PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

देउवाको गृह जिल्लाका कांग्रेस सभापतिले स्थगित गरे अधिवेशन, निर्वाचन अधिकृतले भने : अधिवेशन हुन्छ



पहिलोपोस्ट

देउवाको गृह जिल्लाका कांग्रेस सभापतिले स्थगित गरे अधिवेशन, निर्वाचन अधिकृतले भने : अधिवेशन हुन्छ

 काठमाडौं : डडेल्धुरामा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित गरिएको छ।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्लामा क्रियाशील सदस्यताको नामावली व्यापक हेरफेर र घटबढ गरेको भन्दै अधिवेशन स्थगित गरिएको जिल्ला सभापति कर्ण बहादुर मल्लले जनाएका छन्।

एक विज्ञप्ती जारी गर्दै उनले केन्द्रीय निर्वाचन समितिले अधिवेशन सम्पन्न गर्नका लागि खटाएको निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले निर्वाचन सामाग्री पार्टीमा नबुझाएको समेत बताएका छन्। साथै बमका साथै अन्य केहीले एक पक्षीय रुपमा बैठकमा सहभागी भएर दस्तखत गर्न नमानेको कारण अधिवेशन स्थगित गर्नुपरेको उनले दाबी गरेका छन्।

यता, जिल्ला सभापति मल्लले आरोप लगाएका निर्वाचन अधिकृत लोकेन्द्र बहादुर बमले पनि एक विज्ञप्ती निकालेर अधिवेशन केन्द्रीय निर्वाचन समितिको तालिका अनुसार नै हुने बताएका छन्।

क्रियाशिल सदस्यहरुको टुंगो नलागेको कारण वडा अधिवेशन हुन नसकेको भन्दै बमले केन्द्रीय निर्वाचन समितिको निर्णय अनुसार भदौ २५ गते गाउँ/ नगर वडा अधिवेशन हुने बताएका छन्। यस्तै, समितिले तय गरेको तालिका अनुसार नै गाउँपालिका, नगरपालिका, प्रदेशसभा क्षेत्रिय र जिल्ला अधिवेशन हुने उनले उल्लेख गरेका छन्।

जिल्ला सभापति मल्ल देउवा विरोधी खेमाका हुन्। पार्टी सभापति शेरबहादुर देउवाकै गृह जिल्लामा उनको इच्छा विपरीतका पात्र हाबी रहनु तथा उनको गृह प्रदेशका अन्य जिल्लामा आकाङ्क्षीको लहर लामो देखिएपछि जिल्ला अधिवेशनको रौनक थप पेचिलो र रोचक बन्दै गएको छ।

१३औँ महाधिवेशनमा सुदूरपश्चिमका ९ जिल्लामध्ये दार्चुला, बैतडी र देउवाकै गृह जिल्ला डडेलधुराबाहेक ६ जिल्लामा देउवा निकट नेता निर्वाचित भएका थिए।

अहिले ९ जिल्ला सभापतिको दौडमा ४० भन्दा बढी नेताको चर्चा छ।     

शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा उनको इच्छा विपरीतका पात्र हालका प्रदेश सभा सदस्य समेत रहेका कर्ण मल्लले विगत दुई कार्यकाल सभापतिमा बाजी मारिसकेका छन्। देउवाले नचाहँदा-नचाहँदै पनि उनी डडेलधुरामा हाबी भइरहे।

अहिलेको अधिवेशनमा पनि मल्ल र देउवाले छुट्टा-छुट्टै पात्रलाई जिल्ला सभापतिका लागि अघि सारेका छन्। देउवाले परशुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सार्दा मल्लले वर्तमान उपसभापति करुणाकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell