PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

वाग्मती प्रदेश : ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ



निशा गुरुङ

वाग्मती प्रदेश : ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छिन्। अल्पमतमा परेको आफ्नो सरकारमा उनले ६ जना मन्त्री र ४ राज्यमन्त्री थपेकी हुन्। प्रदेश प्रमुख कार्यालयमा आज नवनियुक्त मन्त्रीहरुलाई सपथ गराइएको छ।

हरेक जिल्लाबाट एकएक जनालाई शाक्यले आफ्नो मन्त्रिपरिषदमा सहभागी गराएकी छिन्। आज नियुक्त भएका मन्त्रीहरुमा चितवनका विजय सुवेदी, काठमाण्डौंका अजयक्रान्ती शाक्य, दोलखाकी रचना खड्का,  सिन्धुलीका प्रदीप कटुवाल, रामेछापका शान्ति प्रसाद पौडेल र काभ्रेका चन्द्र लामा रहेका छन्।

सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शाक्यलाई आन्तिम मामिला मन्त्रालय, खड्कालाई अर्थ, कटुवाललाई स्वास्थ्य, पौडेललाई उद्योग र लामालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, मकवानपुरकी जुनेली माया श्रेष्ठ,  नुवाकोटका बद्री मैनालीलाई, ललितपुरका जीवन खड्का, र भक्तपुरकी सरस्वती वाटीलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

भदौ २ मा बहुमतका आधारमा मुख्यमन्त्री बनेकी शाक्यको सरकार अहिले अल्पमतमा परिसकेको छ। एमाले फुटाएर नेकपा समाजवादी पार्टी गठन भएसँगै उनको सरकार अल्मपतमा परेको हो। वाग्मतीका ५६ एमाले सांसदमध्ये १३ जना सांसद एकीकृत समाजवादीमा गएका छन्। अबको एक महिनाभित्रै प्रदेशसभाबाट शाक्यले विश्वासको मत लिनुपर्ने हुन्छ।

यसबिच शाक्यले मन्त्रिपरिषद विस्तार गरेका हुन्। पहिला माधवकुमार नेपाल समूहमै रहेका तर पछि पार्टी विभाजनमा साथ नदिएर एमालेमै बसेकाहरु मध्ये रचना खड्का, विजय सुवेदी, प्रदिप कटुवाललाई मन्त्री पद दिएर एमालेमै राखिएको छ। शाक्य पनि पहिल माधव समूहमा थिइन्। तर, आफू पार्टी विभाजनको पक्षमा नरहेको भन्दै उनले एमालेकै साथ दिएकी हुन्।

यसअघि शाक्यको नेतृत्वमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। तर, मन्त्री बनाइएका कृष्णप्रसाद शर्मा खनालले एकीकृत समाजवादी रोज्दै मन्त्री पदबाट राजीनामा दिएसँगै शाक्य सरकार दुई सदस्यीयमा सीमित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell