PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

संखुवासभा घटनाको अनुसन्धान गर्न सीआइबीबाट डीएसपीको नेतृत्वमा टोली पठाइयो



पहिलोपोस्ट

संखुवासभा घटनाको अनुसन्धान गर्न सीआइबीबाट डीएसपीको नेतृत्वमा टोली पठाइयो

काठमाडौं : सोमवार संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोलगाउँमा ६ जनाको हत्याबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान व्यूरो (सीआइवी) को टोली घटनास्थलतर्फ लागेको छ। केन्द्रीय अनुसन्धान व्यूरोबाट डीएसपी रुगुम कुँवरको नेतृत्वमा तीन जना प्रहरी संखुवासभा गएका हुन्।

'आज बिहानै काठमाडौंबाट हिँडिसकेको छ। हाम्रो टोलीले अनुसन्धानसँगै अन्य टोलीलाई सहयोग समेत गर्ने छ,' व्यूरोका प्रमुख डीआइजी धीरजप्रताप सिंहले भने।

आज बिहानबाट शवको जाँच, प्रहरीको तालिम प्राप्त कुकुरबाट ट्र्याकिङ, अन्य स्थानको सर्च लगायतका कामहरू सुरु भएको छ। घटनास्थल सदरमुकामबाट ५ घण्टाको दुरीमा भएका कारणले सोमबार प्रहरीको थप अनुसन्धान टोली पुग्न समय लागेको थियो। त्यस्तै सुनसरीको धरानबाट तालिमप्राप्त कुकुर सहितको टोली राति अबेर पुगेकाले पनि आज बिहानबाट काम सुरु भएको संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए।

एकै परिवारका ६ जनाको धारिलो हतियार प्रहार गरेर हत्या गरिएको थियो। घटनामा दुई जना नाबालक पनि परेका छन्। ५६ वर्षीय तेजबहादुर, उनकी वृद्ध आमा, श्रीमती, बुहारी र दुई नातिनातिना रहेका छन्। ८४ वर्षीय पार्वती कार्की, उनका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको हत्या भएको हो।

तेजबहादुरका दुई छोरा भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन्। एकै परिवारका ६ जना मारिँदा घरमा रहेका तेजबहादुरका बुबा भने बच्न सफल भएका छन्। उनले बिहानमात्र घटना भएको थाहा पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell