काठमाडौं : गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ। कोभिड १९ संक्रणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि मन्दिर सर्वसाधरणको लागि बन्द गरिएको थियो। आजबाट भने मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूलपुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए।
मनकामना क्षेत्र विकास समितिले मन्दिरमा सरकारले तोकेको स्वस्थ्य मापदण्डको पालना गर्ने गरी सर्वसाधारणका लागि मन्दिर खोल्ने निर्णय गरिएको उनले बताए।
'आज बिहान नियमितरूपमा गरिने नृत्यपूजा गरेर सर्वसाधारणलाई पनि पूजाआजाका लागि मन्दिरमा प्रवेश गराइएको छ,' मूलपुजारी थापाले भन्नुभयो, 'पुजारी र भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर तत्कालका लागि मन्दिर बाहिरको झ्यालबाट पूजा सामग्री पुजारीलाई दिने गरी व्यवस्था मिलाइएको छ।
मन्दिरमा भाकल बुझाउन आउने भक्तजनका लागि बलि दिने स्थानमा समेत छुट्टै पुजारीको व्यवस्था मिलाइको उनले बताए। चार महिनापछि मन्दिर खुल्ला भएको पहिलो दिनमै सयौँ भक्तजन पूजापाठका लागि आएको मूलपुजारी थापाले जानकारी दिए। मन्दिरमा पुग्ने भक्तजनले अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका व्यवस्थासमेत गरिएको उनको भनाइ छ।
यता मन्दिर परिसरमा पुग्ने भक्तजनको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी मन्दिर परिसरमै हेल्थ डेस्कसमेत स्थापना गर्ने तयारी गरिएको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिए।
यसैबिच कोरोना संक्रममणको जोखिमका कारण बन्द रहेको गोरखा दरबारस्थित कालिका मन्दिर पनि आजदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ। रासस
