आज बुवाप्रति स्नेह र सम्मान प्रकट गर्ने दिन। मानिसहरु बुवाको मुख हेर्ने भदौ कृष्ण औंशीको तिथि छोप्न दौडादौड गरिरहेका छन्। ठीक उल्टो लाग्छ एकराज वाग्लेको सन्दर्भमा आजको दिन। सबै मानिस पिताको मुख हेर्ने प्रतीक्षा गरिरहँदा उनी चाहिँ खोजिरहेका छन् छोराको अनुहार। स्वयम्भू ठूलो भर्याङका एकराज वाग्लेले यसैगरी पर्खन थालेको आज २२ वर्ष पुग्यो।
२२ वर्ष अगाडि आजकै दिन अर्थात् २०५६ सालमा एकराजलाई आएको त्यो एउटा टेलिफोन कल सम्झिँदा अहिले पनि छाँगाबाट खसे झै गराउँछ।
'गोपी हराए।'
फोनमा सुनिएको शब्द यही थियो।
चितवनको टाँडीमा रहेको हरिहर संस्कृत विद्यापिठमा अध्ययनरत १६ वर्षीय गोपीकृष्ण वाग्ले अघिल्लो दिन फूपु दिदीको घरमा जान्छु भनेर विद्यालयबाट निस्किएका थिए। भोलिपल्ट कुसे औँसीको दिन २०५६ साल भदौ २४ गते दिदीको घरबाट खाना खाएर निस्किए बिहानै। तर, २० मिनेटको पैदल दुरीमा रहेको विद्यापिठ भने पुगेनन्।
त्यसदिन एकराज यजमानमा व्यस्त थिए। उनलाई लागेको थियो - अब धेरै यजमानी गर्नुपर्ने छैन। छोराहरुले गर्ने छन् र मिल्नेछ आराम। तर, सोचेजस्तो भएन। उनी अहिले त्यही पेशामै छन्। आजको कुशे औँशीको दिन कुस लिएर घरघर पुर्याउँदै छन्।
छोरोलाई पण्डित बनाउने रहर
२०१२ सालमा जन्मिएका एकराज कुनै बेला ओखलढुंगामा पढाउँथे। स्वास्थ्यकर्मीको तालिम लिएपछि चाहिँ शिक्षण पेशा छाडे। केही समय नेपाल परिवार नियोजन संघमा काम गरे २०२९ सालदेखि। त्यहाँ पनि छाडेर केही समय जागिर खाए अस्थायी। अस्थायी जागिरले परिवार धान्न धौधौ त हुने नै भयो। त्यसपछि उनी नेपाली सेनामा सिपाहीमा भर्ती भए। सिपाहीमा भर्ती भए पनि त्यहाँ उनको काम पुरेतको थियो।
२०४६ सालमा काठमाडौं झरेका उनले २०४८ सालमा दुई छोरा र श्रीमती पेशलकुमारीलाई पनि आफूसँगै साथमा ल्याए। एकराजले आफ्ना छोराहरुलाई नामुद पण्डित बनाउने सपना सोचेका थिए। जेठा छोरा त उनीसँगै छन्। कान्छा छोरा पनि फर्किने आशामा तस्बिर हेर्दै बिताइरहेका छन्।
२०५६ सालको जनै पूर्णिमामा उनले चितवनको संस्कृत विद्यापीठमा पढिरहेका दुई छोरालाई काठमाडौ बोलाएका थिए। उनीसँग दुवै छोरा काठमाडौंमा यजमानहरुलाई रक्षाबन्धनको डोरो र जनै लगाइदिन गएका थिए।
'जनै पूर्णिमामा मैले उनीहरुलाई नै काठमाडौं बोलाएको थिए। त्यस दिन हामी सँगै यजमानहरुकहाँ पुगेका थियौँ,' आफ्ना कान्छा छोरासँगको अन्तिम पल सम्झिए, 'छोराहरुको मन्त्र वाचन सुन्दा लागेको थियो, अब मेरो काम छोराहरुले गर्नेछन्। म आराम गर्नेछु।'
तर, उनको त्यो रहर अहिलेसम्म पूरा भएको छैन। जेठा छोरा त उनीसँगै यजमान कहाँ पुग्छन्। उनको साथमा कान्छा गोपी भने छैनन्।
जनैपूर्णिमाको काम सकेर भदौ ९ गते दाजुभाइ चितवन लागेका थिए। एकराज ब्यारेकतिर। केही घण्टामा नै कृष्णभीरमा पहिरो गएको समाचार सुने उनले। उनलाई चिन्ताले घेर्यो। छोराहरु पनि त्यही पहिरोमा थुनिए कि? पहिरो खस्दा उनीहरु कृष्णभीर कटिसकेका रहेछन्।
तर, त्यसको १५ दिनपछि २४ गते उनलाई टेलिफोन आयो। फुपु दिदीकहाँ गएका गोपी फर्किएनन्। आफन्तकहाँ खोजखबर गरे। तर, फेला परेनन्।
'छोरालाई ठूलो पण्डित बनाउने रहर थियो। गुरुले पो साथमा लगे कि?'
उनका मनमा अनेक प्रश्नहरु उठे।
कसले बेपत्ता पार्यो?
२६ गते एकराज र पत्नी पेशल चितवन पुगे। खोजखबर गरे पत्ता लागेन्। प्रहरीकहाँ पुगे त्यहाँ पनि कुनै चासो दिइएन्। तत्कालीन माओवादीले सञ्चालन गरेको 'जनयुद्ध'ले उत्कर्ष लिँदैथियो।
गोपी हराएको भनिएको २० मिनेटको दुरीको बिचमा एउटा प्रहरी चौकी थियो। अनि खुला फाँट। वारपार सबै देखिने। अहिले जस्तो घर बनेर छेकिने थिएन। '२० मिनेट जतिको दुरी होला। एउटा छेउमा प्रहरी चौकी, अर्को छेउमा माओवादीको सेल्टर,' उनका मनमा अनेक आशंका दुवैतिर, 'आखिर कसले बेपत्ता पार्यो? प्रहरीको लिस्टमा पनि हेरेँ गोपीको नाम थिएन। माओवादीले पो लगे कि सुराकीको नाममा?'
हरेक घरबाट माओवादीले एक जनालाई अनिवार्य लैजाँदैछ भन्ने हल्ला उनले पनि सुनेका थिए। 'माओवादीले पो लगे कि?' उनको आशंका।
पीडामा बहिनीसँग उनी चिच्याए।
'तेरो एउटामात्र छोरो भएकाले माओवादीलाई मेरो छोरो पठाइस्?'
बहिनीप्रतिको अनायसै आशंकासहितको प्रश्न थियो उनको।
'दाइ म किन यस्तो गर्छु? गोपी पनि त मेरै छोराजस्तै हो।'
रुवावासी नै चल्यो दाजु बहिनीबिच।
'छोरो हराएको पीडा थियो। बहिनीसँग रिसाएँ। कराएँ पनि,' उनी सम्झिन्छन्। प्रहरीमा रिपोर्ट गराए। अनि काठमाडौं फर्किए। अनेक ठाउँ धाए छोराको खोजीमा। असोज १० गते आमा पेशल रानीपोखरी प्रहरी कार्यालय पुगेर छोरा बेपत्ता भएको उजुरी हालिन्। त्यही दिन रेडियो नेपालमा सूचना दिइन्। पत्रपत्रिकामा पनि। तर, गोपीको अझै ठेगान छैन।
'फर्किने आशमा जोखना हेर्दै ठाउँठाउँ पुगेँ'
छोरो भेटिने आश अझै मरेको छैन। गोपीको खोजीमा नाम चलेका ज्योतिष, पण्डितसम्म पुगेका छन् एकराज। अझै पनि पुग्दै छन्।
नवलपरासीको डण्डामा एक जना माताकहाँ जोखना हेराउन पुगेका थिए एकराज। 'चार वर्षमा फर्किन्छ छोरो चिन्ता लिन पर्दैन। ठूलो मान्छे बनेर फर्किन्छ,' माताले भनेको उनी सम्झन्छन्। यसबिच पाँचवटा चार वर्ष बित्यो तर अझै फर्किएका छैनन् गोपी।
'म भन्दा अगाडि हेराउनेको सबै सुनेको थिएँ। हेराउन आएका मन्छेकी आमाको आत्मा बोलाउनु भएको थियो माताले। सब कुरा ठ्याकठ्याक मिलेको थियो,' उनको आशालाई जीवन्त बनाएको थियो, 'गोपी पनि चार वर्षमा फर्किन्छ भन्ने आशा थियो। पाँच वटा चार वर्ष बिते। अझै फर्किएन।'
आशा अझै छ र जोखना हेराउन अझै छाडेका छैनन्। 'पूर्वमा एक जना माता हुनुहुन्छ भन्ने सुनेको थिएँ। म त जान सकिनँ। आफन्तलाई पठाएको थिएँ,' उनको आशा अझै अडिएको छ, 'उत्तरतिर गुरुसँगै छ भनिन् रे।'
गुरुकुल संस्कारमा गुरुले मन परेको चेलालाई आफ्नो शिष्य बनाएर लैजाने चलन छ। त्यसैले गोपीका गुरुसँग भेट्न पुगे झापा। 'छैन लगेको छैन। तपाईँ यति दु:खमा हुनुहुन्छ। मसँग छैन। भए तुरुन्तै तपाईँसँगै पठाइदिन्थेँ,' गुरुबाट पाएको जवाफपछि रित्तो फर्किनुको विकल्प थिएन।
जोखना हेर्दा कहिले भारत भन्छन्। कहिले गुरुले लगे भन्नेमा पनि आशंकित छन्। 'गुरुले लगेको भए उसले कपडा पनि लान्थ्यो। पुस्तक पनि लान्थ्यो। उसको बाकसमा मैले पठाएको पैसा जस्ताको त्यस्तै थियो,' उनी त्यसमा पनि ढुक्क छैनन्, ‘बाक्सामा रहेको ७०० रुपैयाँ लगेको छैन। गुरुले लगेको भए त बाक्सा पनि लैजान्थ्यो होला।'
बेपत्ताको छोरो बेपत्ता भयो भन्ने प्रमाण जुटाउनै सकस
द्वन्द्वको अन्त्य भयो। विस्तृत शान्ति सम्झौता भयो। सम्झौता भएको झण्डै ८ वर्षपछि बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग गठन भयो। आयोगमा निवेदन दर्ता गराउनै सकस भयो एकराजलाई।
'छोरा बेपत्ता भयो। कसैले पत्याउँदैनन्। प्रमाण खोजे,' उनले भने, 'चितवन प्रहरीमा दर्ता गराएको निवेदन लिन जाँदा माओवादीले जलाइदिए भनेर फर्काए। रानीपोखरीमा पनि त्यसै भनेर फर्काए।' बल्ल बल्ल वडाको सिफारिस र पिद्यापीठको पत्रसहित आवेदन बुझाएपछि निवेदन त दर्ता भयो।
तर, छोरा कसले खोजिदिने? वाग्ले दम्पतीको एउटै चिन्ता हो।
'छोराको फोटो बोकेर सडकमा पनि पुगेँ। सिंहदरबार घेर्दा लाठी पनि खाएँ,' आमा पेशलले भनिन्, 'काठमाडौंमा हुने बेपत्ताका हरेक कार्यक्रममा गोपीको फोटो लिएर पुगेकी छु।'
हरेक वर्ष विश्व वेपत्ता दिवसमा काठमाडौंमा कार्यक्रम हुने। पेशल हरेकपटक पुग्थिन्। 'हरेक कार्यक्रममा बोलाउँथे। जान्थेँ। दुई वर्ष भयो बोलाउन छाडे,' उनले भनिन्, 'अस्ति (विश्व वेपत्ता विरुद्धको दिवस) पनि बोलाएनन्। कोभिडले होला। तर, साँझ मैन बत्ती बालेका रहेछन्। हामीलाई बोलाएनन्। थाहा भएको भए जाने थिएँ।'
थाहा हुनेले नै बताउँदैनन् कसरी भेटिन्छन् बेपत्ता?
नेपाली सेनाबाट २०६१ सालमा अवकाश लिए एकराजले। जनयुद्धको समयमा नेपाली सेनाका ब्यारेकबाट बेपत्ता भएका छन् कैयौँ नागरिक।
'उनीहरु कहाँ छन्?' सेनालाई थाहा नहुने त होइन्, तर भन्दैनन्।
'हामी सिपाही हौँ। ब्यारेकबाट कति बेपत्ता भए। हामीलाई थाहा छैन। हामीलाई जानकारी पनि छैन,' एकराज आक्रोशित सुनिए, 'तर, त्यतिबेलाका कर्नेल र जर्नेललाई थाहा नहुने कुरा होइन। थाहा छ तर भन्दैनन्। बेपत्ता पार्ने समूह नै फरक हुन्थ्यो। उनीहरु ठूला पोस्टमा पनि हुन्थे। हामी त विचरा साना मान्छे।'
यस्तै घटना सम्झिन्छन् एकराज- 'एक दिन छ जना मान्छे व्यारेकमा ल्याएका थिए। त्यसमध्ये एक जना सेनाकै ठूला मान्छेका आफन्त पर्ने रहेछन्। उनी त छुटे। तर, पाँच जना अझै बेपत्ता छन्। उनीहरुलाई कहाँ लगियो भन्ने त्यसबेलाका हाकिमलाई थाहा नहुने कुरा होइन। हामीलाई त्यस्तो जानकरी दिइँदैन। त्यही माथि म पुजारी थिएँ। पूजा गर्ने काम। पछि थाहा पाएँ उनीहरु अझै बेपत्ता छन्।'
छोरोको यादमा जिउँदो
२२ वर्ष भइसक्यो। यादहरु धुमिल हुँदै जान थालेका छन्। तर, बेचैन भने उस्तै छ। 'दिनदिनै याद नआउला। तर मन बेचैन भने भइरहन्छ,' उनी भावुक सुनिए, 'चाडपर्व आउँदा याद आउँछ। कहाँ होला? कस्तो होला? बेचैन हुन्छ।'
बेपत्ता गोपी यतिबेला ३८ वर्षका हुने थिए। यादका लागि केही थान फोटोहरु छन्, पुराना र धमिलो भइसकेका। फ्रेममा जस्तै याद पनि धुमिल हुँदैछन् उनीहरुको।
सोमवार एकराजको घरमा पुग्दा उनी एउटा पुरानो पानापाना छुट्टिएको पुस्तक पल्टाउँदै थिए।
'यो पुस्तक उसको हो।'
त्यही पुस्तकको बिचमा एउटा फोटो फेला परेको थियो। गेरु वस्त्रमा लामो कपाल सहितका गोपी। तस्बिरलाई फ्रेम गरेर राखेका छन् एकराजले। स्वस्ती पढ्दै गरेको अर्को तस्बिर पनि देखाए उनले। 'यो फोटोमा दाजुभाइ नै थिए। यसलाई काटेर गोपीको मात्र बनाएका छौँ,' उनले सुनाए।
'२२ वर्ष भयो। न सास पाइयो। न त लास नै,' उनले भने, 'आँटेको काम पूरा गर्न सकिँदैन। त्यो जाँगर पनि लाग्दो रहेनछ।'
गोपी बेपत्ता हुँदा एक तले घर थियो। अहिले तीन तले भएको छ।
'रंग लगाउन मन लाग्दैन्,' उनी बैरागी सुनिए, 'तला थपिए पनि रंग लगाएको छैन। कतै घर खोज्दै आउँछ कि।'