रतियोगिताले खासगरी साफ च्याम्पियनसीप र एसियन कप क्वालिफायर्सका लागि दुवै टिमलाई तयारी मिल्ने विश्वास गरिएको छ। साफ च्याम्पियनसीप यही अक्टोबर १ बाट माल्दिभ्समा सुरु हुनेछ।

उत्कृष्ट सुनिल क्षेत्री

भारतीय टोलीका कप्तान सुनिल क्षेत्री नेपाल आएसँगै चर्चामा रहे। खासगरी उनको नेपाल 'ओरिजन' लाई लिएर चासो धेरै भयो। पहिलो खेलमा उनकै पासमा अनिरुद्ध थापाले गोल गरेपछि भारत नेपाललाई बराबरीमा रोक्न सफल भएको थियो भने दोस्रो खेलमा भारतलाई जिताउन उनको गोल महत्वपूर्ण बन्यो।

यससँगै क्षेत्रीले नेपालविरुद्ध ६ गोल गरेका छन्। उनी विश्वका सक्रिय खेलाडीमध्ये धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा चौथो नम्बरका खेलाडी हुन्। उनीभन्दा अघि क्रिस्टियानो रोनाल्डो (१११ गोल),  अर्जेन्टिनाका लियोनल मेस्सी ७६ र युएईका अलि मकबल ७६ गोल उनीभन्दा अघि छन्। उनले भने नेपालमा गरेको गोलसहित ७५ गोल पूरा गरेका छन्।

उनले सबैभन्दा बढी गोल गरेको देशमध्ये नेपाल पनि एक हो। उनले माल्दिभ्स, नेपाल र चाइनिज ताइपेइविरुद्ध समान ६/६ गोल गरेका छन्।

रंगशालामा दर्शक फिर्ता

कोभिड-१९ महामारीमा शुरु गरिएको लकडाउनले खाली भएको रंगशालामा फेरि एकपटक दर्शक उपस्थित भए।

पछिल्लो पटक नेपाल, बंगलादेश र कीर्गिस्तानको ओलम्पिक टिमबीचको थ्री नेशन्स कपमा भरिएको रंगशालामा खेल भएको थियो। त्यसयता सम्पन्न नेपाल सुपर लिग (एनएसएल) बन्द रंगशालामा भएको थियो।

त्यसअघि पनि क्रिकेटमा त्रिकोणात्मक सिरिजका पछिल्ला खेलहरु बन्द रंगशालामा भएका थिए।

नेपाल र भारतबीचको मैत्रीपू्र्ण खेलमा रंगशालाको क्षमताको एकतिहाइ अर्थात  ५१ सय दर्शकहरुको लागि अनुमति मिलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell