काठमाडौं : बंगलादेश र नेपाली महिला फुटबल टोली भोलि दशरथ रंगशालामा प्रतिस्पर्धाका लागि उत्रँदैछन्। खेलको पूर्वसन्ध्यामा बंगलादेशका प्रशिक्षक गोलम रोब्बनी छोटोनले सावित्रा भण्डारीको अनुपस्थितिमा आफ्ना डिफेन्डरहरुले 'रिलिफ' महसुस गर्ने प्रतिक्रिया दिएका छन्।
'भण्डारी दक्षिण एसियाकै उत्कृष्ट खेलाडी मध्येकी हुन्। उनी चोटका कारण अनुपस्थित हुँदा दु:ख लागेको छ। उनको अनुपस्थितिमा हाम्रा डिफेन्डरहरुले राहत महसुस गर्नेछन्,' प्रिम्याच कन्फ्रेन्समा छोटोनले भने, 'नेपाल एउटा ठूलो प्रतिस्पर्धी हो। भोलि प्रतिस्पर्धात्मक खेल हुनेछ।'
त्यस्तै उनले बंगलादेशको टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको बताउँदै नेपाललाई चुनौती दिन आफूहरु तयार भएको बताए। उनले महामारी र कडाइबिचपनि मैत्रीपूर्ण खेलको वातावरण मिलाएकोमा फुटबल फेडेरेसनलाई धन्यवाद दिए।
त्यस्तै, बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँगको खेल एएफसी क्वालिफायर्सको राम्रो तयारी हुने बताइन्।
सावित्रालाई मिस गर्नेछौं : नेपालका प्रशिक्षक फिलिप्स
त्यस्तै नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले पनि सावित्रा भण्डारीको अनुपस्थितिलाई 'ठूलो क्षति' को रुपमा अर्थ्याए।
'सावित्रा पक्कै पनि मिस हुनेछिन्। यो ठूलो क्षति हो,' प्रशिक्षक फिलिप्सले भने, 'हामीसँग नयाँ ७ जना खेलाडी छन्। ६ हप्ताभन्दा बढी अभ्यास पनि गरेका छौं। राम्रो प्रगती पनि भएको छ। बंगलादेशसँगको खेलले त्यो देखाउने छ।'
उनले महामारीबिच खेलहरु हुनु ठूलो अवसर भएको भन्दै केही महत्वपूर्ण खेलाडी चोटसँग जुधिरहेको समेत बताए। यद्यपि, आफूसँग अहिले बलिया २३ खेलाडी भएको भन्दै टिममा स्थान बनाउन खेलाडीलाई अवसर पनि हुने बताए।
नेपाल र बंगलादेशबिचको भदौ २४ र २७ गते दशरथ रंगशालामा खेल आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।नेपालसँग मैत्रीपूर्ण खेल खेल्न बंगलादेशी टोली मंगलवार काठमाडौं आइपुगेको थियो।
नेपाली टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छ। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।
नेपाल र बंगलादेशबिचको खेलका लागि २०० र ५०० टिकट शुल्क निर्धारण गरिएको छ।
नेपाली टिम
अञ्जना राना मगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, बिमला बिक, बिमला चौधरी, दीपा राई, गीता राना, हीरा कुमारी भुजेल, इन्दिरा राई, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, श्रृजना सिंह
