काठमाडौं : अर्थ मन्त्रालयले संघीय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने भएको छ। केपी शर्मा ओली सरकारले ल्याएको बजेटलाई प्रतिस्थापन गर्न भदौ २४ गते सरकारले विधेयक दर्ता गराउन लागेको स्रोतले जनाएको छ।
मन्त्रालय स्रोत अनुसार प्रतिस्थापन विधेयक तयार भइसकेको छ। बुधवार संसदको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेको गतिविधि हेर्ने र बिहीवार विधेयक दर्ता गराउने तयारी छ।
बुधवार सभामुख अग्नि सापकोटाको विरोधमा विपक्षी दलले संसद चल्न नदिने आंकलन गरिएको छ। नेकपा एमाले सभामुखले पार्टी फुटाउन षड्यन्त्रमा साथ दिएको भन्दै विरोध गर्ने बताइसकेको छ।
त्यसैले बिहीवार विधेयक दर्ता गरी १ हप्ताभित्र छलफल सकि पास गर्ने तयारी सरकारको छ। स्रोत अनुसार प्रतिस्थापन विधेयकले बजेटको आकार समेत संशोधन गरेको छ।
यस्तै, तयारी विनाको आयोजनामा बजेट हटाइएको छ भने आर्थिक पुनरुत्थानका लागि केही कार्यक्रम समावेश गरिएको छ। अध्यादेश निष्क्रिय हुनबाट जोगाउन संसदबाट पास गर्नुपर्ने बाध्यता छ।
