PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

अफगानिस्तानमा तालिवान सरकार : अखुनजाडा ‘डिफ्याक्टो लिडर’, वृद्ध नेतालाई कार्यवाहक प्रधानमन्त्री, यी हुन् अरु मन्त्री



पहिलोपोस्ट

अफगानिस्तानमा तालिवान सरकार : अखुनजाडा ‘डिफ्याक्टो लिडर’, वृद्ध नेतालाई कार्यवाहक प्रधानमन्त्री, यी हुन् अरु मन्त्री

काठमाडौं : मंगलवार तालिवानले अफगानिस्तानको अन्तरिम सरकारको घोषणा गरेको छ। इस्लामिक इमिराट्स अफ अफगानिस्तानको अन्तरिम सरकारमा सबै पुरुष र तालिवान ‘हार्डलाइनर’ नेताहरुको सहभागिता छ। सन् १९९६ पछि तालिवानको सरकारको नेतृत्वमा रहेका र २००१ देखि २० वर्ष अमेरिकी नेतृत्व विरुद्धको संघर्षमा सहभागी भएका तालिवानका भेट्रान नेताहरु मंगलवार घोषणा गरेको अन्तरिम सरकारमा सहभागी भएका छन्।

अन्तरिम सरकारमा सहभागी अनुहारहरुलाई हेर्दा यसले अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न नसक्ने एपीले जनाएको छ।

तालिवानले घोषणा गरेको अन्तरिम सरकारका प्रधानमन्त्री तथा अन्य मन्त्रीहरु अधिकांश प्रतिबन्धित नेताहरु रहेका छन्। कतिपय नेताहरु सर्वाधिक खोजीको सूची ‘मोस्ट वान्टेड’ आतंकवादी रहेका छन्। कतिपयको टाउकोमा इनाम राखिएको छ। जसमध्ये कार्यवाहक गृह मन्त्रीको रुपमा रहेका सिराजुद्दिन हकानी एफबीआईको सूचीमा टाउकोको मूल्य ५ मिलियन डलर राखिएको एपीको समाचारमा उल्लेख छ।

मंगलवार घोषित मन्त्रिपरिषदमा अफगानिस्तानको बहुसंख्य पास्तुन समुदाय इतरका व्यक्तिहरुलाई समावेश गरिएको छैन। यसले पनि अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न कठिने हुनेछ।

यद्यपि, नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै तालिवानका प्रवक्ता जविहुल्लाह मुजाहिदले यो मन्त्रिपरिषद् अस्थायी भएको बताएका थिए। अफगानिस्तानले काबुलमा भएको परिवर्तनलाई वासिङ्टनले नजिकबाट नियालिरहेको भन्दै तालिवानलाई मात्र समावेश गरिएको, महिला सहभागिता नभएको र मन्त्रिहरुको ट्र्याक रेकर्ड राम्रो नभएको भन्दै उनीहरुको गतिविधिलाई हेरेर मुल्यांकन गर्ने बताएको छ

तालिवानले घोषणा गरेका अन्तरिम प्रधानमन्त्री मुल्लाह हसन अखुन्‍डा तालिवानको पछिल्लो सरकारको नेतृत्वमा थिए।  

यस्तो छ तालिवानी सत्ताको नेतृत्व

हइबातुल्लाह अखुनजाडा, सर्वोच्च नेता

हइबातुल्लाह अनुनजाडा तालिवानको अघोषित सर्वोच्च नेता हुन्। उनी ‘बफादार नेता’ हुन्। इस्लामिक कानुनका विज्ञ अखुनजाडा तालिवानका सर्वोच्च नेता मानिन्छन् जसको हातमा समूहको राजनीतिक, धार्मिक तथा सैन्य मामिलाको अन्तिम अधिकार रहेको छ। उनलाई त्यहाँको राष्ट्र प्रमुखको रुपमा लिइएको छ। यद्यपि, यसको सार्वजनिक घोषणा गरिएको छैन। बीबीसीले तयार पारेको इन्फोग्राफमा उनलाई सबैभन्दा माथि राखिएको छ।

उनी तालिवान सरकारका प्रधान न्यायाधीश थिए। अख्तर मनसुरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भए पछि उनी तालिवानको नेतृत्वमा आएका थिए। २०१६ को मेमा अकास्मिक रुपमा बेपत्ता हुनुपूर्व उनी १५ वर्ष दक्षिण पश्चिम पाकिस्तानको कुचलाकमा रहेको एउटा मस्जिदमा धार्मिक प्रवचन दिएर बसेका थिए।

पाकिस्तानको बलुचिस्तानमा रहेको उक्त मस्जिदमा धार्मिक विचार फैलाउँदै बसेका उनी २०१६ तालिवानी प्रमुख मुल्लह अख्तर मनसुरको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएसँगै तालिवानको ‘अमिर’ को रुपमा बढुवा भएका थिए।

जब उनी अमिर बने उनी आफ्नो परिवारसँगै त्यस स्थानबाट छाडेको अल हज मस्जिद सञ्चालन गर्ने हफिज अब्दुल मजिदले रोयटर्ससँग भनेका छन्

उनको उमेर ६० वर्षको हाराहारीमा भएको बताइन्छ। तर, एकिन भने छैन। उनले अफगानिस्तानमा तालिवानको सत्ता पतन भएपछिको १५ वर्ष अल हज मस्जिदमा धार्मिक शिक्षा दिएर बिताए। त्यस बिच उनले पाकिस्तानका ग्रामिण इलाकाहरुमा पुगेर लाखौँ युवाहरुलाई इस्लाम शिक्षा दिएका थिए।

अध्ययनशील उनी ६० को उमेर आसपासमा रहेका उनीसँग अध्ययन गर्नेहरुले बताएका छन्। तालिवान प्रमुखको रुपमा बढुवा हुन दुई दिन अगाडि उनले कुचलाक छाडेका थिए। त्यहाँ उनले बिहान ८ बजे देखि १२ बजेसम्म प्रवचन दिन्थे। त्यका लागि उनले मासिक १० हजार तलब दिइन्थ्यो।

‘हामी चिन्तित छौँ किनकि उनी गए। उनी महान शिक्षक थिए र यो मस्कलाई ठूलो सहयोग गरेका छन्,’ २०१६ मा मस्कका सञ्चालक मजिदले भनेका छन्। उनी शेख उल हडित (इस्लामको हडित वर्णमालाका विद्वान) भएको र अमिर भएसँगै मस्क छाडेको उनले बताएका छन्।

उनले २००१ मा अमेरिकाले अफगानिस्तानमा आक्रमण गर्दा आफ्ना परिवारका सदस्यसमेत गुमाएका थिए। २०१४ मा अखुन्ड्जाडाले पाकिस्तानको क्वोटामा तालिवानी नेताको मृत्यु पछि निस्किएको सार्वजनिक र्‍यालीलाई सम्बोधन गरेको उनका एक अनुयायी पाइ खानले रोयटर्सलाई बताए पनि यसलाई पुष्टि गर्न रोयटर्सले नसकेको जनाएको छ।

उनको हालसम्म एउटामात्र प्रस्ट तस्बिर सार्वजिनक भएको छ जहाँ उनी क्यामेरा तर्फ फर्किएका छन्। सन् २०१६ मे २५ मा तालिवानले ट्वीटरमार्फत् सार्वजनिक गरेको थियो उक्त फोटो।

मंगलवार तालिवानले सार्वजनिक गरेको उनको लिखित वक्तव्यमा अखुनजाडाले भनेका छन्, ‘युद्धले ध्वस्त भएको देशलाई हामी पुन निर्माण गर्नेछौँ।’ तालिवानले काबुलमा सत्ता हासिल गरेपछिको उनको यो पहिलो प्रतिक्रिया रहेको रोयटर्सले जनाएको छ।

तालिवानका हार्डलाइनर समूहका नेता जसका छोरा आफै ‘सुसाइड बम्बर’ हुन्। उनले सँधै छाँयामा रहेर नेतृत्व गरे। उनले सार्वजनिक रुपमा अरुलाई अगाडि सारे। दोहामा कार्यालय खोलेर उनले दोस्रो र तेस्रो तहका नेतालाई संवादको जिम्मा दिएका थिए। अहिले पनि दोस्रो तहका नेतालाई अगाडि सारेका छन्। यद्यपि, उनी त्यहाँको ‘डिफ्याक्टो’ लिडर हुन्।

मुल्लाह हसन अखुन्‍डा, अन्तरिम प्रधानमन्त्री

संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको तथ्यांक अनुसार उनी कान्दाहार प्रान्तमा जन्मिएका हुन्। उनको जन्मको बारेमा समेत सुरक्षा परिषद्सँग दुईवटा तथ्यांक छ। एउटा १९४५-१९५० र अर्को १९५५ देखि १९५८ सम्म। उनी तालिवानका संस्थापकसँगै राष्ट्रसँगको कालो सूचीमा रहेका व्यक्ति रहेको बीबीसीले जनाएको छ।

उनी लमो समयसम्म तालिवानको शक्तिशाली ‘डिसिजन मेकिङ बडी’ ‘रेह्बारी शुरा’ (लिडरसिप काउन्सिल)मा थिए। उनी यसअघि तालिवानले १९९६ देखि २००१ सम्म सत्ता सञ्चालन गर्दा त्यहाँको परराष्ट्र मन्त्री र उप प्रधान मन्त्रीसमेत बनेका थिए

उनी तालिवानका संस्थापक मुल्लाह मोहम्मद उमरको नजिक रहेर काम गरेका हुन्। तालिवानको जन्मभूमि कान्दाहारमा जन्मिएका अखुन्डालाई ‘उमरको नजिकको व्यक्ति र राजनीतिक सल्लाहकार’को रुपमा राष्ट्र संघको सान्सेसन रिपोर्टमा उल्लेख रहेको छ। प्रधानमन्त्री बनेका अखुन्डा तालिवान आन्दोलनमा सम्मानति तथा सर्वोच्च नेता अखुनजाडासँग नजिकको सम्बन्ध रहेको नेता भएको रोयटर्सले जनाएको छ।

अखुन्ड धार्मिक विद्वान होइनन्। राष्ट्र संघको इन्स्टिच्युट अफ पिसका एक विश्लेषक असपान्डियार मिरका अनुसार उनी बढी राजनीतिक व्यक्ति हुन्। उनी अहिले सत्तामा आउनु ९/११ अगाडि उनी वरिष्ठ नेताको रुपमा सक्रिय थिए।

उनी तालिवान नेतृत्वमध्ये सबैभन्दा वृद्ध नेता हुन्। उनी मध्ये ६० वा त्यो भन्दा बढीको उमेरमा रहेको अनुमान छ। युरोपियन युनियनको प्रतिबन्ध सूचीमा उनी ७६ वर्षको भएको उल्लेख रहेको रोयटर्सले जनाएको छ।

मुल्लाहा अब्दुल गानी बारादार, उपप्रधानमन्त्री

तालिवानको राजनीतिक उपप्रमुखको रुपमा रहेका मुल्लाहा अब्दुल गानी बारादारलाई तालिवानले उपप्रधानमन्त्रीको रुपमा छनोट गरेको छ।

तालिवानका एक संस्थापक उनी उनी दोहामा तालिवानले खोलेको राजनीतिक कार्यालयका संस्थापक हुन्। उनी तालिवानको वार्ता टोलीका सदस्य हुन्।

सन् २०१० मा पाकिस्तानको कराँचीमा उनी पक्राउ परेका थिए। तालिवानका संस्थापक उमरका विश्वासिला कमाण्डरको रिहाइ २०१८ मा भएको थियो। तालिवानले शान्ति वार्ताको प्रस्ताव गर्दा उनको रिहाइको प्रमुख शर्त राखिएको थियो। उनकै नेतृत्वमा भएको संवादले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको बाटो खुलेको थियो। 

बारदारलाई तालिवानको मध्यम उदारबादी मुहारको रुपमा हेरिन्छ। उनले पछिल्लो समय चीन, मस्को लगायतका देश पुगेर तालिवानको लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने काम गरेका थिए।    

मलवी अब्दुल सलाम हानफी, उपप्रधानमन्त्री

उनी तालिवान नेतृत्वको अफगानिस्तान सरकारको दोस्रो क्रमका उप्रधानमन्त्री हुन्। दोहा कार्यालयमा रहेर उनले अन्तर्राष्ट्रिय समुदायसँग समर्थन जुटाउन भूमिका खेलेका थिए। उनी बरादरसँगै रहेर मस्को र चीनसमेत पुगेका थिए। उनी यसअघि तालिवान सरकारमा शिक्षा उपमन्त्रीसमेत रहेका थिए। उनी केही समय कावुल विश्वविद्यालयमा प्राध्यापकको रुपमा रहेका थिए। उनी उज्वेक मुलका नागरिक हुन्।

उनी २०२० मा तालिवान र अफगान सरकारबिचको वार्ता टोलीका सदस्यसमेत हुन्।

मुल्लाह मोहम्मद याकुब  मुजाहिद, कार्यवाहक  रक्षामन्त्री

याकुव, तालिवानका संस्थापक मुल्लाह उमरका छोरा हुन्। उनले समूहको सैन्य मामिलाको नेतृत्व गर्दै आएका छन्। उनलाई कार्यवाहक रक्षामन्त्रीको जिम्मेवारी दिइएको छ।

अफगानिस्तानमा तालिवानले कब्जा गर्दै गर्दा उनी अफगानिस्तानमै रहेर लडाकुको नेतृत्व गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेको अलजजिराले जनाएको छ।

संस्थापक उमरको मृत्युपछि तालिवान समूहमा नेतृत्वको विवाद हुँदा याकुलाई सम्पूर्ण नेतृत्वको प्रस्ताव गएको थियो। युवा उमेरका उनले त्यतिबेला युद्धमोर्चामा आफ्नो अनुभव कम भएको भन्दै अखुनजाडालाई अगाडि सारेका थिए। याकुवको उमेर अहिले ३० वर्षको वरिपरि रहेको बताइन्छ।

सिराजुद्दिन हकानी, कार्यवाहक आन्तरिक मन्त्री

अफगानिस्तानमा तालिवान नेतृत्वको अन्तरिम सरकारको आन्तरिक मन्त्री (इन्टेरियर) बनेका सिराजुद्दिन हकानी मुजाहिद्दिनका कमाण्डर जलालुद्दिन हकानीका छोरा हुन्। सिराजुद्धिनले अहिले हकानी नेटवर्क सञ्चालन गर्दै आएका छन्। उनले तालिवानमा युवाहरुलाई संगठित गर्दै तालिवानको आर्थिक तथा सैन्य मामिलालाई पाकिस्तान-अफगानिस्तानको सीमा क्षेत्रबाट सहयोग गरिरहेका छन्।

अफगानिस्तानमा मानव बमको सुरुवात गर्ने हाकिनी भएको बताइन्छ। काबुलको एक होटलमा तत्कालीन राष्ट्रपति हमिद कार्जाइको हत्या प्रयास गरेको, भारतीय दूतावासमा मानव बम विष्फोट गराए सहितका विभिन्न उच्च पदस्थ व्यक्तिमाथि आक्रमण गर्नमा हाकिनीको हात रहेको बताइन्छ। उनी चालिसको उत्तरार्ध वा पचासको पूर्वार्धको उमेरमा रहेको अनुमान छ।

हकानी नेटवर्क अफगानिस्तानमा नाटो विरुद्ध लडिरहेको गुरिल्ला सैन्य समूह हो। यो समूहको अस्थित्व नरहेको तालिवान र हाकिनीका नेताहरुले बताउँदै आएका थिए। तर, पनि हाकिनी नेटवर्क कायम रहेको देखिन्छ। हाकिनी नेटवर्क सन् १९८०को दशकमा अमेरिकी रेगन प्रशासनको समयमा सीआईएको सहयोगमा सञ्चालित सोभियत विरोधी गुरिल्ला समूह हो। सन् २०१२ मा अमेरिकाले हकानी नेटवर्कलाई आतंकवादी संगठनको रुपमा सूचीमा राख्यो। हकानी एफबीआईको सर्वाधिक खोजीको सूचीमा रहेका आतंकवादी हुन्।  २०१७ मा काबुलमा १५० जनाको मृत्यु हुने गरी भएको ट्रक बम विस्फोटमा उनको हात रहेको मानिन्छ।

त्यस्तै २००८ को जनवरीमा काबुलको एक होटलमा भएको आक्रमणमा उनलाई मुख्य दोषी मान्दै एफबीआईले आतंकवादी सूचीमा राखेको हो। 

आमिर खान मोत्ताकी, कार्यवाहक परराष्ट्र मन्त्री

तालिवानको दोहा कार्यालयमा रहेर वार्ता टोलीका सदस्यको भूमिका निभाएका आमिर खान मोत्ताकी यसअघि तालिवानको सूचना तथा सांस्कृति मन्त्रीको भूमिकामा थिए। उनी राष्ट्रसंघको नेतृत्वमा भएको वार्ताको क्रममा तालिवानको प्रतिनिधिका रुपमा काम गरेका थिए। 

उनीमाथि राष्ट्रसंघको सुरक्षा परिषदले यात्रा प्रतिबन्ध लगाएको थियो। सन् २०२१ को जुन २३ मा सुरक्षा परिषदको बैठकले बारादारसहितका दोहा कार्यालयमा रहेर संवादमा रहेका नेताहरुमाथिको यात्रा प्रतिबन्ध फुकुवा गरेको थियो।

२०२१ को सेप्टेम्बर २२ सम्म यो प्रतिवन्ध फुकुवा भएको थियो। यो फुकुवा शान्ति वार्ताका लागि हुने यात्राका लागि मात्र हो।

उनी काबुलमा रहेर सरकार निर्माणका लागि विपक्षी नेताहरुसँग वार्तामा सहभागी भएका थिए। असर्फ घानीसहितका पूर्व नेताहरुसँग उनले छलफल गरेको बताइएको छ।

शेर मोहम्मद अब्बास स्तानिकाजाइ,  सहायक परराष्ट्र मन्त्री

तालिवान सरकारका पूर्व उपमन्त्री रहेका शेर मोहम्मद अब्बास स्तानिकाजाइ सहायक परराष्ट्र मन्त्री बनेका छन्। दशक अघिदेखि उनी दोहामा बस्दै आएका छन्। उनी २०१५ मा तालिवानको दोहास्थित राजनीतिक कार्यालयको प्रमुखको रुपमा रहँदै आएका छन्। उनी अफगान सरकार तालिवान समूह बिचको संवादमा सहभागी भएका थिए।

पछिल्लो पटक तालिवान नेताहरुले विभिन्न देशमा गरेको कुटनीतिक भ्रमणमा पनि उनी सहभागी थिए।

अब्दुल हाकिम शारिया, कार्यवाहक न्याय मन्त्री

उनी तालिवानको वार्ता टोलीका प्रमुख हुन्। तालिवान प्रमुख अखुनजाडाका सबैभन्दा नजिक र विश्वासिला पात्रा हुन् अब्दुल हाकिम। उनी तालिवानको छायाँ न्यायालयका प्रधान न्यायाधीश थिए। उनले धार्मिक विज्ञहरुको परिषद्को नेतृत्वसमेत गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell