काठमाडौं : 'काठमाडौं विमानस्थलमा सुरक्षा जाँचमा समय लाग्ने हुँदा यात्रु महानुभावहरुले उडान समय डेढ घण्टा अगावै विमानस्थलमा चेक-इनका लागि हार्दिक अनुरोध गर्दछौं।'
सोमवार बुद्ध एयरलाइन्सले जारी गरेको सूचना हो यो।
यसअघि आन्तरिक उडानमा यात्रुहरु ३० मिनेट अघि विमानस्थल पुग्दा हुन्थ्यो। तर सोमवारबाट भने एयरलाइन्सले एक्कासी डेढ घण्टा अगाडि नै विमानस्थल पुग्नु पर्ने सुचना जारी गर्यो। हवाइ उडान रोज्नुको एउटा पाटो छिटो यात्रा भए पनि विमानस्थलमा नै अतिरिक्त ढेड घण्टा बिताउनुपर्यो भने यात्रुलाई सकस हुन्छ नै।
तर, किन आन्तरिक उडानमा डेढ घण्टा अगाडि नै पुग्नुपर्ने? किन विमानस्थलमा एक्कासी सुरक्षा जाँचमा समय लाग्ने भयो त?
'विमानस्थलको सुरक्षा स्तर सधैं एकस्तरको हुन्छ। हिजो चाहिँ हाम्रो एक्स-रे मेसिनमा समस्या आएको थियो। त्यसो भएर केही समय लाग्ने भएको थियो,' विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने।
शुक्रवार झापाका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङका २६ वर्षीय बुद्धिमान खाती बाँकेमा ४ किलो सुन सहित पक्राउ पर्नुको असर विमानस्थल सुरक्षामा देखिएको हो। उनीहरु शुक्रवार दिउँसो श्री एयरलाइन्सको विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट नेपालगन्ज पुगेका थिए। अवैध रुपमा ४ किलो सुन विमानस्थल हुँदै पुगेपछि विमानस्थलको सुरक्षामा प्रश्न उठेको थियो। त्यसपछि विमानस्थल प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो। त्यसले गर्दा पनि विमानस्थलमा यात्रुको लाम देखिएको थियो।
'हिजो समस्या भएको हो। आज केही पनि छैन। सबै नर्मल भइसकेको छ,' प्रवक्ता शेर्पाले भने।
विमानस्थल प्रहरीले एसपी नान्तिराज गुरुङको नेतृत्वमा चार जनाको छानबिन समिति गठन गरेको छ। जसले ४ किलो सुन विमानस्थलबाट कसरी बाहिरियो भनेर अनुसन्धान गरिरहेको छ। सुन उनीहरुले जुत्तामा लुकाएर लगेका थिए। प्रहरीले आन्तरिक उडानमा समेत शंका लागेका यात्रुको जुत्ता खोलेर सोमबार चेक गरेको थियो।
'विमानस्थलमा सुरक्षा सधैं कडा नै हुन्छ। एक्स-रे मेसिन बिग्रिएको कारण केही भिड भएको थियो,' विमानस्थलका सुरक्षा प्रमुख एसएसपी राजेश बास्तोलाले भने।
