PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

कर्णालीमा तीन सांसद्ले छोडे एमाले, एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको यस्तो छ विवरण



पी बी खड्का

कर्णालीमा तीन सांसद्ले छोडे एमाले, एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिको यस्तो छ विवरण
प्रदेश निर्वाचन कार्यालय, सुर्खेत।

सुर्खेत : नेकपा (एमाले)बाट छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी पार्टी)मा सनाखत गर्ने समय आज सकिएको छ। प्राप्त विवरण अनुसार यसअघि तत्कालिन एमालेभित्र नेता माधव कुमार नेपाल समूह बलियो मानिएको कर्णालीमा पार्टी फुटेसँगै खुम्चिएको छ।

कर्णाली प्रदेशसभामा नेतृत्व गर्ने एमालेबाट निर्वाचित तीन सांसद रुकुम (पश्चिम)की देवी ओली, मुगुका चन्द्रबहादुर शाही र जुम्लाका पदम बहादुर रोकायाले एकीकृत समाजवादी पार्टी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ। यसअघि फ्लोर क्रस गरेका चार सांसदलाई एमालेले कारबाही गरेपछि १६ जना रहेको प्रदेशसभामा ३ जनाले समाजवादी रोजेसँगै एमाले सांसद संख्या १३ मा झरेको छ।

कर्णालीका दश जिल्लामा २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित स्थानीयतहका ५९ जना अर्थात २७ प्रमुख र ३२ जना उपप्रमुख छन्। जसमा नेता नेपाल समूहमा ३० जना थिए भने अध्यक्ष केपी शर्मा ओली समूहमा २९ जना थिए। तर, निर्वाचन कार्यालयका अनुसार एकीकृत समाजवादीमा सनाखत गर्ने प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्ष तथा अन्य जनप्रतिनिधि न्यून छन्।

स्थानीय तहका जनप्रतिनिधिमध्ये सबैभन्दा बढी सल्यानमा एमाले छोडेर एकीकृत समाजवादी पार्टी रोजेका छन्। एकीकृत समाजवादी पार्टीको कर्णाली प्रदेश इन्चार्ज समेत रहेका प्रकाश ज्वालाको गृह जिल्ला भएकाले पनि एकीकृत समाजवादीमा जाने जनप्रतिनिधको संख्या बढी छ।

प्राप्त विवरण अनुसार एकीकृत समाजवादी रोज्ने सबैभन्दा कम रुकुम (पश्चिम)मा ३ जना मात्रै छन्।

त्यस्तै, सुर्खेतमा एमालेबाट निर्वाचित भएका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षले कसैले पनि एकीकृत समाजवादी पार्टी रोजेनन्। सुर्खेतमा वडाअध्यक्षसहित १५ जना जनप्रतिनिधिले मात्रै एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन्।

निर्वाचन कार्यालय सल्यानका अनुसार हालसम्म गाउँपालिका अध्यक्ष र उपाध्यक्ष १/१ वडा अध्यक्ष १७ र वडा सदस्य ५३ जना गरी जम्मा ७६ जनाले समाजवादी पार्टी रोजेका छन्। यद्यपी, अहिले दुई जनाले सनाखत फिर्ता लिने भन्दै कार्यालयमा निवेदन दर्ता गराएको कार्यालयका निमित्त प्रमुख तेजेन्द्र कुमार चन्दले जानकारी दिए।

मुगुमा एक जना जिल्ला समन्वय समिति सदस्य, गाउँपालिका उपाध्यक्ष एक, वडा अध्यक्ष ६ र २० जना वडा सदस्यले एमाले छोडेर समाजवादी रोजेका छन्।

हुम्लामा चार जना वडा सदस्य र एक जना जिल्ला समन्वय समिति सदस्यले एमाले त्यागेर एकीकृत समाजवादी रोजेका छन्। जुम्लामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमध्ये ४४ जनाले मात्रै एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन्।

जिल्ला निर्वाचन कार्यालय कालिकोटका अनुसार एमाले छोडेर ६५ जना जनप्रनितिधिले एकीकृत समाजवादी पार्टी रोजेका छन्।

त्यस्तै, प्रदेश निर्वाचन कार्यालयका अनुसार डोल्पाका ४२, जाजरकोटमा १० जना, रुकुम (पश्चिम)मा ३ जना र दैलेखमा ६३ जना जनप्रतिनिधिले एमाले छोडेर एकीकृत समाजवादी पार्टी रोजेका छन्।

अधिकांश निर्वाचन कार्यालयले प्रमुख, उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, वडा अध्यक्षसहित सदस्यहरुको विवरण छुट्याउन लागि परेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell