काठमाडौं: क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी) अन्तर्गत नेपाल, अमेरिका र ओमनबीचको त्रिदेशीय सिरिजको तयारीमा रहेको नेपालले पपुवा न्युगिनीसँग आज सम्पन्न खेलमा नेपालले जित निकालेको छ। ओमनको अलअमेरत स्टेडियममा सम्पन्न एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीमाथि २ विकेटको जित निकालेको छ।
ओमनको मस्कट स्थित अलअमेरात स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले ३३ औं ओभरको अन्त्यमा सबै विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो। १ सय ३५ रनको लक्ष्य पछ्याएको नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो।
फितलो सुरुवात गरेको न्युगिनीका लागि लेगम सिएकाले सर्वाधिक ३० रन बनाउँदा चार्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए।
बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ३५ रन दिएर ४ विकेट लिएका हुन्। त्यस्तै किफायती देखिएका कुशल मल्ल र विक्रम सोबले समान २/२ विकेट लिए। त्यस्तै सोमपाल कामीले १ विकेट लिए।
१३५ रनको लक्ष्य पछ्याएको नेपालको ओपनिङ सन्तोषजनक भएपनि मध्यक्रम सम्हालिन नसक्दा जितका लागि संघर्ष गर्नु परेको थियो। नेपालको धरमरिएको मध्यक्रमलाई रोहित कुमार पौडेल र सोमपाल कामीले सम्हालेका थिए।
नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४१ रन बनाउँदा सोमपाल कामीले अभिजित २२ रन बनाए।
त्यस्तै ओपनर आशिफ शेखले ३० रन तथा कुशल भुर्तेलले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
नेपालले शुक्रवार फेरि पपुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ।
