काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुटाउने कार्य गलत भएको बताएका छन्।
प्रेस चौतारी नेपाल कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संघर्षको इतिहास बोकेको पार्टीलाई बलियो बनाएर लैजानुको सट्टा फुटको बाटो रोज्नु कसैका लागि पनि हित नहुने बताएका हुन्।
पार्टीमा हुने वैचारिक मतभेद आपसी छलफल एवं अन्तर्क्रियाबाट समाधान गर्न पार्टी भित्रै अन्तरसंघर्ष गर्नुपर्ने उनको मत थियो। तर, एमाले फुटाएर कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने काम भएको उनले बताए।
'पार्टी एकताका सम्बन्धमा माधव नेपाल समूहले नै अघि सारेका ६ बुँदालाई नै समेट्दै १० बुँदे खाका तयार गरिएको हो। जुन बुँदामा माओवादी केन्द्रबाट एमालेमा आएका नेता कार्यकर्तालाई पनि समेटेको छ। दश बुँदेलाई पनि आत्मसात् गर्न नसकी माधव नेपाल समूहले पार्टी फुटको अवस्थामा पुर्याएको हो' उनले भने।
पार्टीमा समयसापेक्षरुपमा युवा जनशक्ति आउनुपर्ने आवश्यकता औँल्याउँदै उनले समयको मागलाई आत्मसात् गर्नसक्ने नेतृत्व वर्तमानको आवश्यकता भएको बताए। वर्तमान अवस्थामा विभिन्न दल मिलेर बनेको गठबन्धन सरकारले समस्याको समाधान गर्न नसक्ने उनको भनाइ छ।
मिलिनिया च्यालेन्ज कोर्पोरेशन (एमसीसी) संसदमा छलफल भएर अघि बढाउनुपर्ने उनले बताए।
'एमसिसीको विषय यसअघि नै संसद्मा छलफल हुनुपर्थ्यो। यसका गतल र सही पक्षबारे संसदमै छिनोफानो गरी निष्कर्ष निकालेको भए अहिलेको अवस्था सिर्जना हुने थिएन' उनले भने। रासस
