PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी



रिना थापा

गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

पोखरा : गण्डकी प्रदेशमा ४२ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले दल रोज्‍नका लागि आज साँझसम्मको समयावधी दिएको थियो।

समयावधी सकिएसँगै प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लाका ४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको साथ छोडेर समाजवादीमा जाने ४२ जना जनप्रतिनिधि  कास्की, स्याङ्जा, तनहुँ, म्यादी, गोरखा, बागलुङ, पर्वत र मुस्ताङका हुन्।

कास्कीका चार, स्याङ्जाका सात, तनहुँका १३, म्यादीका र गोरखाका तीनतीन, बागलुङका नौ, पर्वत र मुस्ताङका एक(एक गरी ४२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी रोजेका हुन्। प्रदेशमा एकीकृत समाजवादी रोज्नेमा १३ जना वडाध्यक्ष, १ जना गाउँपालिका उपाध्यक्ष र २८ जना पालिका सदस्य छन्।

जिल्ला निर्वाचन आयोगबाट प्राप्त विवरण अनुसार तनहुँको शुक्लागण्डकीका र व्यास नगरपालिका ५ , बागलुङका ४, गोरखाका २, आँधिखोला गाउँपालिका स्याङ्जाका १ र पर्वतका १ वडाध्यक्ष गरी प्रदेशमा १३ जना वडाध्यक्षले एकीकृत समाजवादी रोजेका छन्।

यस्तै, आँधिखोला गाउँपालिका स्याङ्जाकी गाउँपालिका उपाध्यक्ष शर्मिलादेवी पौडेलले एकीकृत समाजवादी रोजेकी छिन्।

तनहुँका ८, बागलुङका ५, स्याङ्जाका ५, कास्कीका ४, म्याग्दीका ३, गोरखाका २ र पर्वतका १ जना गरी प्रदेशमा २८ जना वडा सदस्यले एकीकृत समाजवादी रोजेका हुन्।

कास्कीमा एकीकृत समाजवादी रोज्ने चार जना जनप्रतिनिधिमा माछापुच्छ्रे गाउँपालिका सदस्य लालबहादुर परियार, सदस्य बाबुराम भण्डारी, मादी गाउँपालिका ११ का वडा सदस्य रणबहादुर लामा, रूपा गाउँपालिका ५ का दामोदर घिमिरे हुन्।

स्याङ्जामा एकीकृत समाजवादी रोज्नेमा आँधिखोला २ का वडाध्यक्ष रामचन्द्र पौडेल, उपाध्यक्ष शर्मिलादेवी पौडेल छन्। सोही पालिकाका सदस्य विन्दु विक र खड्कबहादुर नेपालीले पनि एकीकृत समाजवादी रोजेका छन्। यस्तै, पुतलीबजार नगरपालिका ४ बाट सदस्य गुमानसिंह डोलराज गौतम र हरिनास गाउँपालिका ७ का वडा सदस्य ऋषिराम गौतमले पनि रोजेका छन्।

यता म्याग्दीमा एकीकृत समाजवादी रोज्नेमा बेनी नगरपालिकाका कार्यपालिका सदस्य कृष्णकुमार विक, दुर्गा कार्की र धवलागिरी गाउँपालिकाका सदस्य देउप्रसाद छन्त्यालले छन्।

बागलुङमा एकीकृत समाजवादी रोज्नेमा बागलुङ नगरपालिका २ का वडाध्यक्ष जीवन आचार्य, वडा सदस्य सुजन बोसेल, बागलुङ १ का वडासदस्य लालबहादुर केसी, बागलुङ १० की वडा सदस्य सीता थापा छन्। यस्तै, जैमिनी नगरपालिका ४ का वडाध्यक्ष चक्र थापा, नगर कार्यपालिका सदस्य बलबहादुर सार्की, काठेखोला गाउँपालिका ३ का वडाध्यक्ष यमबहादुर श्रीस, ढोरपाटन नगरपालिका ९ का वडाध्यक्ष हरि घर्ती र वडा सदस्य यम विक छन्।

यता पर्वतमा एकीकृत समाजवादी रोज्नेमा कुश्मा नगरपालिका १४ का वडाध्यक्ष भीमबहादुर गुरूङ र फलेवास नगरपालिका ४ का वडा सदस्य बालचन्द्र नेपाली छन्।

तनहुँमा व्यास नगरपालिका ४ का वडाध्यक्ष विश्व न्यौपाने, शुक्लागण्डकी ११ का वडाध्यक्ष, शुक्लागण्डकी–५ का वडा सदस्य थमबहादुर थापा, वडा नम्बर ९ का वडासदस्य दिलबहादुर थापाले एकीकृत समाजवादी रोजेका छन्। शुक्लागण्डकी ११ कै डोलमाया विक, रिताकुमारी भुजेल थापा, सानुमाया महत र थमन आले, व्यासका वडासदस्य मनबहादुर गुरूङ र आँबुखैरेनी गाउँपालिका ६ का सदस्य सञ्जय गुरूङले पनि एकीकृत समाजवादी रोजेका छन्।

यस्तै, गोरखामा एकीकृत समाजवादी रोज्नेमा आरूघाट गाउँपालिका ३ का वडाध्यक्ष श्रीबल बराम, वडा नम्बर ५ का वडाध्यक्ष नारायणध्वज खड्का, गोरखा नगरपालिका ८ की वडा सदस्य कल्पना नेपाली रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell