PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

संसदको गरिमा र मर्यादा बाहिर नजान एमाले सांसदलाई सभामुखको चेतावनी, किन आक्रोशित भए सापकोटा ? 



पहिलोपोस्ट

संसदको गरिमा र मर्यादा बाहिर नजान एमाले सांसदलाई सभामुखको चेतावनी, किन आक्रोशित भए सापकोटा ? 

काठमाडौं : नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटा आक्रोशित भएका छन्।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले टुक्राउन सभामुख मतियार बनेको र एमालेले १४ सांसदहरुलाई गरेको कारवाही नभएको भन्दै बैठक अवरुद्ध गर्ने बताएका थिए। सभामुखले आफूले कानुन अनुसार काम गरेको र अदालतमा विचारधिन मुद्दाका बारेमा बहस गर्न नमिल्ने जवाफ दिएका थिए। त्यसलगतै, एमाले सांसदहरुले रोस्टम घेराउ गरेका थिए।

एमालेले नाराबाजी गरेपछि सभामुख सापकोटाले संसदमा संयमित भएर प्रस्तुत हुन आग्रह गरेका थिए। सापकोटाको आग्रह नमानेर एमालेले विरोध जारी राखेपछि सभामुख आक्रोशित बनेका थिए। सभामुखले आक्रोशित हुँदै एमाले सांसदहरुलाई नियम र मर्यादा पालना गर्न चेतावनी दिएका थिए।

नेकपा एमालेले सभामुख अग्नि सापकोटाको भुमिकालाई लिएर उनी नेकपा माओवादी केन्द्रको कार्यकर्ता मात्रै भएको आरोप लगाएको थियो। एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुखलाई संसद चलाउनै मन नभएको भन्दै उनले सभामुख प्रचण्डको कार्यकर्ता भएको आरोप लगाएका थिए। सभामुखले नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदबारेको सूचना संसदमा नटाँसेको भन्दै एमालेले सभामुखको विरोध गरेको हो।

आजै बसेको एमाले संसदीय दलको बैठकले पनि सभामुखको भुमिकामाथि प्रश्न उठेका थियो।

बुधवारको संसदमा पनि एमाले उक्त विषयलाई लिएर आक्रामक रुपमा प्रस्तुत भएको थियो। एमाले आक्रोशित भएपछि सभामुखले एमालेका सांसदहरुलाई प्रतिनिधि सभाको नियमावली सम्झाएका थिए। 'नियम २१ को खण्ड ग र घ आकर्षित गर्न चाहन्छु,' सापकोटाले भने। उनले यसअघि अदालतमा विचाराधिन विषयमा संसदमा छलफल गर्न नपाइने बताएका थिए।

के छ सभामुखले भनेको नियमावलीमा?

सभामुख सापकोटाले सम्झाएको नियमावलीमा सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख गरिएको छ।

नियम २१ को खण्ड 'ख'मा सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ। त्यस्तै 'ग' मा सदन वा सभामुखको कुनै निर्णय बदर गरियोस् भन्ने प्रस्तावमाथि बोल्दाको अवस्थामा बाहेक सदन वा सभामुखको कुनै पनि निर्णयको आलोचना गर्न नहुने उल्लेख छ। यस्तै, 'घ' मा संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell